४ बैशाख २०८१, मंगलवार
रुकुम (पूर्व)मा बहुला कुकुरको बिगबिगी, नागरिकमा त्रास

साउन महिनामा मात्र रुकुम पूर्व अस्पतालमा ७ जनालाई एन्टी रेबिज भ्याक्सिन दिईएको छ


  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७९, आईतवार १२:३८

रुकुम (पूर्व) : जिल्लामा बहुला कुकुरको बिगबिगी बढेको छ। बहुला कुकुरको टोकाइबाट यही साउन महिनामा मात्र जिल्लामा ११ जना घाइते भएका छन् भने केही पशुचौपाया समेत घाइते भएका छन्।

भूमे र सिस्ने गाउँपालिकाको मध्यपहाडी राजमार्ग अन्तर्गत क्षेत्रमा बहुला कुकुरको बिगबिगी भएको छ। बहुला कुकुरको टोकाइबाट भूमे र सिस्ने गाउँपालिकाका नागरिक पीडित बनेका छन्। बहुला कुकुरले मान्छेसँगै पशुचौपायालाई पनि टोक्न थालेपछि नागरिक त्रसित बनेका छन्।

विभिन्न गन्तव्यमा हिँडेका पैदल यात्रीलाई बहुला कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिक त्रसित हुन थालेको भूमे गाउँपालिका–३ क्याङ्सीका सम्भावना रोका मगरले बताइन्। ‘मान्छेलाई टोक्ला भन्ने डर त छँदै छ’‚ रोकाले भनिन्, ‘अर्कातर्फ घर पालुवा पशुचौपाया र जङ्गली जनावरलाई समेत बहुला कुकुरले टोक्यो भने गाउँबस्ती मात्र नभई वन जंगलमा जान समेत डरपैदा भएको छ।’

जिल्लास्थित पशु कार्यालयले रेबिजविरुद्धको भ्याक्सिन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगर्नु र कुकुर पालेका घर धनीले पनि आफ्ना कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन नलगाइदिनाले बहुला कुकुरको बिगबिगी बढेको रोकाले बताइन्।

साउन महिनामा मात्र भूमे गाउँपालिकामा चारजनालाई बहुला कुकुरले टोकेको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले जानकारी दिए। उनीहरूलाई हाल एन्टी रेबिज भ्याक्सिन दिइराखिएको खड्काले बताए।

यसैगरी साउन महिनामै रुकुम पूर्व अस्पतालमा ७ जनालाई बहुला कुकुरले टोकेलाई एन्टी रेबिज भ्याक्सिन दिई राखिएको पनि रुकुम पूर्व अस्पतालका प्रमुख सपना बिकले जानकारी दिइन्। बहुला जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन शुरुको दिन त्यसपछि ३ र ७ दिनमा गरी तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने प्रमुख विकले बताइन्।

विगतका तीन आर्थिक वर्षमा बहुला कुकुरको टोकाइबाट विरामी भएको सङ्ख्या पनि जिल्लामा धेरै नै रहेको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले बताए। आर्थिक वर्ष २०७६/७७ मा ४७, ०७७/७८ मा ३९ र ०७८/७९ मा ७९ जना रहेको सूचना अधिकारी गिरीले जानकारी दिए।

संघीय सरकार हुँदै प्रदेश सरकारदेखि रुकुम पूर्व अस्पतालमा एन्टि रेबिज भ्याक्सिन उपलब्ध हुने गरेको गिरीले बताए। हाल एन्टी रेबिज भ्याक्सिन अस्पतालमा थोरै मात्रामा रहेकाले अबको ३/४ दिनमै थप एन्टी रेबिज भ्याक्सिन अस्पतालमा आइपुग्ने गिरीले जानकारी दिए।

 

Nabintech