१४ बैशाख २०८१, शुक्रबार
डेंगु नियन्त्रण गर्न सम्बद्ध सबै गम्भीर हुनुपर्नेमा जोड

पहिलो पटकको डेंगीभन्दा दोस्रो पटकको डेंगीले मानिसलाई जोखिम अबस्थामा पुरयाउने


  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १४:२४

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका डेंगी रोगको उच्च जोखिममा देखिएकाले रोकथाम तथा नियन्त्रणका बिषयमा सम्बद्ध सरोकारवाला निकाय गम्भीर भएर लाग्नु पर्नेमा जोड दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रवार नेपालगञ्जमा आयोजना गरेको डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाबीचको बैठकमा बोल्ने सहभागीले डेंगी रोगबाट जोगिन सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

बैठकमा डेंगी रोगको अवस्था, लक्षण तथा जोगिने उपाय र नियन्त्रणका सवालमा भएका कामहरुको बारेमा भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे र स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसक्रममा डा पाण्डेले यो मौसममा डेंगुको जोखिम स्वभाविक भएको बताए । उनले पछिल्लो १८ वर्ष देखि नेपाल डेंगीको जोखिममा रहेको बताए । यो ग्लोबल समस्याका रुपमा रहेकाले यस्को नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित शहरीकरण भएको उनको भनाइ छ ।

उनले त्यसका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने बताए । उनले डेंगीको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्नु पर्ने बताए । डा.पाण्डेले डेंगी रोग चार प्रकारका हुने भएपनि नेपालमा कुन प्रकारको डेंगी फैलिएको भन्ने बारे पहिचान गर्न उपकरणको अभाव भएको बताए । यस्तो उपकरण टेकु बाहेक अन्य अस्पतालमा छैन । उनका अनुसार एउटा ब्यक्तिलाई उसको जीवनकालमा कम्तिमा ४ पटकसम्म डेंगी हुन्छ ।

पहिलो पटकको डेंगीभन्दा दोस्रो पटकको डेंगीले मानिसलाई जोखिम अबस्थामा पु¥याउने डा पाण्डेको भनाइ छ ।

यस्तै डेंगी रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसहरुलाई सचेतना जगाउन अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन गौतमको भनाइ छ ।

बाँकेमा अहिलेसम्म ११ जनामा डेंगीको संक्रमण देखिएको छ । तीमध्ये ५ जना नेपालगन्ज उपमहानगरपालिकाका, ४ जना कोहलपुरका र १ जना बैजनाथ गाउँपालिकाका रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा बसेको बैठकमा भेरी अस्पतालका मेसु डा बद्री चापागाईं, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, जिल्ला रेडक्रसका दोलख बहादुर डांगी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Nabintech