• १५ मंसिर २०७९, बिहीबार
गठबन्धनविरुद्ध संगठित लडाईं

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १५:२१

नेपालको महिला आन्दोलन अत्यन्तै सफलतापूर्वक, सुगठित, सुविचारित ढङ्गले र सही नीतिहरूका साथ अगाडि बढिरहेको छ । पार्टीको सही मार्गनिर्देशनलाई सही ढङ्गले अङ्गिकार गर्दै र कार्यान्वयन गर्दै आन्दोलनमा सफलता प्राप्त गर्न सफल भएको छ । यदी पार्टीका सही नीतिहरूको मार्गदर्शनलाई अनुशरण नगर्ने हो भने पार्टी नीति निर्देशनअनुसार नचल्ने हो भने आन्दोलनमा वैचारिक दिशाहीनता वा बाटो बिराउने प्रवृत्तिहरू प्रकट हुनसक्छन् । अखिल नेपाल महिला संघले वैचारिक हिसाबले बाटो बिराएको छैन । महिला आन्दोलन सामाजिक आन्दोलनमा एउटा अत्यन्तै असाधारण र अतुलनीय महत्व छ । यसको महत्वको बारेमा अरु कुनै कुरासँग तुलना हुँदैन । समाजमा रहेका महिला र पुरुषका बीचको भेद यथार्थ हुन् । ती यथार्थलाई कसरी न्ययोचित यथार्थमा बदल्ने ? कसरी समानताको परिस्थितिसम्म पुर्याउने ? स्वाभाविक रूपमा महिला र पुरुषका बीचमा प्राकृतिक भिन्नताहरू छन्, खाली शारीरिक बनावटको मात्रै भिन्नता होइन, अरु पनि केही भिन्नताहरू हुन्छन् । ती यथार्थ हुन् तर त्यसले सामाजिक भिन्नता, अधिकारमा भिन्नता, अवसरमा भिन्नता, सम्मानमा भिन्नता, सुरक्षामा भिन्नता जस्ता कुराहरू हुनुहुँदैन । विशेषगरी शारीरिक कारणले नै महिलाहरूको सुरक्षा बढी संवेदनशील हुने हुनाले यस दिशामा विशेष रूपमा सिङ्गो समाज, राज्य र समाजका अन्य पक्षहरू पनि उत्तिकै सजग हुन जरुरी हुन्छ । महिलाहरूलाई सम्पूर्ण रूपमा समान अधिकार, अवसर, सम्मान, सुरक्षाको स्थितिमा पुर्याउनुपर्छ भन्ने भाव र नीतिका साथ आज नेपालको महिला आन्दोलनलाई मूलतः अखिल नेपाल महिला संघले नै नेतृत्व गरेको छ । दावी गरेर हामी सबैलाई नेतृत्व गरेका छौं भन्दैनौं तर अखिल नेपाल महिला संघले जुन नीतिहरू अगाडि सारेको छ, महिला मुक्तिको सम्बन्धमा, यी नीतिहरू नै निर्देशक नीतिहरू हुन् । अखिल नेपाल महिला संघले यी नीतिहरूको कार्यान्वयनका निम्ति र समानताको गन्तव्यमा पुग्नका लागि जुन कदमहरू चालेको छ, ती कदमहरू नै प्रतिनिधि कदमहरू हुन् । अखिल नेपाल महिला संघको नेतृत्वमा जुन सफलताहरू प्राप्त भएका छन्, ती सफलताहरू नै वास्तवमा प्रतिनिधि, दृष्टान्तयोग्य सफलताहरू हुन् ।

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन 
आज महिला आन्दोलनले ठूलो सफलता प्राप्त गरेको छ । अखिल नेपाल महिला संघको नेतृत्वमा भएको हुनाले ती कुराहरूलाई मानिसले अवमूल्यन गर्न अथवा कम देख्न/देखाउन सक्छन् । तर अवस्था वास्तवमा जहाँको त्यहीँ छ भन्ने कुरा होइन । कति मानिसहरूले भन्ने गर्छन्– व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएको छैन भनेर । मूलतः व्यवस्था परिवर्तन भयो, मूलतः अवस्था परिवर्तन भयो नै हो ।

लोकतान्त्रिक प्रणालीका मूल्य मान्यता अनुसार व्यवस्था पनि कहाँ चलेको छ ? आधारभूत रूपमा हामीले व्यवस्था परिवर्तन गरेका छौं । राणा शासनको अवस्थाबाट आजको ठाउँसम्म ल्याई पुर्याएका छौं । महिलाहरूको हिजो चरम असमानता, भेदभाव, शोषण, पक्षपातको स्थितिबाट आज समान हैसियत, मर्यादा र कमसेकम ३३ प्रतिशत सहभागिताको स्थितिमा पुर्याएका छौं । यो अखिल नेपाल महिला संघको अगुवाईमा नै भएको हो । यसो भनिरहँदा मैले सुरुमा जे भनिरहेको थिएँ– पार्टीको सही नीति र पार्टीको सही मार्गदर्शनमा नै भएका छन् र अखिल नेपाल महिला संघको यो सफलता पार्टीका सही नीतिहरूको निर्देशन र तिनको परिपालना, तिनको कार्यान्वयनबाट नै सफलताहरू प्राप्त भएका छन् । हामी दावाका साथ भन्न सक्छौं– अखिल नेपाल महिला संघ दुनियाँकै बाटो नबिराएका महिला आन्दोलनमध्ये एउटा आन्दोलन हो र उल्लेख्य आन्दोलन हो ।

