भ्रष्टाचारका अखडामा, अन्याय अत्याचारका कालकोठरीमा डोजर चलाउनुहोस मेयर साब । हटाउनुहोस रङ्गीबिरङ्गी फ़ोहोरका डङ्गुरहरु । राजनीतिक फोहोरका डङ्गुर, सामाजिक फोहोरका डङ्गुर जात,धर्म, बर्ग, सस्कृतिका रुपमा सामाजलाई दुर्गन्धित पार्नेगरी बर्षौ थुप्रीएका फोहोरका डङ्गुरहरुमा डोजर चलाउनुहोस । पद स्थायी हुदैन र बारम्बार पदमा आसिनहुने अवसर नआउन पनि सक्छ। तपाईको वरपर नजायज फाइदा उठाउन झुम्मीएका जुकाका थुप्राहरुलाई पनि नछोड्नुहोस । मै खाउ मै लाउ भन्ने लोभिहरुको लोभको थुप्रोमा डोजर चलाउनुहोस । करोडौंको सम्पत्ति कुम्ल्याएर भुमिहिन शुकुम्बासीको अभिनय गर्ने नव सामान्तका देखावटी झुपडीमा डोजर चलाउनुहोस । तर ख्याल गर्नुहोस् त्यो नव सामान्तको देखावटी झुपडीको पल्तीर आजीवन कठोर परिश्रम गर्दा पनि आफ्ना सन्तानको पेट भर्न नसक्ने एउटा निमुखा वास्तविक भुमिहिन शुकुम्बसीको झन्डै भत्किन लागेको झुपडी पनि भेटिनेछ त्यसलाई बचाइदिनुहोस । त्यसकै पल्तिर एउटा बिधवा आमाको पानी चुहिने झुपडी भेटिनेछ छानो मर्मत गर्दिनुहोस । बाबू अपांग हुदा पेटभरि दाना नपाएर कुपोषित अभागी सन्तान बस्ने झुपडी पनि छ दुई छाक अनाज र साक्षर बनाउने पुन्यकार्य गरिदिनुहोस् । शोषित पीडित निमुखाको पक्षमा सतिसाल झै उभिनुहोस ।
अर्काले के अपराध गर्यो के गरेन प्रतिवाद र बकपत्र दिन बन्दगर्नुहोस । अपराध जतिसुकै पुरानोहोस् अपराध अपराध नै हुन्छ । अपराध जतिसुकै ठुलाले गरोस् त्यो अपराध नै हुन्छ। शोषित पीडित उत्पीडितका उपर बर्बरता मच्चाउनेको तीन पुस्ते कुण्डली निकाल्नुहोस । मातृभुमीको अस्मितामा खेलवाड गर्ने कुपुत्रको तिनपुस्ते झिक्नुहोस । देखाइदिनुहोस मेयर साब सत्ता अपराधी प्रती कति क्रूर हुन्छ । सत्ता शोषित पीडित उत्पीडितका लागि अभिभावक हुन्छ । यहाँ सत्ता सत्ता जस्तो छैन । यहाँ सरकार सरकार जस्तो छैन । जति सरकार र सत्ता बद्लिए पनी रस चुस्न पल्केका आधारहिन स्वार्थी ऐजेरुको जालोमा डोजर चलाउनुहोस। कसैले उचाल्दैमा नउचालिनुहोस कसैले पछार्दैमा नपछाडिनुहोस । कसैको नक्कल नगर्नुहोस् । आफ्नो यथार्थ धरातल र बस्तुस्थितिको सही विश्लेषण गर्नुहोस् । आवस्यकता के हो? औचित्य के हो ? नहतारिनुहोस सहि शुरुआत सफलताको मेरुदण्ड हो। पानी ढिलो तातिन्छ र ढिलै सेलाउछ । फलाम छिटै तातिन्छ र छिटै सेलाउछ।यो बस्तुको बिशिस्ट तापधारण शक्तिमा निर्भर गर्छ। दलाल र माफियाहरूका अखडामा डोजर चलाउनुहोस । तपाईंको बाटोमा षड्यन्त्रका एम्बुस थापिनेछ्न सजक रहनुहोस। तपाईंलाई असफल पार्न कथित आफन्तको मुकुन्डोधारी आउनेछ्न सचेत रहनुहोस। प्रलोभनका पोकाको कोसेली बोकेर लामलागेर आउछ्न सकुनीहरु ढोका बन्द गरिदिनुहोस। यो सामाज बदलिएन । यो देश बदलिएन । कसरी बदलिन्छ यो देश ? कसरी बदलिन्छ यो सामाज ? जब दोहोर्याउछौ पुरानै प्रवृत्ति । हाम्रो आचरण व्यबहार उस्तै छ ।हाम्रो तौरतरिका उस्तै छ ।हाम्रो सोचाइ बुझाइ उस्तै छ ।
कसै प्रतीको गुनासो बन्द गर्नुहोस् । यहाँ सबै अमर, अजर, अमिट भएनन् । जस्ले त्याग, बलिदानी र उत्सर्ग गरे अमर तिनी छन । अजर तिनी छन । अमिट तिनी छ्न । किन पुजिन्छ्न अब्राहम र मण्डेला ? किन ढोगिन्छ्न गान्धी र गौतम बुद्ध ? किन गुन्जिन्छन गङ्गालाल र दशरथ ? किन अमर छ्न शुक्रराज र धर्मभक्त? किन सम्झिन्छौ बिपी र मनमोहन ? केही न केही बिशिस्टता छ । केही न केही बलिदानी छ । सामाज रुपान्तरणको अभियान छ।स्वार्थ र लोभको तिलान्जली छ। लोभ र लालच बाट माथी उठ्नुहोस । मोह र मुलाहिजा बाट मुक्त हुनुहोस् । एउटा नेपाली उखान छ ” जति जोगी आए पनि कानै च्यातिएका” । यो निराशाको अभिव्यक्ति हो । यो जडताको प्रतिबिम्ब हो । यस उखानलाई गलत साबित गर्नुछ । यहाँ दलाल, पुजीपतिका कायर नोक्कर मात्र छैनन् मातृभुमिको मुहार फेर्नसक्ने निर्भीक योद्धा पनि छन । प्रमाणित गर्नुछ । बाटो च्याप्नेको बिग्बिगी छ । खोला थुन्नेको दम्दमी छ । ती कसैलाई नछोड्नुहोस । कानुनको कठघरामा उभिनै पर्छ। न्यायको तराजुमा जोखिनै पर्छ। नकारात्मकताको बाढी ल्याउने, अफवाहको हुरी ल्याउने यस्ता सबै कम्पनीमा डोजर चलाउनुहोस । कसरी ठग्न सकिन्छ ?कसरी झुट बिक्छ? सदासर्बदा यस्तै सोच्ने मथिङ्गलमा डोजर चलाउनुहोस। नडराएर डोजर चलाउनुहोस । सदियौको फोहोर सोहोर्न समय लाग्छ । नाअत्तिएर डोजर चलाउनुहोस । यहाँ फोहोरको अवशेष नरहोस । यहाँ अत्याचारको छाया नरहोस। अर्काको खुन र पसिनामा बाच्ने परजीवीका भट्टिमा डोजर चलाउनुहोस । बिन्ती छ मेयर साब डोजर चलाउनुहोस ।