८ बैशाख २०८१, शनिबार
बाँकेमा ८५ प्रतिशत रोपाई, नरैनापुरमा खडेरी, रोपेको धान पनि सुक्यो

नरैनापुर गाउपालिकामा २६० हेक्टर जमिनमा मात्र सिचाई हुने गरेको छ


  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार १५:३४

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा खडेरी परेको छ । पानी नपरेपछि किसानले धान रोप्न पाएका छैनन् । अलिअलि रोपेको धान पनि सुकेको छ । सबैजसो मानिसले खेती किसानीबाट नै जीवीकोपार्जन गर्ने गरेको नरैनापुरमा यसपालि पानी नपरेकाले धान रोपाई हुन सकेको छैन । गाउँपालिकाका कृषि शाखाका कर्मचारी सदन भण्डारीका अनुसार, नरैनापुरमा तीन हजार ७ सय ८ हेक्टर खेतीयोग्य जमिन छ ।
यो वर्षमा यसको १५ प्रतिशतमात्रै रोपाई भएको छ । पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ हुन्छ । रोपाई भएको १५ प्रतिशतमध्येमा आधाजसो धान तत्काल पानी नपाएमा मर्ने अवस्थामा पुगेको छ । नरैनापुर डुवान क्षेत्र पनि हो । यो वर्ष पानी नै नपरेपछि डुब्नुभन्दा सुख्खाले स्थानीयलाई सताएको छ । धान उत्पादन नभएकाले यो वर्ष खाद्यान्न संकट हुने स्थानीयको भनाई छ ।
वडा नं. ४ का सावितराम पासीले धान रोप्न नै नपाएकाले यो वर्ष खाना कै समस्या हुने बताए । गाउँपालिकाका प्रमुख मोहम्मद इस्तियाक अहमद शाहले सुख्खा परेकाले आफ्नो ठाउँका लागि केन्द्र, प्रदेश सरकारले विशेष प्याकेज दिनुपर्ने बताए । पालिकाले रोपाई भएको १५ प्रतिशत धानलाई बचाउन बिग्रेको बोरिङ बनाउने, खानेपानीका ट्यांकीलाई तत्काल सञ्चालन गरेर खेतमा पानीको व्यवस्था गर्न लागेको छ । गाउँपालिकामा दुईवटा बोरिङ र दशवटा खानेपानीका ट्यांकी छन् । दुवै बोरिङ र पाँचवटा खानेपानीका ट्यांकी तत्काल सञ्चालनमा आउन सक्छन् । यी सञ्चालनमा ल्याउँदा रोपाई भएका आधा बढी धानलाई सिँचाइ गर्न सकिने पालिकाको आंकडा छ । बाँकेमा ८५ प्रतिशत रोपाई भएको छ ।
Nabintech