१२ बैशाख २०८१, बुधबार
सिक्टा सिचाई आयोजनाको पूर्बी नहरबाट छोडियो पानी, स्थानियमा छायो खुशियालि

सिक्टा सिँचाइ आयोजनाबाट बांकेका ४२ हजार ७ सय ६६ हेक्टर भूमिमा सिँचाइ गर्ने लक्ष्य


  • रुद्र सुवेदी

  • ३ श्रावण २०७९, मंगलवार १२:५१

नेपालगञ्ज : बाँकेमा खडेरीको कारण धान रोप्न नपाएका किसानको मुहारमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडर खुशी ल्याई दिएको छ ।

प्रचण्ड गर्मी र खडेरीका कारण बाँकेका किसानले राखेको धानको बिउ र अलि–अलि पानीको जोहो गरेर गरेको रोपाई सुक्ने अवस्थामा पुग्दै गर्दा सिक्टा सिचाई आयोजनाले नहरमा पानी छाडेपछि बाँके राप्तीसोनारी–५ का टिकाराम गिरी खुशीले गदगद छन ।

आकाशे वर्षातको भरमा खेती गर्दै आएका गिरीले आफ्नै घर नजिकैबाट बगेको राप्तीनदीको पानी सिक्टा सिचाई आयोजनाको नहरबाट उपयोग गर्न पाउदा आफुमा खुशीको वर्षात नै भएको बताए । उनले भने–‘ जान्ने भएदेखि खेती लगाउन आकाशको वर्षातको भर पर्नु पर्दथ्यो तर, गत असार २३ देखि सिक्टाको नहरबाट पानी छाडेपछि खेती गर्नको लागि वर्षात कुर्न नपर्ने भयो ।’

बाँकेमा लामो समयदेखि खडेरी पर्दै आएको छ । खडेरीका कारण जिल्लाका अधिकांश पालिकामा धान रोपाई हुन सकेको छैन । तै पनि यस्तो बेलामा सिक्टाले निर्माणाधिन नरहबाट पानी छाडेपछि गिरी मात्र होईन राप्तीसोनारी–६ का किसान मानबहादुर घर्तीमगर पनि हर्षले गदगद छन् ।

उनले भने–‘ २०३४–०३५ तिरै सिक्टा सिचाईको पानी आउछ भन्ने सुनेर रोल्पाबाट बसाई सरेर आएका हौ । झण्डै ४० वर्षपछि पहिलोपटक सिक्टा नहरको पानीले सिचाई गर्न पाएका छौ । हामी किसान अत्यन्तै हर्षित छौ ।’ उनले आफुहरुले राजकुलो मार्फत राप्ती नदिबाट सिचाईको प्रबन्ध मिलाएको भएपनि विगतका केहीवर्ष यतादेखि नदीको अधिक दोहनका कारण कुलोमा पानी चढ्न छाडेपछि आफुहरु चिन्तित रहेकै बेलामा नहरमा पानी आउनु आफुहरुको लागि अत्यन्त ठूलो कुरा भएको जिकिर गरे ।

राप्तीसोनारी गाउपालिका वडानं. ६ का वडा अध्यक्ष लवराज खरेलले लामो समयको प्रतिक्षापछि सिक्टा सिचाईको  पानी सञ्चालन गरी किसानको सिचाईको समस्या र माग सम्बोधन गर्न सकिएकोमा आयोजनाको कार्य स्वागत योग्य कार्य भएको बताए ।

उनले सिक्टा सिचाईको पूर्वी नहर निर्माणकै क्रममा राप्तीसोनारीको वडानं.६ र ७ को करिव २ हजार घरधुरीलाई फाईदा पुग्ने बताए । उनले भने–‘ वडा र स्थानीयको पहलमा सञ्चालनमा भएको राजकुलोमा राप्ती नदीको सतह तल जाँदा पानी चड्न नसकेको बेलामा सिक्टा नहरबाट पानी सिचाईको लागि पाउनु यहाँका किसानलाई अत्यन्तै ठूलो सहयोग हो ।’

राप्ती नदीमा हुँदै आएको बैध अबैध् उत्खननको कारण राप्ती नदीको सतह गहिरो हुँदै गएको कारणले परम्परागत रुपमा सञ्चालन हुँदै आएको कुलोमा नदीको पानी नचढ्ने भएकोले सिचाईको लागि किसानहरु समस्यामा पर्दै आएका थिए ।

सिक्टा सिचाई आयोजनाले बाँकेमा लामो खडेरीपछि किसानको मागको आधारमा आयोजनाको निर्माणाधिन पूर्वी नहरको २४ किलोमिटर ६ सय ५० मिटरसम्म पहिलो पटक पानी छोडिएको आयोजनाका सिनियर ईञ्जिनियर रणधिर झाले जानकारी दिए ।

उनले सोही स्थानबाट पानी फत्तेपुरमा सञ्चालनमा रहेको राजकुलोमा जोडेपछि राप्तीसोनारी वडां. ६ र ७ का किसानलाई फाईदा भएको बताए । उनले पानीको उपयोग गर्दै धमाधम रोपाई समेत गर्दै आएको बताए ।

उनले नहरको विभिन्न स्थानमा चिम्ट्याईलो र कमजोर माटो भएको कारण बायो ईञ्जिनियरिङ्गका माध्यामले नहर सञ्चालन गर्दै जाने र भएको समस्या पनि निराकरण गर्दै जाने उद्देश्यले काम अघि बढाएको बताए ।

सिक्टा सिँचाइ आयोजनाका निर्देशक डा.सन्तोष कैनीले पूर्बी नहरमा पानी छोडेपछि सो नहरबाट करिव ७ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने जानकारी दिए । उनले आयोजनाले पूर्बी र पश्चिम नहरमा पानी छोडिएपछि जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र ती क्षेत्रमा रोपाइँ भइरहेको दाबी गरे ।

उनले आयोजनाले विभिन्न उल्झनको आरोह अवरोह पारगर्दै अबको केही समयभित्र आफ्नो उपलब्धि दिने तयारी रहेको बताए । उनले सिक्टाको पूर्वी नहरमा ४४ किलोमिटर केही अंशमात्र बाकी रहेको र २४ किलोमिटर ६ सय ५० मिटरसम्म निर्माण पुरा भई पानी समेत सञ्चालन गरिएको बताए ।

आयोजनाको पूर्बी नहरको नरैनापुरसम्मको ९ किलोमिटर मुल नहर सर्भे हुनबाँकी रहेकोले छिट्टै सर्भे गरी काम अघि बढाउने तयारीमा रहेको आयोजनाका निर्देशक डा. कैनीले जानकारी दिए । उनले राप्तीको पश्चिम मुलनहरमा यतिबेला धमाधम शाखा प्रशाखा नहर निर्माणको कार्य अघि बढेको जानकारी दिदै भने–‘ पश्चिम नहरको ४५ किलोमिटर २सय ५० मिटर नहर निर्माण भईसकेको छ । यसले ३३ हजार ७ सय ६६ हेक्टर जमिनलाई सिचाई गर्नेछ । भने पूर्वी नहर ५३ किलोमिटरको भए पनि यसले ९ हजार हेक्टर सिचाई गर्नेहो जसको २४ किलोमिटर ६ सय ५० मिटरसम्म निर्माण पुरा गरी पानी छोडिएको छ । बाँकीमा पनि निर्माण कार्य जारी छ ।’

बाँकेको अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७ सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्य रहेको छ । सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६३–०६४ देखि शुरु भएको हो ।

 

Nabintech