१२ बैशाख २०८१, बुधबार
राजनीति र नैतिकता 

नेपालमा राजनीति सेवा होइन एउटा गज्जबको ब्यापार हो


  • प्रेम शर्मा

  • १९ भाद्र २०७९, आईतवार २०:१७

एउटा युरोपेली देश पोर्चुगलको स्वास्थ्य मन्त्री मार्टा टेमिडोले आफ्नो पदबाट राजीनामा दिएको समाचार पढ्ने मौका मिल्यो । उनको राजीनामाको कारण रहेछ एक इन्डियन पर्यटक महिलाको मृत्यु । उक्त इन्डियन पर्यटक महिला गर्भवती थिइन । उनलाई उपचारका निम्ति डी सन्त मेरिया भन्ने अस्पतालमा लगिएको थियो तर नवजात शिशुको सेवाको लागि रिक्त स्थान नभएका कारण उनलाई साओ फ्रान्सिस्को जेभियर हस्पिटल लग्दै गर्दा हृदयघात भै मृत्यु भयो । जस्को नैतिक जिम्मेवारी लिदै स्वास्थ्य मन्त्रीले राजीनामा दिएकी थिइन । यता नेपालको सत्ताधारी नेपाली काङ्ग्रेस पार्टीले रौतहट क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि मोहम्मद अफताब आलमलाई  सर्वसम्मत सिफारिस गरेछ। आलम बम विष्फोटका घाइतेहरुलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा छ्न ।
२०६४ सालको संविधान सभाको निर्वाचनको एकदिन अघि चैत्र २७ गते शेखइद्रीसको घरमा बम विष्फोट हुँदा सरुअठाका २४ बर्षिय त्रीलोक प्रताप सिंह र २२ बर्षिय ओसी अख्तरको मृत्यु भएको थियो। घटना लुकाउन उनले घाइते भएका हरुलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोप छ। सो घटनामा आलामको सङ्लग्नता रहेको भन्दै श्रीनारयण सिंह र रोक्साना खातुनले मोहम्मद आफताव आलम सहित महताव आलम, मोविन आलम,शेख भदई र शेख सरोज विरुद्ध  किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ असोजमा पक्राउ गरेको थियो।
यतिबेला अर्को प्रसङ्ग कोट्याउन चाहान्छु । महाअभियोगको कारण निलम्बनमा परेका प्रधानन्यायाधीश  चोलेन्द्र शम्शेर राणाको महाअभियोग सिफारिस समितिका सदस्य सामु पेशगरेको बयान । उनले आफुमाथी महाअभियोग लाग्नुका पछाडीका गम्भीर कारणको उठान गरिदिएका छन । पुर्ब प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईको ललिता निवासको सरकारी जग्गा प्रकरणमा सङ्लग्नता, नेकपा एमाले बाट छुट्टेर गएका चौध जना सांसदको प्रसङ्ग र सर्बोच्च बारका पदाधिकारी एबम सर्बोच्च अदालतका न्यायाधीशहरु विभिन्न प्रभावमा परेको मुद्दा  उठान गरिदिएका छ्न ।
यी माथिका प्रसङ्गभित्र प्राकृतिक स्रोतसाधनले धनी हुदाहुदै पनि  नेपाल किन विकसित राष्ट्र बन्न सकेन भन्ने प्रश्नको उत्तर भेटाउन सकिन्छ । नेपालमा राजनीति सेवा होइन एउटा गज्जबको ब्यापार हो। कथित ठुलाबडाले गरेका गैर कानुनी कर्मलाई बैधता दिलाउन खोलिएको एउटा विश्वविद्यालय हो। यहाँ जुनसुकै तन्त्र भनेपनी भद्रगोल तन्त्र हावी छ। यहाँ जब प्रतिपक्षमा पुगिन्छ तब भ्रष्टाचार, अत्याचार