१४ बैशाख २०८१, शुक्रबार
राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागु

पाठयक्रमले मुलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरेको छ


  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १४:४२

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम ‘हाम्रो राप्तीसोनारी’ तयार पारेर यसै शैक्षिक सत्रदेखि लागू गरेको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइसकेको छ । ‘हाम्रो राप्तीसोनारी’ पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा लागू गरिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयो जकत्वमा ३० सदस्यीय समिति बनेको थियो ।

सोही समितिले ६ महिनामा पाठ्यक्रम निर्माण गरेर अन्तिम रूपमा दिएपछि अहिले सो पाठ्यक्रम लागू गरिएको हो । सात वटा विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनका विषय समेटिएको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए । उनका अनुसार पाठयक्रमले मुलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको छ ।

संविधानको मर्म अनुसार निर्माण भएको पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा विद्यालयहरुमा अध्ययन सुरु गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । उनले स्थानीय आवश्यकतालाई मध्यनजर गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफूनो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान सीप प्रदान गर्ने यसको मुख्य अभिप्राय रहेको बताए ।

पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक,.सामाजिक, ऐतिहासिक, सास्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ र यहाँको प्राकृतिक साँस्कृतिक तथा सम्पदाको संरक्षण र संवद्र्धनलाई महत्व दिएको छ । स्थानीयस्तरका विषयवस्तुहरू समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो ।

Nabintech