१५ चैत्र २०८०, बिहीबार
कर्णालीमा करार कर्मचारी निष्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्द

  • टाइम्स संवाददाता

  • ३ श्रावण २०७९, मंगलवार १४:२३

सुर्खेत :कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरीदिएका छन् ।

कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र  डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले  पनि करारका कर्मचारी हटाएका छन् ।

दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १०साैँ गाउँसभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड, केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ ।

११ असारमा कालीकोटको शुभकालिका गाउँ कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । त्यहाँ सोमबारदेखि कार्यालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् कामकाज ठप्प पारेका छन् । उनीहरूले पुर्नवहालीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरकार्यपालिकाको २७ असारकाे निर्णयअनुसार पालिका तथा पालिका मातहतका सबै कार्यालयका करार कर्मचारीको १ साउनदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । त्यहाँ पनि करारका कर्मचारी आन्दोेलनमा उत्रिएका छन् । करारका ९७ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय नगरकार्यपालिको बैठकले गरेको हो ।

दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । जागिरबाट हटाइएका करारका कर्मचारी तथा राजनीतिक दलहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका-२ का वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयाे ।

कालीकोटको नरहरिनाथ गाउँपालिकामा पनि करार कर्मचारीले कार्यालयमा तालाबन्दी गर्दा कामकाज ठप्प भएको स्थानीय हरिबहादुर बिष्टले बताउनुभयाे ।

Nabintech