१५ चैत्र २०८०, बिहीबार
आर्थिक वृद्धि औसतभन्दा उच्च रहने: राष्ट्र बैंक

  • टाइम्स संवाददाता

  • ६ श्रावण २०७९, शुक्रबार १६:४५

काठमाडौं: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएको छ । आज चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने बताएका हुन् । उनका अनुसार कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिन्छ ।

यद्यपि चालू वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको छ । यसै गरी, बाह्य क्षेत्र (अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायत) ले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने छ । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आँकलन छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ । यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिएपनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले औसत भारित तरलता अनुपात १२ प्रतिशत पु¥याउनुपर्ने भएको छ । यस्तो व्यवस्था वाणिज्य बैंकहरुले १२ प्रतिशत र विकास बैंक एवम् वित्तीय संस्थाहरुले १० प्रतिशत पु¥याउनुपर्ने राष्ट्र बैंकले जनाएको हाे ।  यस्तो व्यवस्था आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए ।

उनले मौद्रिक नीतिको घोषणा गर्दै भने, ‘चालू आर्थिक वर्षमा नेपाल सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्य लिएको छ ।’ यो लक्ष्यलाई सहयोग गर्नेगरी चालू वर्षको मौद्रिक नीति ल्याइएको छ ।

यसैगरी, बजेटले लिएको ७ प्रतिशतको मुद्रास्फीतिलाई समेत मौद्रिक नीतिले सहयोग गर्ने उनको भनाइ छ । ‘नेपालजस्तो सानो मुलुक आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले विदेशी मुद्राको सञ्चिति सुविधाजनक स्थितीमा सञ्चित गर्नुपर्ने बाध्यता छ,’ गर्भनर अधिकारीले भने । यही सीमाभित्र रहेर चालू वर्षमा ८ प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी मौद्रिक नीति आएको हो ।

Nabintech