१३ बैशाख २०८१, बिहीबार
सुर्खेती आयुष गेष्ट हाउसमा प्रहरीको छापा : लागू औषध सहित एक पक्राउ

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७९, बुधबार २१:४४

इलाका प्रहरी कार्यालय कोहलपुरले दशविगाहामा रहेको एक होटेलमा छापा मारेको छ । होटेलको आवरणमा लागुऔषध ब्राउनसुगरको कारोबार गर्ने स्थानमा कोहलपुर प्रहरीले छापा मारेको हो । दशविगाहामा रहेको दैलेखी सुर्खेती आयुष गेष्ट हाउसमा प्रहरीले बुधबार छापा मारेको थियो ।

छापा मारेर लागुऔषधसहित एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा लामो समयदेखि लागुऔषधको कारोबार हुने स्थानमा छापा मारेका हौं, उनले भने, ‘बिक्रीको लागि तयारी अवस्थामा राखिएको अवस्थामा लागुऔषधसहित एकजनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–५ घर भइ दशविगाहामा होटेलको आवरणमा लागुऔषध बिक्रीवितरण गर्ने गणपति सुवेदी रहेको डिएसपी मल्लले जानकारी दिए । खानतलासी गर्दा बिक्रीका लागि राखिएको अवस्थामा एक सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर होटेलबाट बरामद भएको कोहलपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

‘राखेको प्लास्टिकसहित तौल गर्दा लागुऔषध एक सय ७० मिलिग्राम रहेको छ । प्लास्टिकबाहेक तौल गर्दा एक सय ३० मिलिग्राम रहेको पाइयो,’ उनले भने, ‘पक्राउ परेकामाथि हामीले थप अनुसन्धान अगाडि बढाएका छौं ।’ विशेष योजनासहित छापा मारेको कोहलपुर प्रहरीले सोचेजस्तो परिणाममा लागुऔषध लुकाएको हुनसक्ने आंशकामा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो ।

कोहलपुरमा रहेको नेपाल प्रहरीको कुकुर शाखाबाट लागुऔषध पत्ता लगाउने तालिमप्राप्त कुकुर ल्याएर प्रयोग गरिएको हो । लागुऔषध घटनामा कोहलपुर क्षेत्रमा नै कुकुर प्रयोग गरिएको पहिलोपटक रहेको बताइएको छ ।

‘कुकुरको माध्यमबाट थप खानतलासी गरिए पनि अन्य केही पत्ता लाग्न सकेन,’ कोहलपुरका डिएसपी मल्लले भने, ‘शौचालयमा अरु लागुऔषध फालेको हुनसक्ने हामीले अनुमान गरेका छौं ।’ पक्राउ परेका सुवेदीमाथि लागुऔषध ब्राउनसुगर कारोबारको मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Nabintech