४ बैशाख २०८१, मंगलवार
प्रकाश फिल्मले नेपाली राजनीतिको विकृति उजागर गर्‍यो : लिङदेन

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १६:२७

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृति उजागर गरेको बताएका छन्।

बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चलचित्रले क्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहेको विकृतिलाई उदांगो पारेको बताए।

उनले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको उल्लेख गरे। अध्यक्ष लिङदेनले अहिलेको समाज कस्तो भन्ने कुरा चलचित्रमा चित्रण गरिएको बताए। उनले चलचित्र अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने धारणा व्यक्त गरे।

राजनीतिमा अहिले भइरहेको विकृति चित्रण गरेको तर अब राजनीतिक दलहरूले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको उनले बताए।

‘प्रकाश फिल्मले जे सन्देश दिन खोजिरहेको छ, वर्तमान राज्य व्यवस्थाले नजानिदो तरिकाबाट वर्गीय व्यवस्थालाई प्रोत्साहित गरिरहेको छ। त्यसलाई उठाइरहेको मान्छे हुँ। त्यो कुरा प्रकाश फिल्मले उठाइरहेको छ। यो फिल्मले अहिलेको समाज कस्तो छ ? त्यसलाई चित्रण गर्न सफल भएको छ। यो फिल्म अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्छ’, उनले भने, ‘राज्यले जनतालाई दिने सेवा, सुविधा जातको आधारमा नभइ वर्गको आधारमा हुनुपर्छ। चलचित्रले जनक्रान्तिको नाममा कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको छ। फिल्मले समग्र नेपाली राजनीतिमा भएको विकृतिलाई देखाएको छ। अहिलेका विकृति देखाएको छ तर अब के हुनुपर्छ भन्नेकुरा चलचित्रले भनेको छैन।’

नेपाली चलचित्र प्रकाश गत शुक्रवारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको थियो। शुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टोलीले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरूले शो नदिएको भन्दै दुखेसो गरेको थिए।

अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको मागअनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए। दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ।

दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भुमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ। चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो।

Nabintech