१२ श्रावण २०८१, शनिबार
मङ्कीपक्स संक्रमणका लागि देशभर तोकिए सम्पर्क विशेषज्ञ

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १३:०८

काठमाडौं : मङ्कीपक्स संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तयारी थालेको छ। यसका लागि देशभरका १४ जना चिकित्सकलाई मङ्कीपक्सका सम्पर्क व्यक्ति (फोकल पर्सन) समेत तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले मङ्कीपक्सका लागि सम्पर्क व्यक्तिका रूपमा १४ जना चर्मरोग विशेषज्ञ (डर्माटोलोजिष्ट) तोकेको हो। जसमा काठमाडौं उपत्यकाको वीर, पाटन र टेकु अस्पताल सहितका देशभरका ठूला सरकारी अस्पतालमा कार्यरत चर्मरोग विशेषज्ञ​हरु रहेका छन्।

वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा डा. सिवेन्द्र झा, पाटन अस्पतालमा डा. मोनीक्यु काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मनिलाल श्रेष्ठ, भेरी अस्पताल नेपालगन्जमा डा. बद्री चापागाई, प्रादेशिक अस्पताल सुर्खेतमा डा. सुस्मिता प्रधान र सेती प्रादेशिक अस्पतालमा डा. दिनेश शिवाकोटी फोकल चर्मरोग विशेषज्ञ (डर्माटोलोजिष्ट) तोकिएका छन् । मेची अस्पतालमा झापामा डा. केशव ढकाल, कोशी अस्पताल विराटनगरमा डा. सिबी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. सूचना मरहठ्ठा, जनकपुर प्रादेशिक अस्पतालमा डा. राम यादव, नारायणी अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. आनन्द नेपाल र  भरतपुर अस्पतालमा डा. शशि हिराचनलाई मङ्कीपक्स संक्रमणका सम्पर्क चर्मरोग विशेषज्ञ तोकिएका छन्।

यस्तै महाशाखाले हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पताल तथा सशस्त्र प्रहरी अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको र  ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मङ्कीपक्स–२०७९’ तयारी गर्न थालेको समेत बताएको छ।

विश्वका धेरै देशमा मङ्कीपक्स भाइरस संक्रमण बढ्दै गएपछि डब्ल्यूएचओ मङ्कीपक्सलाई लिएर ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ।

डब्ल्यूएचओका अनुसार यो वर्षको प्रकोपका बिरामीमध्ये ९९ प्रतिशत पुरुष छन् र  धेरैजसो पुरुषहरू पुरुषसँगै यौनसम्पर्क गर्नेहरू भएको समेत बताएको छ। यस्तै यसको संक्रमणबााट हालसम्म २१ देखि ४० वर्ष उमेर समूहका मानिस संक्रमित भइरहेको बताएको छ।

ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्र छाला,अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु,डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको‚ ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु मङ्कीपक्सका लक्षण हुन्।

मङ्कीपक्स रोगका सम्भावित जटिलता आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्कज्वर, गर्भ खेर जाने समेत बताइएको छ

 

Nabintech