मैले दुनियाँका महिला आन्दोलनहरू हेरेको छु र अरु कुनै भाषामा बोल्दा बडो सजग भएको ठानिने र नेपाली भाषामा बोल्दा सजग भएको नठानिने अथवा त्यो कुरा कमजोर अर्थको, कमजोर महत्वको हुने होइन । अखिल नेपाल महिला संघले नेपाली भाषामा बोलेको होला, नेपाली भाषामा दस्तावेज लेखेको होला । तर, अखिल नेपाल महिला संघले लेखेका दस्तावेजहरू, सञ्चालन गरेका आन्दोलनहरू, अगाडि सारेका दृष्टिकोणहरू, त्यस आधारमा सञ्चालन गरेका आन्दोलनहरू र ती आन्दोलनले प्राप्त गरेका उपलब्धिहरू कसैका भन्दा कमजोर होइनन्, सवल छन् । सहभागिताको हिसाबले, सशक्तीकरणको र महिला जागरणका हिसाबले हेर्ने हो भने हामी विश्वका कमसेकम १० वटा देशभित्र पर्छौं । नेपाल जस्तो पछाडि परेको, भर्खरै लोकतन्त्र आएको देशमा हामीले प्राप्त गरेको सफलता, अखिल नेपाल महिला संघले प्राप्त गरेको सफलता असाधारण सफलता भनेर मान्नुपर्छ । म हाम्रा महिला दिदीबहिनीहरूलाई यस सफलताका निम्ति हार्दिक बधाई भन्न चाहन्छु । तपाईंहरूको विगतको बलिदानपूर्ण सङ्घर्ष, कठोर सङ्घर्षका लागि अत्यन्तै ठूलो सम्मानका साथ प्रशंसा गर्न चाहन्छु, उपलब्धिको प्रशंसा गर्न चाहन्छु । तपाईंहरूलाई धेरै–धेरै बधाई भन्न चाहन्छु । बाँकी सफलता हासिल गर्न अझै सङ्घर्ष गर्नुपर्ने छ, अझै तपाईंहरूका सही आवाजहरूलाई निरन्तरता दिनुपर्ने छ । ती आवाज भनेका हाम्रा आवाज हुन्, हाम्रो पार्टीका आवाज हुन्, सामाजिक न्याय र समानताका पक्षधर आवाज हुन् । सामाजिक न्याय र समानताका लागि सबैभन्दा पहिले पुरुष र महिलाका बीचको विभेद हटाउनुपर्छ । आधा–आधा जनसंख्याका बीचको विभेद हटाउनुपर्छ । आधालाई निस्क्रिय, निष्प्रवाही र अधिकारबाट वञ्चित बनाउने होइन । सम्पूर्ण जनसंख्यालाई उत्तिकै प्रभावशाली बनाउनुपर्छ । अझ महिला जसको शिक्षाले परिवार शिक्षित हुन्छ, परिवारलाई एउटा आधारभूत शिक्षिकाको रूपमा र जीवनभरि शिक्षाको हिसाबले परिवारलाई, नयाँ पुस्तालाई राम्रो बानी सिकाउने, राम्रा आचरणहरू सिकाउने र आफ्ना सन्ततिलाई योग्य बन्न हरदम प्रेरित गर्ने यो पहिलो पाठशाला जति सवल हुन्छ, त्यति समाज अगाडि बढ्छ । तसर्थ, यसको असाधारण अर्थ छ र सामाजिक न्याय र समानताको सन्दर्भमा महिला र पुरुषका बीचको असमानता, भेदभाव, पक्षपात, शोषण, दमन र महिला हिंसा जस्ता कुराहरू अन्त्य गर्नु विल्कुलै जरुरी छ ।  यो एकछिन पनि पर्खन नसकिने कुरा हो । यसका निम्ति फेरि पनि हामीले समाजलाई शिक्षित बनाउने, समाजमा रहेका पछौटेपनहरू हटाउने आदि कामहरू गर्नुपर्छ, जुन काममा तपाईंहरू लागिरहनुभएको छ । तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु ।

मैले यो सबै कुरा भनेको र तपाईंहरूको सफलताको यति चर्चा गरेको यस कारणले हो कि केही पनि भएको छैन भन्नुको अर्थ तपाईंहरूको सङ्घर्ष, सफलतालाई नजरअन्दाज गर्नु हो । केही पनि उपलब्धि भएको छैन, जहाँको त्यहीँ छौं भन्नुको अर्थ तपाईंहरूको बलिदान खेर गयो भन्नु हो । तपाईंहरूले प्राप्त गरेका उपलब्धि नदेख्नु भनेको तपाईंहरू सफल हुन सक्नुहुन्न भनेर तपाईंहरूको मनोबललाई कमजोर पार्नु हो । तपाईंहरूका सारा प्रयासहरू निरर्थक र व्यर्थ हुन्छन् भनेर तपाईंहरूलाई अरु प्रयास किन गर्नुहुन्छ भनेर हतोत्साहित गर्नु हो । तर, यथार्थ त्यो होइन । तपाईंहरूका आन्दोलनले सफलता प्राप्त गरेको छ र उपलब्धिहरू हासिल भएका छन् । परिस्थिति र अवस्थामा परिवर्तन आएको छ । यसमा तपाईंहरू गर्व गर्नुपर्छ, गौरव गर्नु पर्छ । जुन बाटो, जुन यात्रा तपाईंहरूले तय गर्नुभएको छ, त्यो सही थियो र त्यो उपलब्धिपूर्ण ढङ्गले अगाडि बढेको छ । यो पहिलो कुरा हो ।

