१६ चैत्र २०८०, शुक्रबार
भेरी अस्पतालमा नयाँ डायलाइसिस मेशिन जडान हुँदै

भेरी अस्पतालसँग अहिले ६ वटा पुराना मेशिन छन तिमध्ये दुई वटा विग्रिएको अबस्थामा रहेका छन


  • टाइम्स संवाददाता

  • २ भाद्र २०७९, बिहीबार १५:३७

नेपालगञ्ज : गत साउनमा आइपुगेको ६ वटा डायलाइसिस मेशिन भाद्र दोस्रो सातादेखि सञ्चालनमा ल्याउने भेरी अस्पतालले तयारी गरेको छ । मेसिन अभावमा यस क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिस गर्न बाहिर जानु पर्ने र लामो समयपछि मात्र पालो पाउने गरेको गुनासो गरेपछि सरकारले भेरी अस्पतालका लागि थप ६ वटा मेशिन पठाएको छ ।

मेशिन आएको जानकारी पाएर खुशी भएका मिर्गौला पीडित अस्पतालले जडानमा ढिलाई गरेपछि निराश बनेका छन् । अस्पतालका कारण पालो कुरेर बसेका मिर्गौला पीडितलाई थप एक हप्ता पर्खिनु पर्ने भएको छ ।

डायलाइसिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्टका लागि घर निर्माण गर्न समय लागेकोले डायलाइसिस मेशिन जडानमा ढिलाई भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले बताए ।

उनले आरओ प्लान्टका लागि घर निर्माण अन्तिम चरणमा भएको बताउँदै प्लान्ट जडानको काम सकिने वित्तिकै डायलाइसिस मेसिन जडानका लागि प्राविधिक बोलाउने बताए । ‘भाद्र दोस्रो सातादेखि मन्त्रालयले पठाएका नयाँ मेशिनबाट डायलाइसिसको काम शुरु गर्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने ।

उनले डायलाइसिस मेशिनसँगै आरओ प्लान्ट नआउने भएकोले ढिलाई भएको जिकिर गरे । नयाँ मेसिन पुरानो आइसियू कक्षमा राख्ने तयारी गरिएको बताउँदै डा. चापागाईले अहिलेलाई नयाँ ६ वटामध्ये पाँच वटा मात्र सञ्चालनमा ल्याउने स्पष्ट पारे । नयाँ मेशिन जडान भए दैनिक १५ जनाले डायलाइसिस सेवा पाउने छन् ।

भेरी अस्पतालसँग अहिले ६ वटा पुराना मेशिन छन् । तिमध्ये दुई वटा विग्रिएको छ । एउटा इमरजेन्सीका लागि राखिएको छ । तीन वटा मेशिनले दैनिक तीन सिफ्टमा ९ जनाले डायलाइसिस सेवा लिँदै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईको भनाई छ । उनले पुराना ४ वटा मेशिन इमरजेन्सी, एचआइभी संक्रमित, हेपाटाइटिस वी र अन्य संक्रामक रोग लागेका विरामीका लागि राखिने बताए ।

भेरी अस्पतालबाट अहिले ३० जना विरामीले डायलासिस सेवा लिइरहेका छन् । डा. चापागाईका अनुसार ४५ जना मिर्गौला पीडित डायलाइसिसको पर्खाईमा छन् । ‘नयाँ मेशिन जडान भए दैनिक थप ६ जना विरामीले डायलाइसिस सेवा पाउने छन्,’ उनले भने ।

Nabintech