• १४ आश्विन २०७९, शुक्रबार
सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १२:४८

बैतडी : सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले  मनाउने गर्दछन् ।

गौरा एकादशीपछि यहाँ गौराको चहलपहल सुरु भएको दोगडाकेदार गाउँपालिका–३ की फुनडी विष्टले बताउनुभयो ।  हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ ।

एकादशीको दिन गौराको उपासना गर्ने महिला व्रत बस्ने गर्दछन् । उहाँले भन्नुभयो,“गौरा पर्व उपासना गर्ने व्रतालु महिलाले गौरा एकादशीको व्रत बस्नुपर्ने र साँझको समयमा पूजाआजा गर्ने चलन रहिआएको छ ।” गौरामा दुबधागो धारण गर्ने व्रतालु महिलाले एकादशीदेखि नै गौरा पर्व सुरुआत भएको मान्ने गरेका छन् । हरेक वर्ष भाद्र शुक्ल अथवा कृष्णपक्षको पञ्चमी तिथिबाट गौरा पर्व सुरु हुन्छ । त्योभन्दा अगाडि साउन शुक्ल एकादशीमालाई गौरा एकादशीको रुपमा लिएर  व्रत बस्ने चलन रहिआएको हो । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुुभयो ।

यो वर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको व्रत बस्ने महिलाले उजेली गौरामा व्रत बस्न उपयुक्त हुने बताइन्छ । बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लामा गौरा पर्व मनाउने चलन रहिआएको छ । तराईका जिल्लामा पनि पहाडी समुदायले गौरा पर्व मनाउने गरेका छन् । यसका साथै छिमेकी देश भारतको उत्तराखण्डको कुमाउ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

गौराको चहलपहल सुरु भएसँगै रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने क्रम सुरु भएको छ ।  बजारमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ । घर बाहिर भएका पनि घर फर्किन थालेका र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको दोगडाकेदारका गणेश विष्टले बताउनुभयो । गौरामा शिवपार्वतीको पूजाआजा गरिनाका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरमा पनि जात्रा लैजाने चलन छ । पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ ।त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यो पर्व मनाउने परम्परा चल्दै आएको होे । गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरिका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहँु केराउ गहत मास र गुरुस मिसाएर तामाका भाँडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहर्तमा सामूहिक रुपमा बिरुडा धोइन्छ। सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ–मन्दिरमा डालोमा स्थापना गरिन्छ ।

गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाले दुबधागो चढाउने गर्छन् । दुर्गाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल)मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरी  दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने र  सोही दिन व्रतालुले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि,  सन्तान वृद्धि र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्दछन् । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नाका साथै माया प्रेम दर्शाउने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था र आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।सुदूरपश्चिमेलीहरुले दसँैं भन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने भएकाले गौरामा एकैछिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ ।

Nabintech