दोस्रो कुरा यसो भनेर तपाईंहरूको अभियान अब सिद्धियो त ? होइन । तपाईंहरूले पुग्नुपर्ने गन्तव्य पुग्नुभयो, तपाईंहरूले छुनुपर्ने गन्तव्य छुनु भयो त ? त्यो होइन, अझै सङ्घर्ष बाँकी छ । यस काममा हामी सबै अगाडि बढ्नु छ । यी कुरालाई ध्यानमा राखेर साथीहरूले आफ्ना योजनाहरू तयार गर्नूस् ।

मैले प्रायः भन्ने गरेको छु– भावनामा बगेर आन्दोलन हुँदैन । भावना बगाई आन्दोलन होइन । लु सुनले यत्तिकै  लेख्नुभएको होइन, नुराले घर छोडेपछि के भयो ? मैले धेरै ठाउँमा भन्ने गरेको छु यो कथा कि एकजना विद्वानले लेख्नुभयो– नोरा सचेत भइन्, जागृत भइन्, समाजमा रहेको, परिवारमा रहेको अन्याय, अत्याचारको विरुद्धमा विद्रोह छेडिन् र घर छोडिन् । त्यसपछि लु सुन अर्को निबन्ध लेख्नुहुन्छ । त्यस निबन्धमाथि अर्का विद्वानले टिप्पणी गर्दै लेख्नुहुन्छ कि नोराले घर छोडेपछि के भयो ? नोराले अर्थहीन ढङ्गले घर छोड्ने होइन । घर छोड्नु भन्दा समाज परिवर्तन गर्नुपर्छ, घरमा परिवर्तन ल्याउनुपर्छ । त्यसका निम्ति सुझबुझपूर्ण सङ्घर्ष गर्नुपर्छ, दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ, सचेत सङ्घर्ष गर्नुपर्छ र तर्कपूर्ण ढङ्गले सङ्घर्ष गर्नुपर्छ ।
वास्तवमा हामीले भड्काउपूर्ण, भावनात्मक, संवेदनका कुराबाट शिक्षा लिन सक्छौं तर ती कुरा हाम्रा निम्ति मार्गदर्शन होइनन् । सचेत सङ्घर्ष हाम्रा निम्ति मार्गदर्शक हुनसक्छन् । सचेत सङ्घर्षबाट प्राप्त उपलब्धिहरू हाम्रा निम्ति दृष्टान्त हुनसक्छन् । हामीले तिनलाई उदाहरणको रूपमा लिनसक्छौं । विद्रोह मात्रै उदाहरण हुँदैन । किन विद्रोह असफलतामा पुगे ? त्यसको खोजी हुनुपर्दछ यदि असफलतामा पुगे भने । हामीलाई विद्रोह र असफलता चाहिएको होइन । हामीले दिने भनेको धक्का, क्रमभङ्ग, छलाङ र महाविपत्ति भनेर अन्तिममा महाविपत्तिमा पुगेर सिद्धिने हाम्रो नीति होइन । यो कुनै आन्दोलनको दर्शन होइन । हामी महाविपत्ति सिर्जना गर्ने, महाविपत्तिको ब्यालहोल (कालोप्वाल) मा फसेर आन्दोलनलाई सिध्याउने त्यस्ता भुलभुल्यैमा फस्दैनौं । हामी सफल बन्नेगरी, समाज परिवर्तन गर्नेगरी, सार्थक हुनेगरी, परिणाममुखी आन्दोलन, सचेत, संगठित ढङ्गले अगाडि बढाउँछौं । हाम्रो त्यो नीति हो । यसर्थ हामीले अझै पूर्ण समानता प्राप्त हुने, महिलाले पूर्ण सुरक्षा र पूर्ण सम्मान प्राप्त गर्ने अथवा मातृत्व र आमाको हिसाबले प्राप्त गर्ने सम्मान समेत प्राप्त गर्ने स्थिति प्राप्त गर्नका निम्ति हामी अगाडि बढ्नुपर्छ ।

