२८ आश्विन २०८१, सोमबार
कोरोनाकालमा पनि स्तनपान

  • डा.प्रकाश बुढाथोकी

  • २२ श्रावण २०७९, आईतवार १४:२१

एउटा स्वस्थ आमाको स्तनबाट बच्चाको दैनिक आवश्यकता पूरा गर्न दैनिक ९ देखि १२०० मिलिलिटर दूध निस्कन्छ । जसमा ८८.२० प्रतिशत पानी, १.२५ प्रतिशत प्रोटिन, ल्याक्टोज ७.२ प्रतिशत, ३.१ प्रतिशत चिल्लो पदार्थ, ०.२८ प्रतिशत क्याल्सियम र भिटामिन सी ०.३ प्रतिशत तथा भिटामिन ए, बी कम्पेलक्स, सी, डी र ई तथा लाइपेज इन्जाइम र शक्तिवद्र्धक थुप्रै तत्वहरु प्रशस्त पाइन्छन् । आमाको शुरुको दूध ७–१० दिन भित्रको अलि बाक्लो, पहेंलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोष्ट्रमसहित हुन्छ जसलाई विगौती दूध भनिन्छ । जसमा हानिकारक संक्रामक जिवाणु र किटाणुलाई नष्ट पार्ने, संक्रामक रोगसँग लड्न सक्ने तत्वहरु भएको, कार्बोहाइटे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्वले भरिपूर्ण भएकोले विगौती दूधलाई पहिलो खोप पनि भनिन्छ ।

स्तनपान गराउँदा सौन्दर्य बृद्धि हुने गर्दछ । स्तनपानले पारिवारिक बचत बढाउँछ । गर्भावस्थामा सञ्चित बोशो घटाउँछ । स्तनपान गराउँदा प्रोजेष्ट्रोन हर्मोनको बृद्धिले छ महिनासम्म गर्भनिरोधकको रुपमा काम गरेको पाइन्छ । गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्छ । स्तनपान ५० प्रतिशतले कम गर्दा १७–३७ प्रतिशत प्रजनन्दरमा बृद्धि हुन्छ । डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । आमालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरब, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ । बच्चाले दूध चुस्दा अक्सिटोसिन हर्मोन उत्पन्न भई दूध पगार्ने भएकोले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्दत पु¥याउँछ तथा पाठेघरमा लाग्ने रोगहरु न्यूनीकरण गर्दछ । प्रसवपछि हुने रक्तश्रावलाई रोक्छ । त्यसैगरी आमालाई पछि गएर हुने डिम्वासय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना ८ गुणाले कम हुन्छ । तसर्थ स्तनपान गराउँदा आमाले पूर्णता पाउँछन् ।

बच्चाहरुलाई हुने फाइदाहरु

बच्चाको शारीरिक आवश्यकतानुसार मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै एमिनो एसिड पाइन्छन् । समय सीमा र मात्रा नभएको खाद्य वस्तु पनि आमाको दूध नै हो । आमाको दूध स्वच्छ, सुपाच्य, हानिकारक किटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्वनिहीत भएकोले घाँटीको संक्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फलुएन्जा र दम जस्ता रोगबाट बचाउँछ । शिशुको बढ्दो उमेरको आवश्यकता अनुसार दूधको संरचनामा पनि परवर्तन हुने गर्दछ । आठ महिना बढीसम्म स्तनपान गराइएका ८–९ वर्षका शिशुहरु बढी तीक्ष्ण भएको प्रमाण छ । आमाको दूधमा रहने इम्युनोग्लोविन ‘ए’ ले रोगसँग लड्न एण्टीबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ । बच्चाले आफूलाई सुरक्षित ठान्छ ।

