१५ चैत्र २०८०, बिहीबार
नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन : महासचिव पोखरेल

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०८:०८

काठमाडौँ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारित गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ ।  नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को काठमाडौँमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात वर्ष पर्खिनुपर्ने तर नेपाल आउने भारतीय महिलाले त्यही दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताउनुभयो

अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री पदका लागि दिल्ली धाउन थाल्नेहरूले राष्ट्रिय स्वाभिमान गिराएको पनि धारणा राख्नुभयो ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको दिल्ली भ्रमणप्रति लक्षित गर्दै महासचिव पोखरेलले प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिँड्नेहरू नै अहिले प्रतिगमनको बाटो हिँडिरहेको बताउनुभयो ।

केपी ओली नेतृत्वको सरकार हुँदा मुलुकमा शोधनान्तर स्थिति राम्रो अवस्थामा रहेको, विदेशी मुद्राको सञ्चिति ११ महिनाको बस्तु आयात धान्न सक्ने अवस्थामा रहेको भन्दै उहाँले अहिले शोधनान्तर स्थिति कमजोर भएको, बस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति केवल ६ महिनालाई मात्र पुग्ने अवस्थामा झरेको भन्दै अर्थव्यवस्थालाई कमजोर बनाइएको बताउनुभयो ।  वर्तमान गठबन्धनले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक अवस्था कोभिड कालमा भन्दा कमजोर भएको उहाँको विश्लेषण थियो ।

केसर जङ्ग रायमाझी गद्दार हुन् भन्ने विषयमा सबैको एकमत रहेको स्मरण गर्दै नेपाली काँग्रेससँग सङ्घर्ष गर्नु पर्नेहरू नेपाली काँग्रेससँग नै मिल्न जाँदा त्यो गद्दारी हो वा होइन भनेर उहाँले प्रश्न गर्नुभयो । जसका विरुद्ध लड्न भनेर जनमत प्राप्त गर्‍यो, त्यसैको सेवामा जुट्न गएकाहरूले जनमतको अपमान गरेको उहाँको भनाई थियो ।

नेपाली काँग्रेसलाई मकै बारीमा उम्रिएको झारसँग तुलना गर्दै महासचिव पोखरेलले त्यस्तो झार उम्रिन कुनै मेहनत आवश्यक नरहेको धारणा राख्नुभयो । त्यस्तो झारले मकैलाई हानी पुर्‍याउने भएका कारण गोडमेल गरेर फ्याँक्ने गरिएको भन्दै राजनीतिको त्यस्ता झारहरूलाई पनि आगामी निर्वाचन मार्फत फ्याँक्नु पर्ने उहाँको भनाई थियो ।

नेपालमा नेकपा एमालेको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको अवधारणा विस्तार हुँदै गएकोमा अहिले त्यसलाई सङ्कुचित बनाउन खोजिएकाले त्यसका विरुद्धमा जनताको बीचमा पुगेर जानकारी गराउन पनि महासचिव पोखरेलले आग्रह सबैलाई गर्नुभयो ।

“मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु गरिएको ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था अहिले वृद्धि हुँदै चार हजार पुगेको छ ।” उहाँले भन्नुभयो,  “नेकपाकै नेतृत्वको सरकारले अगाडी बढाएको स्वास्थ्य बीमा कार्यक्रमलाई वर्तमान सरकारले असफल बनाउन खोजिरहेको छ ।”

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमप्रति पनि वर्तमान सरकारको खासै चासो देखिएको छैन भन्नुहुँदै उहाँले त्यसका विरुद्धमा नेकपा एमाले उभिनुपर्ने बताउनुभयो ।

निर्वाचन पनि क्रान्ति नै भएकोले आगामी निर्वाचनलाई चुनौतीका रूपमा लिएर त्यसमा सफल हुने गरी अगाडी बढ्न नेकपा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई महासचिव पोखरेलले आव्हान गर्नुभयो ।