र अनियमितताका प्रश्न उठ्छ्न जब सत्ता पक्षमा जान्छन् सबै बन्द। कस्ले रोक्यो सरकारलाई बहत्तर करोड, यति, ओम्नी, वाइड्बडी  लगायतका तमाम अनियमितताको छानबिन गर्न ? के ती आफूले सत्ताको रसोस्वाद गर्न नपाउदा गाइएका अतृप्तिका गित मात्रै हुन त? कस्ले रोक्यो निर्मला पन्तको बलात्कारीलाई कठघरामा उभ्याउन ? समकालीन राजनीतिक नेतृत्वमा भएको नैतिकताहिन व्यबहार र आचरण प्रमुख कारक हुन । नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आलम बाहेक अरुकुनै उम्मेदवार पाउन सकेन? प्राय सबै पार्टीको बिजोग त्यस्तै छ। यहाँ निष्ठा, नैतिकता, विधि र सिद्धान्तको राजनीति गर्ने ब्यक्ति सधै ओझेलमा पर्छ। जस्ले मनि, मसलको प्रयोग गर्न सक्छ उहीँ नेतृत्वमा पुग्छ। जब हाम्रो मस्तिष्क नकाम हुन्छ तब हाम्रो शरीरका सबै अङ्गप्रत्याङ्ग नकाम हुन्छ्न । भनाइको मतलब नेपाली राजनीतिमा आएको नैतिक ह्रासले समाजका सम्पुर्ण पक्षमा नैतिक ह्रास आएको छ।नेपालका पार्टी जुनसुकै नामबाट खोलिएका भएपनी उदेश्य एउटैछ त्यो हो आफू सत्तामा पुग्ने र स्रोत साधनको असिमित दोहोन गर्ने। नेपालका कुनैपनी अनियमितताका घटनामा सत्तामा जादा मौनता देखाउनुले सबै दलहरूको त्यस्ता घटनामा कुनै न कुनै रूपमा सङ्लग्नता छ भन्ने कुराको पुष्टि गर्छ। जब सबैको सङ्लग्नता रहन्छ त्यस्ता घटनाको सत्य तथ्य अनुसन्धान हुन्छ भन्ठान्नु एउटा भ्रम मात्रै हो।  कुर्सीको लागि कतिहद सम्म अनैतिक बन्न सक्छन् भन्ने प्रमाण बिगतका व्यबहार बाट प्रष्ट हुन्छ । रुकुम रोल्पाका सोझा साझा जनतालाई भारतीय बिस्तारवादको विरुद्ध सुरुङ्ग युद्ध लड्ने हुङ्कार दिने तर आफू बिस्तारवादीको कार्यकर्ता भएर भारतमै सुरक्षीत बस्ने महान क्रान्तिकारी नायकको धोती प्रद्यापक एस डी मुनिले खुस्काइदिएका छन । त्यस्तै कोशी, गण्डक, महाकाली लगायतका सम्झौताले पनि कथित देशभक्त नेता र पार्टीलाई निर्बस्त्र तुल्याइ दिएको छ। गुरु कृपा प्राप्तगर्न लैनचौरमा लाग्ने लाम र शक्ति केन्द्रको पहुँच खुलेआमले नैतिकताको धज्जी उडाएकै छ। नेपालको राजनीतिक घटनाक्रमलाई नियाल्दा समकालीन पार्टी र तिनका ठुला नेता देशीविदेशी शक्ति केन्द्रका गोट्टी मात्रै हुन भन्दा अन्यथा नहोला। देशको यो हरिबिजोग हुनमा हामी जनताहरु पनि कम्ती जिम्मेवार छैनौ। चोरलाई चौतारी र साधुलाई सुलि हुनुमा जनताको भुमिका पनि कम्ती छैन।
२०७९ साल मङ्सिर ४ गते एउटा उपयुक्त अवसर आउदैछ । जनताले देशप्रती सत्चरित्रता देखाउने पावन मौका हो यो । देशलाई सधै दलदलमा फसाउने राष्ट्रघातीहरुलाई सत्तामा पुर्याउने भर्र्याङ् नबनौ। कुसल समाजसेवी देशभक्त र समाज परिवर्तनको प्रष्ट दृष्टिकोण भएको ईमानदार नेतृत्वको पहिचान र छनोट गरौ।
Nabintech