१२ बैशाख २०८१, बुधबार
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्धारा करोड बढी राजश्व असुली

बढ्दो सवारी चाप, जनशक्ति ५८ मात्रै


  • टाइम्स संवाददाता

  • १ भाद्र २०७९, बुधबार ११:५३

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पछिल्ला बर्ष करोड बढी जरिवाना गर्दै राजश्व असुली गरिरहेको छ । आ।ब। २०७८/ ७९ मा राजश्व असुली रकम २ करोड २५ लाख ६७ हजार पाँच सय रहेको छ । तर, ट्राफिक नियम बुझाउनका लागि जनेचेतना तथा सचेतनामूलक कार्यक्रमका लागि एक रुपैयाँ पनि खर्च गरेको छैन । जिल्लामा दुर्घटना बढिरहेका बेला कारवाहीका गरेर राजश्व असुलीमा मात्रै ट्राफिक प्रहरी केन्द्रित रहेको पाइन्छ ।

‘ट्राफिक प्रहरीलाई जनचेतनाका लागि बजेट उपलब्ध हुँदैन’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहसँग २ करोड बढी जरिवाना असुल्दा यस बर्ष जनचेतनामूलक कार्यक्रममा कति खर्च गर्नुभयो भन्ने प्रश्नमा भने, ‘असुली गरिएको राजश्व सिधै सरकारको राजश्व खातामा हाल्छौं, हामीले खर्च गर्न पाउँदैनौं ।’ उनले सचेतनामूलक, जनचेतनामूलक कार्यक्रमका लागि अन्य निकायसँग समन्वय गर्दै आएको र ट्राफिक प्रहरीलाई त्यसका लागि बजेट उपलब्ध नहुने गरेको स्पष्ट पारेका छन् ।

ट्राफिक प्रहरीको जरिवाना र कारवाही नियमित हुने गरेको छ । त्यसले मात्रै दुर्घटनामा कमी भने आउने गरेको छ । स्थानीय तथा विभिन्न निकायको समन्वयमा ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम गर्दै आएको छ । विद्यालय, सवारीचालक, सडक यात्रु लक्षित सचेतनाका लागि कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले सवारीमा दुर्घटना न्यूनीकरणका लागि सडकका पोल तथा सवारीमा चम्किने खालको स्टीकरण समेत विगतमा टाँस गर्दै आएको थियो । तर, त्यसका लागि ट्राफिकले आफ्नो बजेट भने खर्च गरेको पाइँदैन ।

जरिवाना र कारवाहीले मात्रै बाँकेमा सवारी दुर्घटनामा कमी आउन सकेको छैन । न्यून मात्रामा हुने ट्राफिक सचेतनाका कारवाहीले खासै परिवर्तन ल्याउन नसकेको दुर्घटनाका तथ्यांकले देखाउँछ । खासगरी ट्राफिक नियम उल्लंघनका कारवाही जरिवानामा मात्रै सीमित हुँदा त्यसले परिवर्तन ल्याउन नसकेको स्थानीय बताउँछन् । नियम उल्लंघन गर्नेलाई कम्तिमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेर उपस्थिति गराउने हो भने पनि त्यसले केही भएपनि परिवर्तन ल्याउने स्थानीय बताउँछन् ।

‘लाइसेन्स, ब्लुबुक नहुँदा जरिवाना गरेर छाड्नु सामान्य हो तर ओभरलोड, मापसे, तिव्र गतिमा जरिवाना लिएर मात्रै छाड्दा बेथिति बढेको छ’ स्थानीय भन्छन्, ‘यसमा जरिवाना मात्रै नभएर ट्राफिक सचेतना कक्षामा सञ्चालन गरी अनिवार्य उपस्थिति र गल्ती दोहोर्याउनेलाई मुद्दा नै चलाउनु पर्दछ ।’ बाँकेमा ट्राफिकले करोडौं राजश्व असुल्ने तर सचेतनाका नाममा एक रुपैयाँ खर्च नगरेको विषयमा आलोचना समेत हुने गरेको छ ।