म यहाँहरूलाई भन्न चाहन्छु, नेकपा (एमाले) यस्ता कुराहरूमा बहुतै स्पस्ट छ र यस्ता कुराहरूमा नीति निर्माण गर्ने कुरादेखि लिएर विभिन्न क्षेत्रका सामाजिक न्याय समानताका आन्दोलन हुन्, राष्ट्रियताका आन्दोलन हुन्, सामाजिक क्षेत्रका आन्दोलन हुन्, सुशासनका सन्दर्भका आन्दोलन हुन्, विकासका अभियान हुन् अथवा अरु  जागरणका आन्दोलन हुन्, वातावरणीय पक्षहरू होउन्, मानवअधिकारका प्रश्नहरू होउन्, यी सबै कुरामा नेकपा (एमाले) सुविचारित ढङ्गले सही नीतिहरूमा छ र सही नीतिहरूका साथ अगाडि बढेको छ । महिला आन्दोलन नेकपा (एमाले) को समग्र सामाजिक जागरण, परिवर्तन र रूपान्तरणको आन्दोलनको एउटा महत्वपूर्ण र धेरै महत्वपूर्ण आन्दोलन हो । खासगरी सामाजिक जागरण र रूपान्तरणको सन्दर्भमा महिला जागरण र रूपान्तरणको आन्दोलन, यस स्थितिमा रूपान्तरणको आन्दोलन अत्यन्त महत्वपूर्ण आन्दोलन हो । यसमा स्पस्ट छ र तद्अनुसार अगाडि बढेको छ । महिला आन्दोलनलाई सफलतापूर्वक अगाडि बढाउन नेकपा (एमाले) को सदैव आवश्यक यथोचित ध्यान जान्छ नै ।

गठबन्धनले प्रतिपक्षी बिनाको संसद  चाहन्छ 
म अहिलेको सन्दर्भमा जान चाहन्छु– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैदिन एकैचोटी हुँदैछ । त्यसतर्फ सहभागी हुन अगाडि बढिरहेका छौं । यसका लागि आज देश र दुनियाँले हेरिरहेको छ कि वास्तवमा नेपालमा अब मंसिरमा ४ गतेपछि नेपालको भविष्य कस्तो हुन्छ ? मंसिर ४ गतेपछि पनि अहिलेकै जस्तै यस्तै बेथिति, अहिलेकै जस्तो असंवैधानिकता, राज्यका सबै अङ्गहरूको बेहाल यी कुराहरू जारी हुने हो कि ? कानूनीराज होइन, अराजकता, बलको राज, बलमिच्याइँको राज, संसदलाई एउटा कर्मकाण्ड पुर्याउने थलोको रूपमा मात्रै राख्ने र मनपरी गर्ने, जनताका समस्या त्यहाँ उठ्न र छलफल हुन पनि नपाउने, बहुमत छँदैछ, त्यति भएपछि भयो भन्ने यो गठबन्धनले प्रतिपक्षी बिनाको संसद खोजिरहेको छ । प्रतिपक्ष बहुदलीय व्यवस्थामा हुन्छ । तर प्रतिपक्षलाई अहिलेको गठबन्धनले अस्वीकार गर्छ । प्रतिपक्षलाई छलफलमा सहभागी हुन दिँदैन । विदेश जानुभन्दा अगाडि पहिले पहिले प्रधानमन्त्रीले प्रतिपक्षसँग र राष्ट्रिय बहस चलाउँथे । अहिले प्रधानमन्त्री झण्डै–झण्डै गोप्य ढङ्गले अचानक विदेश जान्छन्, साँठगाँठ गर्छन्, के गर्छन् थाहा हुँदैन, फर्किन्छन् । पछि नीति कार्यक्रममा देखिन्छ, कहाँ भयो समझदारी ? थाहा छैन । सो समझदारी अनुसार सबै कुरा हुन्छ भन्ने कुरा नीति कार्यक्रममा उल्लेख भएको देखिन्छ । प्रतिपक्षलाई राष्ट्रिय महत्वका, अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नहरूमा जानकारी दिने होइन, गोप्य पत्राचार हुन्छ, मुलुकलाई ढाँटिन्छ, जनतालाई ढाँटिन्छ । सत्तास्वार्थलाई केन्द्रभागमा राखेर ढाँटेर विदेशीसँग देशको सम्पत्ति, सम्पदाको बारेमा लेनदेन हुन्छ । योभन्दा बिडम्वना के हुन्छ ? आज स्थिति त्यस्तो छ । आज कानूनको राज होइन, बहुमतका नाममा असहिष्णु, अराजक, स्वेच्छाचारी राज गरेका छन् । बहुमत जनताले दिएको होइन, टुक्रे पार्टीहरू जोडेर, टालाटुली जोडेर बनाएको एउटा कठपुतली, अदालतले जडान गरिदिएको परमादेशी सरकारले  चुनाव घोषणा गर्यो । चुनावमा देश गइसक्यो, उम्मेदवार छनोटको काम धमाधम भइरहेको छ । सबै पार्टीलाई हतार–हतारको अवस्था छ । यस्तो बेला बिना छलफल, बिना सल्लाह, दूरगामी महत्वका ऐनहरू जसले दूरगामी हिसाबले देशको भविष्य कस्तो हुने भन्ने कुराको अर्थ राख्छ, त्यस्ता ऐनहरू, त्यस्ता कानूनहरू यतिबेला छलफल हुन नदिई, के लेखेको छ हेर्न पनि नदिइकन पास गर्ने, राष्ट्रपतिले, राष्ट्रपतिजस्तो सम्मानित संस्थाले यो–यो कुरा भएन छ, एकपटक विचार गर्नुस् भन्दा संसदमा आइनपुग्दै संविधानले नचिनेका, अनधिकृत व्यक्तिहरू बाहिर बसेर राष्ट्रपतिले विचार गर्न पठाए हामीसँग बहुमत छ, किन विचार गर्ने भन्ने दम्भ देखाएका छन् ।

