• १८ आश्विन २०७९, मंगलवार
बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले दिए उजुरी

मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गर्ने गरेको खुलासा


  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७९, बुधबार १०:१८

नेपालगञ्ज: जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो ।

“उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् ।
मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ ।

अधिकृत सोनकरले अहिले पनि फाटफुट मिटरब्याजीविरुद्ध उजुरी आइरहेको जानकारी दिँदै लिइएको उजुरी गृह मन्त्रालयलाई पत्राचार गरेको बताउनुभयो । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको बताइएको छ । मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।
सुर्खेतमा  ११ वटा उजुरी

मिटरब्याजी विरुद्ध गृह मन्त्रालयले उजुरी दिन सूचना जारी गरेपछि सुर्खेतमा हालसम्म ११ वटा उजुरी परेका छन् ।  जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका वीरेन्द्रनगरका एक जना पीडितको उजुरी विवरणमा एक जना व्यक्तिबाट ५० लाख रुपैयाँ ऋण लिएको तर परिबन्धमा पारी ८० लाख रुपैयाँको कागज गराएको र हालसम्म ६० लाख रुपैयाँ तिरिसक्दा पनि तिरिरहनु परेको उल्लेख छ । ती व्यक्तिले २३ जनाबाट ठगिएको भन्दै उनीहरु विरुद्ध प्रशासनमा उजुरी दिएकाे सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेले बताउनुभयाे । तिनै व्यक्तिले उजुरी दिएका अर्का व्यक्ति विरुद्ध उल्लेख भएको विवरणमा ती व्यक्तिबाट १५ लाख रुपैयाँ ऋण लिएको र हालसम्म १९ लाख रुपैयाँ दिइसक्दा पनि ती व्यक्तिले अदालतमा मुद्दा हाल्ने धम्की दिने गरेको उल्लेख छ ।

जिल्ला प्रशासनमै एक जना व्यक्तिले दिएको अर्को उजुरीको विवरणमा एक जना व्यक्तिबाट ११ लाख रुपैयाँ ऋण लिएको तर हालसम्म पटक-पटक सावाँ ब्याज गरेर २५ लाख रुपैयाँ दिँदा पनि पैसा लिएको छैन भनेर अदालतमा मुद्दा हालिदिन्छु भनेर धम्की दिएको उल्लेख छ ।

यस्तै अर्काे एक जना व्यक्तिले आठ लाख रुपैयाँ ऋणको महिनामा एक लाख ६० हजार रुपैयाँ ब्याज दिँदै आएको उल्लेख छ । उजुरीको विवरणमा ती व्यक्तिबाट आठ लाख रुपैयाँ ऋण लिएको तर महिनामा एक लाख ६० हजार ब्याज दिँदा भरपाई गरौँ भन्दा नगरेकाे र उल्टै त्याे ऋणको ११ लाखको तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेको उल्लेख छ ।

मिटर ब्याजबारेका निवेदन र कारबाहीलाई निरन्तरता दिन गृहको पत्राचार

मिटर ब्याजबारेका निवेदन र कारबाहीलाई निरन्तरता दिन गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि गठित गृह मन्त्रालय मातहतको कार्यदलले पीडितको उजुरी लिन र कारबाही प्रक्रिया अघि बढाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

पीडितहरूलाई यसअघि भदौ ५ गतेसम्ममा उजुरी दिन भनिएको थियो । चर्को मिटर ब्याजको समस्याले पीडित नागरिकले काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिन थालेपछि सरकारले मिटर ब्याजी पीडितका समस्या सम्बोधन गर्न प्रकृया थालेको थियो । मिटर ब्याजीहरूका कारण समस्यामा परेकाहरूको बारेमा अध्ययन गर्न गृहमन्त्रालयले सहसचिव डा. भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल नै गठन गरेको थियो ।

संयोजक भुसालका अनुसार देशभरबाट अहिलेसम्म झण्डै दुई हजार उजुरी जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका छन् । आजदेखि टोली नै स्थलगत अध्ययनका लागि खटिने पनि संयोजक भुसालले जानकारी दिनुभयो । सबैभन्दा धेरै मधेस प्रदेशबाट १३ सय ३० वटा उजुरी परेका छन् । त्यस्तै प्रदेश एकमा ९२, वाग्मतीमा २ सय २, गण्डकीमा ३५, लुम्बिनीमा २ सय ११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेका छन् ।

उजुरीसँगै तीन जना मिटर ब्याजी पक्राउ परेका छन् । नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का ५५ वर्षीय जगदीश कानु कानियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरेको छ । त्यस्तै लालबहादुर खड्कालाई पनि सिआइबीले पक्राउ गरेको छ । काठमाण्डौको गोलढुंगाका लालबहादुरविरुद्ध नवलपरासीका पीडितले उजुरी दिएका छन् । प्रहरीले गएको शनिबार महोत्तरीका साहुकार अनिरुद्ध साहलाई उनकै निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेकामाथि छानविन भैरहेको प्रहरीले जनाएको छ ।

मिटर ब्याजी भनेर कस्तो कारोबारलाई बुझ्ने ?

गरिब तथा निरक्षर व्यक्तिले पैसाको गर्जो टार्नका लागि चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरूसँग कानुनीरुपले अस्वीकार्य र प्रचलित दरभन्दा धेरै बढी ब्याज तिर्ने कबोल गरी ऋण लिने गरेको र त्यसो गर्दा ऋणदाताले एउटा कागजमा कानुनी रूपले स्वीकार्य दर राखी व्यवहारमा उच्च दरको ब्याज लिई कागज नच्याति रकम असूल गरिरहेको वा तमसूकमा उल्लिखित अङ्कमा पछि आफै अङ्क थप गरी ऋणीले लिएको वास्तविक ऋण भन्दा कैयौं गुणा बढी रकम दावी गर्ने गरेको वा ऋण लिएको मितिभन्दा धेरै वर्ष अघिकै मिति राखी तमसूक बनाई अनधिकृत ब्याज असूलेको वा ऋण दिँदा एउटा थैली कायम गरी त्यसको निश्चित प्रतिशत रकम कट्टा गरी बाँकी रकम ऋणीलाई दिई पुरै रकमको उच्च दरले ब्याज सहित असूल गर्ने गरेको वा कानूनी रूपले आफू तल नपर्ने गरी ऋण लिनेको जग्गा दृष्टिबन्धक राख्ने, छिनुवा पास लिने, खाली चेकमा सही गराई राख्ने गरेको र चेक बाउन्स लगायतका मुद्दामा फसाउने धम्की दिएर गैरकानूनी रूपले ऋणको धेरै गुणा रकम असुल्ने गरेको लगायतका क्रियाकलाप गरेको पीडितहरूको गुनासो रहेको छ ।

यी लगायत शोषणका विभिन्न माध्यम अपनाई ऋणीसँग उच्च दरमा ब्याज सहित सावाँ असुल्ने र सो क्रममा ऋणीको जायजेथा आफ्नो कब्जामा लिने र ऋणको दुष्चक्रमा फसाई आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई समाजले मिटरब्याजीको संज्ञा दिने गरेको छ । यसको अतिरिक्त कतिपय निर्माण व्यवसायीहरू क्यासिनोको लत लागेकाहरू र लागु औषधको दुर्व्यशनमा परेकाहरूलाई पनि मिटर ब्याजीहरूले मिटर ब्याजको पासोमा पारेको पाइएको छ ।

Nabintech