आमाको दूध प्रचुर मात्रामा ६ महिनासम्म खुवाउँदा पानीको समेत आवश्यकता पर्दैन । आमाको दूध बच्चाका लागि तयारी खाना पनि हो जसलाई शिशुले चाहेमा जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैसँग खुवाउन सकिन्छ । त्यसैमा अझ बच्चालाई समय अनुसार आवश्यक पर्ने तत्वहरु, उचित मात्रामा रहन्छ, पातलिने सम्भावना रहँदैन । सुपाच्य हुन्छ र दिगो रहन्छ साथै बाहिरी सूक्ष्म जीवले आक्रमण गरी दूषित बनाई रोग लाग्ने संभावना पनि रहँदैन । तसर्थ बट्टाको दूध खानेमा भन्दा निमोनिया, दम,झाडापखालाले समात्ने र मृत्यु हुने संभावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई, कुपोषण हुने सम्भावना न्यून रहन्छ । शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिडडुल गर्न नसकिने, दूध पचाउन नसकिने, वान्ता हुने, आँखा कमजोर हुने पछि रतन्धो हुने, बौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न सक्दैन ।

शिशुको पहिलो ५ महिनासम्म दैनिक २० ग्राम र त्यसपछि १५ ग्रामका दरले तौल बढे नबढेको तथा दैनिक ६ देखि ८ पटक सफा पिसँब फेर्दछ कि नाई त्यसको हिसाबमा स्तनपान पुगे नपुगेको थाहा हुन्छ । त्यस्तै बढी स्तनपान गराउँदा शिशुको पाचन प्रणालीमा नकारात्मक असर परी फाटेको दूध जस्तो बान्ता हुन्छ । नपचेको गिलो दिशा हुन्छ ।

कोरोनाकालमा पनि स्तनपान

आमा वा बच्चालाई कोरोना संक्रमणको शंका वा पुष्टि भएको हकमा पनि स्तनपान गराउन सकिन्छ । सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तिमा २० सेकेण्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ । अनिवार्य मास्क लगाउनपर्छ । खोक्दा, हाच्छयुँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र तत्पश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउनपर्छ । यदि आमाको अवस्था गम्भीर छ भने शिशुलाई प्रत्यक्ष सम्पर्कबाट टाढा राखेर स्तनपान नगराउने तर दुध निचोरेर सफा भाडामा राखी चम्चा वा कपबाट खुवाउनपर्छ । संक्रमित आमाको सम्पर्कमा आएको भुई सतह तथा सामानहरुलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्नपर्छ । चिन्ता र तनावले दुध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहनपर्छ र घरपरिवारले यसमा सहयोग गर्नपर्छ ।

नेपाल मल्टिइन्डिकेटर क्लष्टर सर्वे २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपानको शुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ । पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत र २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत छ । कोरोना महामारीसँगै स्तनपानमा कमी आएको तथ्यांकहरु पनि सार्वजनिक भइरहेका छन् । गत आ.ब. मा स्तनपान प्रवद्र्धन गर्न मातृ तथा शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्तनपान कक्ष स्थापना अभियान विस्तारमा थियो तर कति कार्यान्वयन भयो त्यो जानकारीमा आएको छैन । प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्रशस्त दुध आउने आमाको दुध संरक्षण गरेर राख्न ह्युम मिल्क बंैक स्थापना ६ दिन पहिले गरिएको छ । स्वास्थ्य मन्त्रीले स्तनपानको आँकडा हेर्दा शहर बजार तथा बागमती प्रदेशभन्दा गाउँघरका तथा कर्णालीका जनता बुद्धिमान रहेको बताए ।

अन्तमा, बच्चालाई जन्मेको छ महिनासम्म आमाको दुध मात्रै खुवाए पुग्ने र त्यसपछिको शारीरिक र मानसिक विकासको लागि दूधको साथै अन्य ठोस खानेकुरा २ वर्षसम्म खुवाउनुपर्दछ । सुरक्षित स्तनपान सिकाउन युवावस्था र गर्भवती महिलाको परीक्षणदेखि नै शुरु गर्नु तथा पुरुषहरुलाई पनि महत्व, सुरक्षित तरिका तथा निर्मलीकरणका बारेमा सिकाउनपर्ने आजको आवश्यकता हो, जसले मात्र गुणस्तरीय स्तनपान र आँकडामा बढोत्तरी ल्याउनसक्छ ।

(न्याम्स वीर अस्पतालका प्राध्यापक तथा प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)

Nabintech