बहुमतका नाममा दम्भी, अहङ्कारी, हेपाह, मिचाहा, असंवैधानिक र गैरकानूनी शासन चलाइराखेका छन् । बजेट बनाउँदा निश्चित व्यापारिक घरानाका प्रतिनिधिहरू राखेर करका दर उनको आवश्यकता र मागअनुसार निर्धारण गरिदिने काम भएको छ । त्यो कुराको छानविन हुने भएपछि सीसी क्यामेराको फुटेज डिलिट गर्ने, तार चुडाउने, सेट लुकाउने, कल डिटेल हेर्न पाइँदैन भन्ने जस्ता काम भए ।  छानविन समिति उनीहरूको बहुमत राखेर बनाउने र बहुमतले भन्ने कल डिटेल हेर्न पाइँदैन, योभन्दा बढी खोज्न पाइँदैन भन्ने । यस्तो बल मिच्याँइको तथाकथित छानविन र कहीँ मान्छे नभेटाएको जस्तै उही आरोपित व्यक्ति पुनः मन्त्री ! अलिकति त शरम हुनुपर्छ ।

जनताले नचुनेको मान्छेले डोजर चलाउँदै 
अहिले जनताले नचिनेको, जनताले नछानेको, नचुनेको, जनताले अधिकार नदिएको, शासन गर्ने कुनै अधिकार नपाएको मान्छे मन्त्री भएर जनप्रतिनिधिहरू माथि डोजर चलाउने काम गरिराखेको छ । जनप्रतिनिधिहरू निरीह भएर बस्नुपर्ने । जसलाई जनताले सरकार चलाउने अभिभारा दिएर पठाएका थिए, त्यसलाई अदालतबाट हटाएर एउटा अनिर्वाचित मान्छेले  जनप्रतिनिधिहरू माथि डोजर चलाउने !? यो त संवैधानिक डोजर हो, कानूनी डोजर हो, संसदीय मर्यादा विपरीतको डोजर हो । यसलाई बुलडोजर चलाएको भन्छन् । बुलडोजर चलाएर गठबन्धनको निर्देश र इशारामा संसदमाथि संवैधानिक डोजर चलाउने यस्ता तत्वहरूबाट देश धकेलिइरहेको छ । राष्ट्रियता कमजोर छ । छिमेक सम्बन्ध बिगारिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिगारिएको छ । देशको भविष्य के हुने हो ? स्थिति अप्ठ्यारो छ । लोकतन्त्रको धज्जी उडाइएको छ । जनप्रतिनिधि संस्था निरीह, निकम्मा बनाइएको छ, केही काम गर्न दिएको छैन । संसद वास्तवमा छलफल गर्न समेत नपाएर रोदन गर्नुपर्ने । संसद जहाँ सांसदहरूले विचार व्यक्त गर्न पाउनुपर्थ्यो, रोदनको थलो बनेको छ । प्रतिपक्ष जो देशको सबैभन्दा ठूलो पार्टी हो । संसदमा दोस्रो पार्टीभन्दा डेढा ठूलो छ । त्यस्तो पार्टीले छलफलसम्म गर्न नपाउने खालको स्थिति छ । त्यस स्थितिबाट देश गुज्रिएको छ । विकास निर्माण ठप्प छ ।

गठबन्धनले जनादेश पायो हो भने के  गर्ला ?
असुरक्षा बढेको छ । त्रिभुवन विश्वविद्यालयमा सधैँ ताला लगाइन्छ । प्रहरी पछिपछि ताला लगाउनेहरू अगाडि अगाडि । त्यहाँ पढ्ने विद्यार्थी होइनन्, आन्दोलन गर्ने नाममा बाहिरबाट भाडाका विद्यार्थी ‘सो कल्ड विद्यार्थी’ झिकाएर ताला लगाउने, फोड्ने, शिक्षकलाई धुलोे पारेर कुट्ने काम भएको छ । अहिले त्यो कुटेको पनि नेकपा एमालेले नक्कली घाइते खडा गरेको भन्ने, निवेदन दिएर मुद्दा फिर्ता गरिपाउँ भन्ने लज्जास्पद कुरा, नक्कली घाइते अरे ! जो मान्छे छ महिना उठ्न नसक्ने स्थितिमा घाइते बनाइएको छ, अङ्गभङ्ग गरिएको छ, अहिलेसम्म वैशाखी नटेकी हिँड्न सक्ने अवस्था छैन । त्यस ठाउँमा गठबन्धनको मूलघटक नेपाली काँग्रेसको कार्यालयले निवेदन हाल्छ, यो मुद्दा नक्कली हो, प्राध्यापक कुटिएको भनिएको नक्कली घाइते खडा गरिएको हो र यो मुद्दा फिर्ता गरिपाउँ भनेर । त्यसपछि यो मुद्दा फिर्ता गर्नुपर्छ भनेर प्रहरीलाई दबाब दिइन्छ । यस कुरामा गृह मन्त्रालयको संलग्नता छ । महान्यायाधिवक्ताको कार्यालयको संलग्नता छ । जब सरकारी कार्यालयहरू आफ्नो शान्ति सुव्यवस्था र न्याय दिने कर्तव्यबाट विमुख हुन्छन् र अत्याचारको पक्षपोषण गर्छन्, बेथिति बढाउन खोज्छन्, समाज कस्तो हुन्छ ? कोही पनि गुण्डाहरूसँग बोल्न नसक्ने स्थिति, समाजमा सिर्जना गरिन्छ । कस्तो हुन्छ अवस्था ? आज देश त्यस्तो अवस्थाबाट गुज्रिएको छ । अदालतबाट परमादेशका नाममा गठन हुँदा त यस्तो वितण्डा छ, अराजकता छ भने भोलि यस गठबन्धनले जनादेश पाउने हो भने यसले के गर्छ  ? यसले त देश बेच्छ । यसले देश लुटिरहेको छ, यसले देश लुट्ने कुरा अझ खुलेआम बनाउँछ । किनभने गठबन्धन छँदैछ, गठबन्धन बनाइदिनेहरू छँदैछन् ।

