१३ बैशाख २०८१, बिहीबार
बन्दको निहुँ पारी चालकले लगाए टिप्परमा आगो

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७९, मंगलवार १३:०४

दाङ: बन्दको मौका छोपेर बीमा रकमको लोभमा दाङमा चालक र सह चालकले टिप्परमा आगो लगाएका छन् । घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा मंगलवार बिहान ४ बजे चालक र सहचालक आफैले आगो लगाएका हुन् ।

गाडीधनीको सहमतिमा टिप्पर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिप्परमा आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । चालक र सहचालक राप्ती गाउँपालिका वडा नम्बर ५ का हुन् ।

‘चार दलले मंगलवार नेपाल बन्द आह्वान गरेका छन् । प्रहरी घटनास्थलबाट चालक सहचालकलाई शंका लागेर सोधपुछ  गरयो’ एसपी काफ्लेले कोहलपुर टाईम्ससंग भने, ‘तीन चार जनाको समूह आएर आगलागी गरेर भागे भने । तर, कुरा बाझिएपछि सोधपुछ गर्दा साहुकै सहमतिमा आफूहरूले आगो लगाएको स्वीकार गरे ।’  उनी दुवै जना अहिले प्रहरीको नियन्त्रणमा छन् । गाडी धनी घोराही  उपमहानगरपालिका वडा नम्बर ८ का रहेको बताइएको छ । बीमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको काफ्लेको भनाइ छ ।

Nabintech