८ बैशाख २०८१, शनिबार
मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज,नरैनापुर र जानकीमा सार्वजनिक बिदा

हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ


  • प्रमोद रिजाल

  • २३ श्रावण २०७९, सोमबार १४:१५

नेपालगञ्ज : नेपालका हिन्दु मुस्लिमले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा मंगलबार नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकामा हिन्दु मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

मुस्लिम समुदायले मात्र नभइ गाउँपालिक क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि मोहर्रम पर्वमा आपसी भाईचाराको सम्बन्ध स्थापित गराउन मनाउने गरेकाले विदा दिइएको उनले बताए । स्थानीय सरकारले सार्वजनिक विदा दिन पाउने प्रावधान भएअनुसार नरैनापुर गाउँपालिकाले मोहर्रमको विदा दिइएको हो । यसैगरी जानकी गाउँपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँ पाठनले जानकारी दिए ।

यसैगरि नेपालगञ्ज उपमहानगरपालिकाले समेत मोहर्रम पर्वको अबसरमा सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयलाई स्थानिय पर्व बिदा दिने निर्णय गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापाले जारि गरेको सुचनामा बिद्यालयहरुलाई पर्वबिदा दिने निर्णय गरेको जनाइएको छ ।

मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाहरुको बुझाइ छ । मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ ।

बांकेमा धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका छन । यता मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् ।

आजभन्दा एक हजार ४५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेका छन् । हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।

Nabintech