देश यस्तै हुने हो कि देशलाई लोकतान्त्रिक पाटोमा फर्काउने ? मंसीर ४ गतेले त्यो फैसला गर्नुपर्छ । देशको राष्ट्रियता जोगिने कि नजोगिने ? देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा हुने कि नहुने ? हामीले हाम्रो नक्सामा सामेल गरेको हाम्रो भू–भाग कायम हुने कि नहुने ? त्यो फिर्ता लिने कि नलिने ? हाम्रो भू–भाग अक्षुण रहने कि नरहने ? अखण्ड रहने कि नरहने ? प्रश्न यहाँनिर छ । गठबन्धन बोल्दैन किनभने उसको सत्ताभन्दा माथि केही पनि छैन । यो देशका निम्ति होइन, जनताका निम्ति होइन, आफ्ना निम्ति, आफ्ना परिवार, नातागोताका निम्ति, आफ्ना गुटका निम्ति, आफ्ना समूहका निम्ति छ । यस्तैमा देश चल्ने कि देश लोकतान्त्रिक बाटोमा फर्किने ? संविधानको रक्षा, सही ढङ्गले कार्यान्वयन हुने र आवश्यक परेको ठाउँमा संविधान परिमार्जन पनि गर्दै जाने ? आवश्यक पर्यो भने संविधान परिमार्जन पनि हुन्छ, संविधान परिवर्तनीय, संशोधनीय दस्तावेज नै हो । यो गर्दै जानुपर्ने हुन्छ ।

जन्मसिद्ध नागरिकता लिएका युवालाई वंशजको नागरिकता
विगत बर्षहरूमा जन्मसिद्ध नागरिकता लिएका ५/६ लाख युवाहरू अहिले वंशजका आधारमा नागरिकता पाउनका लागि पर्खिरहेका छन् । त्यो नागरिकता उनीहरूलाई उपलब्ध नगराएर अहिले नागरिकता सम्बन्धी विधेयक अनेक हिसाबले आवेश, उत्तेजनामा ल्याएर छलफल गर्न नदिएर, राष्ट्रपतिसँग एउटा इगो र टक्करको विषय बनाउन खोजेर, प्रतिपक्षसँग टक्करको विषय बनाउन खोजियो । म गठबन्धन सरकारलाई भन्न चाहन्छु – जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता सहज पाउनका निम्ति भोलि नै विधेयक ल्याउनुस्, २/४ दिनमा पास गर्दिऔं । संसदको  समय अझै बाँकी छ । एकहप्ताभित्र विधेयक सजिलैसँग पास हुन्छ, ल्याउनुस् । म फेरि भन्दै छु, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकताको प्रमाण पत्र पाउनुपर्छ । सत्ताधारी गठबन्धनलाई म भन्न चाहन्छु– तपाईंहरू अनेक प्रकारका खेल खेलेर नागरिकताबाट नागरिकलाई बञ्चित नगर्नुस् । भोलि तुरुन्त विधेयक ल्याउनुस्, प्रतिपक्षले यसमा साथ दिन्छ, सघाउँछ अथवा प्रतिपक्षले प्राइभेट बिलको रूपमा ल्याउँछ, तपाईंहरू सहयोग गर्नुस् । एक हप्ताभित्र पारित गरौं । लाखौं नागरिको समस्या समाधान हुन्छ । यो समस्या समाधान गर्न सत्ता गठबन्धनलाई म तयार रहन भन्न चाहन्छु, चुनौती भन्न चाहन्छु । नागरिकताको पीडामा यत्रो युवाहरू तड्पिइरहेका छन् । तपाईंहरू यसलाई खेलको विषय नबनाउनुस्, तमासाको विषय नबनाउनुस् । आज २२ गते मैले तपाईंहरूलाई भनेको छु । अहिले तपाईंहरूले अनेक विवादास्पद कुराहरू बनाएर यसलाई असफल बनाइराख्नुभएको छ । यसलाई छुट्याउँ । अहिले तत्कालको जरुरी कुरा भनेको जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने हो । यो व्यवस्था अहिले तत्काल गरौं । कानून चाहिएको छ, कानून अहिले तत्काल ल्याउँ । नागरिकताको सम्बन्धमा अहिलेको गठबन्धनले अन्योल खडा गर्न खोजेको छ । जालझेल, षडयन्त्र गर्ने उहाँहरूको काम नै हो । उहाँहरू यस्ता जालझेल गरिरहनुहुन्छ ।