बाँकेमा विगत चार बर्षमा भएको दुर्घटनामा २ सय ९२ जनाको अकालमा ज्यान गएको छ । कतिपय गम्भीर घाइते अपाङ् भएका छन् । जिल्लामा सवारी दुर्घटनामा ज्यान जानेको संख्या बढ्दै गएको छ । आ।ब। २०७५/०७६ मा ९९ वटा दुर्घटनामा ६० जनाको ज्यान गयो भने १ सय ६१ जना घाइते भएका छन् ।

त्यस्तै, आ।ब। २०७६/०७७ मा १ सय ९१ वटा सवारी दुर्घटना भयो । जसमा ७३ जनाको ज्यान गयो भने २ सय ८० जना घाइते भए । २०७७/ ०७८ मा १ सय ५० दुर्घटनामा ७७ को मृत्यु भयो भने २ सय ८ जना घाइते भए । आ।ब। २०७६/०७७ र २०७७/०७८ मा लकडाउन भएको थियो । जसका कारण केही महिना सवारी चलेका थिएनन् तर पनि दुर्घटनाबाट ज्यान जानेको संख्या अधिकत नै रहेको छ ।

गत आ।ब। २०७८/ ०७९ मा ८२ जनाको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले जानकारी दिएका छन् । ‘तिव्र गति, मापसे गरेर सवारी चलाउने, गुणस्तरहीन सडक सवारी दुर्घटनाका मुख्य कारण हुन् ।’

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, बाँकेमा आ।ब। २०७८÷०७९ मा मृत्यु हुनेमा पुरुषको संख्या ५८, बालक ६, बालिका ४ र महिला १४ जना रहेका छन् । उक्त आ।ब।मा ६४ जना पुरुष, १५ महिला, ३ बालिका र ७ बालक गरी ८९ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको संख्या पुरुष ४३, महिला ४, १ बालिका गरी ४८ जना रहेका छन् ।

बढ्दो सवारी चाप, जनशक्ति ५८ मात्रै
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाहेक ट्राफिक प्रहरीको १२ वटा पोष्ट रहेका छन् । बाँकेका सवारी चाप बढ्दै गएको छ । सवारी चाप बढ्दै जाँदा बाटो काट्न समेत समय लाग्ने गरेको छ । बढ्दो सहरीकरण, पश्चिमका मुख्य सहर भएकाले पनि यहाँ आवातजावत बढी छ । तर, बाटो काट्नका लागि जिल्लामा एउटा पनि आकाशे पुल छैन । सवारीको बढ्दो चाप सँगै बाटो काट्नका लागि आकाशे पुल स्थापना गर्दै जानु पर्नेमा यसतर्फ सरोकारवालाले कुनै वास्ता गरेको पाइँदैन ।

सडकमा बाटो काट्न ठाउँठाउँमा जेब्रा क्रस त छन् । तर, जेब्रा क्रस भएका स्थानमा समेत सवारीले आफ्नो गति कम गरेको पाइँदैन । नागरिकबाट समेत जेब्रोका पालना भएको पाइँदैन । कतिपय सडक क्रसिङ गर्ने ठाउँ नै नभएका ठाउँमा समेत डिभाइडर नाघेर सडक पार गरिरहेको दृश्य सुर्खेतरोडमा देख्न सकिन्छ ।

ट्राफिकले नियमित रुपमा सवारी व्यवस्थापनको काम सँगै भिआइपीहरु आउँदा थप व्यस्त हुनुपर्दछ । तर, जिल्लामा सवारी चाप बढ्दा पनि दरबन्दी भने २४ जना मात्रै रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले दरबन्दी २४ रहेपनि कार्यरत जनशक्ति भने ५९ जना रहेको जानकारी दिएका छन् । ‘१२ वटा पोष्टमा उपलब्ध जनशक्ति खटाएका छौं’, उनले भने ।

Nabintech