उहाँले समाज बदल्ने हो भने चुनावलाई प्रतिष्ठाको विषय बनाउनु पर्ने भन्दै वर्ग सङ्घर्षको मोर्चा अहिले चुनावी मोर्चामा फेरिएको बताउनुभयो । स्थानीय तहको निर्वाचनको परिणामले साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवाद नेकपा एमालेमा पनि केही मात्रामा भए पनि देखिएको भन्दै त्यसलाई आगामी निर्वाचनमा निमिट्यान्न पार्नुपर्ने उहाँको भनाई थियो ।

व्यक्तिका लागि नभई पार्टीको तर्फबाट निर्वाचनमा होमिनुपर्ने भन्दै उहाँले सूर्य ध्वजावाहक उम्मेदवार हार्दा पार्टी हार्ने र आफूले पनि हार्ने कुरालाई मनन गरेर सोही अनुरूप निर्वाचनमा जुट्न उहाँले निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले अहिलेको नेपाली राजनीति श्रमजीवी पक्षीय नरहेको भन्दै श्रम गर्नेहरूभन्दा श्रम खानेहरू सम्मानित अवस्थामा रहेको बताउनुभयो । उहाँले जबसम्म यो परिस्थिति परिवर्तन हुँदैन तबसम्म राज्यले उन्नति गर्न नसक्ने बताउनुभयो  ।

उहाँले पुँजीवादले एक पटकको श्रमिक सधैँको श्रमिक बनाउन चाहने भन्दै सर्वहारा वर्ग जन्माउने नै पुँजीवादले हो भन्नुभयो । महासचिव पोखरेलले आजको श्रमिक भोलिको रोजगारदाता र उद्यमी हुन सक्ने भन्दै त्यसमा राज्यले मद्दत गर्नुपर्ने र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताउनुभयो ।

नेपालको राजनीति सही बाटोमा नरहेको भन्दै महासचिव पोखरेलले तीन वटा ठुला राजनीतिक परिवर्तनपछि पनि अवस्था नेकपा एमालेले चाहे जसरी सही ठाउँमा आई नपुगेको धारणा राख्नुभयो ।  उहाँले नेकपालाई बलियो पार्टी बनाउन खोजिए पनि त्यो केवल मोर्चा जस्तो मात्र बनेको र मोर्चाले विश्वका कुनै पनि देशमा परिवर्तन नभएको बताउनुभयो ।

उहाँले श्रमजीवी वर्गलाई सङ्गठित गर्दै, एकताबद्ध गर्दै सबै श्रमजीवी वर्गको साझा सङ्गठनका रूपमा जिफन्टलाई लैजानुपर्ने बताउनुभयो । असङ्गठित रूपमा रहेकाहरूलाई सङ्गठित गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम आन्दोलनमा अझ बलियोसँग जोड्न आवश्यक रहेको उहाँको भनाई थियो ।

ह्वाईट कलर र ब्लु कलरका नाममा श्रमिकलाई विभाजित गर्ने काम गरिएको भन्दै उहाँले अलग अलग कित्तामा विभाजित हुँदा त्यसले श्रम आन्दोलनलाई कमजोर बनाउन बताउनुभयो ।

जिफन्टलाई यसबीचमा विभाजन गर्ने प्रयास गरिए पनि एक ढिक्का राख्न सकेकोमा उहाँले धन्यवाद पनि दिनुभयो । नेकपाको एकताका बाबजुद परिस्थितिको आङ्कलन गरेर जिफन्टलाई छुट्टै सङ्गठनका रूपमा राखेर विभाजन हुन नदिई यसको नेतृत्वले दूरदर्शी काम गरेको भन्दै महासचिव पोखरेलले प्रशंसा समेत गर्नुभयो ।

बन्द सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले आगामी चार वर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चार वर्षको साङ्गठनिक प्रस्ताव टेबुल गर्नुभयो । महाधिवेशनमा देशभरिबाट जिफन्टका झन्डै ५ सय प्रतिनिधि सहभागी छन् ।

 

Nabintech