म आम दिदीबहिनीहरूलाई यो जालझेलको भ्रममा नपर्न र नागरिकता सम्बन्धी विधेयकलाई कमसेकम जुन बुँदाबाट अहिले नागरिकहरू पीडित भइरहेका छन् । त्यो पीडाबाट नागरिकलाई मुक्त गरौं । जालझेल नगरौं । तपाईंहरू १४ महिनासम्म कानमा तेल हालेर बस्ने, अहिले आएर विवाद खडा गर्ने, अहिले आएर अनेक प्रकारका सवालहरू उठाइदिने, अहिले आएर विधेयकमा अरु कुराहरू भित्र्याइदिने, अहिले त्यस खालका कामहरू नगर्नुस् । त्यो मात्रै कुरा ल्याउनुस्, त्यो समस्याको कमसेकम समय छँदै समाधान गरौं । त्यो पास गरौं । म भन्न चाहन्छु तर उहाँहरू पास गर्न मान्नु हुन्न, त्यसरी पास गर्न उहाँहरू मान्नु हुन्न । उहाँहरूलाई राजनीति गर्नुछ । जनतालाई अल्मल्याएर केही भोट तान्न सकिन्छ कि भन्ने पार्नु छ ।
पहिले अध्यादेशबाट मैले ल्याएको थिइनँ ? उहाँहरू हो अदालतमा गएर मुद्दा हालेर रोकाउने । यो कुरा उहाँहरूले मुद्दा हालेर रोकाएको होइन ? अहिले पानी माथिको ओभानो हुनुहुन्छ । आगामी निर्वाचनमा महिला निर्णायक
उहाँहरू षडयन्त्रको आहालमा, फोहोरी आहालमा डुब्नु भएको छ । देश यहीँ छलछाम, कपट यसैमा राख्ने कि अथवा कस्तोमा राख्ने ? देशको अर्थतन्त्र ध्वस्त हुँदैछ, यसलाई बचाउने कि नबचाउने भन्ने कुराको फैसला, राष्ट्रियताको सवालदेखि राजनीति र प्रशासनयन्त्रको, राज्य सञ्चालनको सवालदेखि राज्यका अङ्गहरूको सवालदेखि सबै सवालहरूको समाधान मंसिर ४ गतेले दिनुपर्छ । त्यसका लागि हामीले मंसिर ४ गतेको दिन फैसला गर्नुपर्ने छ । यो फैसला पुरुषले भन्दा बढी महिलाहरूले गर्दैछन्, नारीहरूले गर्दैछन् । धेरै युवा बाहिर होलान्, आउन नसक्लान्, तत्काल भोटमा सरिक हुन नसक्लान्, तर अधिकांश महिला दिदीबहिनीहरू देशभित्रै हुनुहुन्छ । केही केही मात्रै बाहिर जानुभएको होला । महिला दिदीबहिनीहरू जब जाग्नु हुन्छ, जब सचेत हुनुहुन्छ, महिला दिदीबहिनीहरूले जब अग्रसरता लिनु हुन्छ, राजनीतिको फैसला गर्ने कुरामा, म भन्न चाहन्छु देश त्यसै बाटोमा जान्छ, जुन बाटोमा महिला दिदीबहिनीहरूले लान खोज्नुहुन्छ/चाहनुहुन्छ ।
अब हामीले अधिकार पाउनुपर्छ भनेर हामी लड्यौं । अधिकार मात्रै होइन, अहिले हामी फैसला आफैँ गर्न पाउने अवस्थामा छौं । महिला दिदीबहिनीहरू सबैभन्दा बढी फैसला गर्न पाउने अवस्थामा तपाईंहरू हुनुहुन्छ किनभने सर्वाधिक महिलाको भोट खस्ने छ । यस पटक मेरो विचारमा कमसेकम ५५देखि ६० प्रतिशत भोट महिलाको खस्ला, ४० देखि ४५ प्रतिशत भोट पुरुषको खस्ला । ५५/६० प्रतिशत भोट खसाउने महिलाहरूले जे फैसला गर्नुहुन्छ, देशको फैसला त्यही हुन्छ । त्यसकारण म महिला दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु र अखिल नेपाल महिला संघलाई  आग्रह गर्न चाहन्छु, तपाईंहरूले यस अभियानलाई यसै रूपमा बहुतै प्रभावकारी ढङ्गले देशव्यापी रूपमा लिएर जानुपर्छ । तपाईंहरूको हातमा छ फैसला गर्ने/गराउने अवसर । यसको तपाईंहरूले भरपुर र सम्पूर्ण रूपमा सदुपयोग गर्नुपर्छ ।

