१३ बैशाख २०८१, बिहीबार
एसिया कप क्रिकेट : लगातार दुई खेल जित्दै अफगानिस्तान सुपर चारमा प्रवेश

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७९, बुधबार ०९:२४

काठमाण्डाै :एसिया कप टी–२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ ।

अफगानिस्तानले गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका नजिबुल्लाह जर्दानले अविजित ४३ तथा इब्राहिम जर्दानले ४२ रन जोडे । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

बंगलादेशका मोस्देक हुसेनले अविजित ४८ रन जोडे । अफगानिस्तानका मुजीब उर रहेमान र राशिद खानले समान ३–३ विकेट लिए । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो । लगातार दोस्रो जित निकालेको अफगानिस्तानले समूह ‘बी’ मा ४ अंक जोडेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । भारतले आज हङकङसँग खेल्नेछ । पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । भोलि श्रीलंका र बंगलादेश तथा पर्सि पाकिस्तान र हङकङबीच खेल हुनेछ ।

Nabintech