• १५ मंसिर २०७९, बिहीबार
‘हुँदा खाने र हुनेखानेका तीज’

  • रासस

  • १० भाद्र २०७९, शुक्रबार १५:१७

काठमाडौं: नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो ।

यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ । महिला अधिकारकर्मी निर्मला श्रेष्ठ वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकार्छिन् । समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरकफरकरुपमा मनाउन थालिएकामा उनले चिन्ता व्यक्त गरिन् ।

मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टीप्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेयपदार्थमा रम्न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन् । “हुनेखाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्नु भनेको समाजवादोन्मुख समाज वा राष्ट्रको परिकल्पना हो”, अगुवा नेत्री प्रतिभा सुवेदीले भनिन्, “संस्कार र संस्कृति देखासिकी र छाडा चरित्रले मनाउनु हुँदैन, परम्परागत र सालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाउनुपर्छ”, उनले भनिन् ।

तीजको वास्तविकस्वरुप परिवर्तन भएको छ । संस्कृतिका जानकार ज्ञानकाजी मानन्धरले भने, “आफ्नो मौलिक पहिचान र परम्परालाई बिर्सेर तीज तडकभडक तथा रङ्गीविरङ्गीरुपमा देखिन थाल्नु संस्कृतिमाथिको बज्रपात हो ।” पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वनपखेराबाट गुञ्जिन्थ्यो । आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टीप्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ । आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरुले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ ।

विश्वका हरेक देशका आआफ्नै संस्कृति÷वेषभूषा तथा परम्परा हुन्छन् । मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन् । तिनीहरुको संरक्षण/ सम्वद्र्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्छन् । तीज भाद्र शुक्लबाट सुरु भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरु भइरहेका छन् । जो संस्कृतिका नाममा विकृति हो । हुनेखाने वर्गले एकहप्तासम्म तीज मनाउँदै आएका छन् । हुँदाखाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन् ।

शिक्षिका दुर्गा थापाका अनुसार पहिलेका आमाहरुले मनाउने तीज र अहिलेका आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ । “पहिलेका आमालाई एक छाक मीठो मसिनो खान मुस्किल थियो, वर्ष दिनमा एकपटक माइत/मावला जान पाउँदा अति खुसी हुन्थे, राम्रो पहिरन मुस्किलले प्राप्त हुन्थ्यो, वर्ष दिनमा एकपटक माइतीतर्फका साथीसङ्गिनीलाई भेट्न पाउँदा अति खुसी हुन्थ्यौँ ।” ८२ वर्षीया महिला गोपिनी कार्कीले भनिन् । पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे प्रर्दथ्यो । वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो । वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासुससुरा र आप्mनो पतिलाई खुसी राख्नुपर्दथ्यो । पछि आफैँले गनुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो ।

Nabintech