अबकोे निर्वाचन वास्तवमा देशको भविष्य, भाग्य फैसला गर्ने निर्वाचन हो । अबको निर्वाचनपछि कस्तो सरकार बन्छ, कुन पार्टीको सरकार बन्छ, कुनै गन्तव्य नै नभएको गठबन्धनको सरकार हो कि ? सोरसार पारेर झ्वाम पार्नु बाहेक कुनै गन्तव्य छैन गठबन्धनका दलहरूको । यस्ताहरूको सरकार बनाउने कि देश बनाउने सङ्कल्पमा दृढ रहेको नेकपा (एमाले) को ? देश बनाउने सङ्कल्पका साथ अगाडि बढेको पार्टीको सरकार बनाएर देश आधुनिक, विकसित समतामूलक बनाउने कि नबनाउने भन्ने कुरा हो । यी चिजहरूको फैसला गर्ने बेला मंसिर ४ गते छ । यसका निम्ति यहाँहरूको संगठन देशका कुना–कुनामा मात्रै होइन, घर–घरमा, हरेक टोलमा संगठन, हरेक घरमा सदस्यको अभियानका साथ यहाँहरू यस निर्वाचनमा कुनाकाप्चासम्म पुग्नुपर्छ ।
त्यसैगरी युवा, विद्यार्थी, खेलाडीहरूका संगठनहरू पनि यसरी जानसक्छन् । किसानका संगठनहरू जान सक्छन् । अरु विभिन्नका आफ्ना क्षेत्रहरू जहाँ–जहाँ पुग्न सकिन्छ, त्यहाँ– त्यहाँ संगठन जान जरुरी छ । महिला दिदीबहिनीहरूले आन्दोलनमा मात्रै भूमिका निर्वाह गर्नुभएको होइन, विकासका सन्दर्भमा महिला दिदीबहिनीहरूले निर्वाह गर्नुुभएको भूमिका, महिला दिदीबहिनीहरूको पार्टीप्रतिको निष्ठा, पार्टीको पक्षमा दृढताका साथ उभिने कुरा, पार्टीका नीतिहरूप्रति निष्ठाको कुरा, पार्टीका नीतिहरूलाई अवलम्बन गर्ने कुरा, पार्टीका नीतिहरूको प्रचार गर्ने कुरामा विश्वास गरेर, त्यसलाई कार्यान्वयन गर्ने कुरा र पार्टीको नीति निर्देशनमा रहेर संगठनलाई, आन्दोलनलाई मजबुत बनाउँदै अगाडि बढाउने कुरामा निर्वाह गर्नुभएको भूमिकाको म प्रशंसा गर्न चाहन्छु ।
यथार्थमा भन्दा पुरुष दाजुभाइहरू भन्दा महिलाहरू अलिक बढी नै पार्टीप्रति निष्ठामा अगाडि देखिनुभयो । पार्टी ध्वस्त पार्ने गतबर्षको षडयन्त्रबाट पार्टी बचाउने काममा सबैभन्दा बढी सक्रिय ढङ्गले महिला, युवा/विद्यार्थीहरूको भूमिका अग्र स्थानमा रह्यो । महिलाहरूको भूमिका साँच्चै नै अग्रस्थानमा रह्यो । युवा विद्यार्थीहरूको भूमिका पनि अग्रस्थानमै रह्यो । म यी कुराहरूको प्रशंसा गर्न चाहन्छु ।

नारी शक्ति सचेत ढङ्गले प्रकट हुनुपर्छ
अब अरु धेरै कुरा भन्नु भन्दा पनि म जुममा जोडिनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई भन्न चाहन्छु, यतिबेला असन्तुष्टि व्यक्त गर्ने बेला होइन । यतिबेला मैले पाएँ, मैले पाइनँ भन्ने भन्दा हामी साझा उत्तरदायित्वमा, साझा कर्तव्यमा, साझा अभिभारा बहन गराइमा, चुनौतीहरूको संयुक्त र साझा ढङ्गले सामना गर्ने कुरामा कृतसङ्कल्पित छौं । हामी हाम्रा अगाडिका चुनौतीहरूको संयुक्त रूपमा सामना गरिरहेका छौं । सिङ्गो पार्टी र पार्टीसँग आबद्ध, सम्बद्ध, निकटस्थ विभिन्न जनवर्गीय, पेशागत, सामुदायिक अरु विभिन्न प्रकारका संगठनहरू यी सबै संगठनहरूको काँधमा रहेको यति बेलाको अभिभारा हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने यस अभियानलाई सफल पार्नु हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हामीले आफ्नो गन्तव्य बनाएका छौं । त्यो गन्तव्यमा हामी पुग्नु छ, त्यो गन्तव्यमा पुग्ने निर्णायक खुड्किलो यो मंसिर ४ गतेको निर्वाचन हो । मंसिर ४ गतेको निर्वाचनमा हामी सफल हुन सक्यौं भने हाम्रो गन्तव्यतर्फको निर्णायक यात्रा त्यहाँबाट प्रारम्भ हुन्छ । यस अघि परिणाममा हामीले ठूला उपलब्धिहरू हासिल गरेका छौं, ठूला सफलताहरू हासिल गरेका छौं । हाम्रो वैचारिक श्रेष्ठता, व्यवहारिक उत्कृष्टता, व्यावहारिक क्षमता, हाम्रो कार्यक्षमता, हाम्रो उत्कृष्ट कार्यशैली यी सबै कुरा हामीले प्रमाणित गरिसकेका छौं । त्यसैकारण हामीलाई यत्रो षडयन्त्रका साथ घेराबन्दीमा पार्नुपर्ने र सरकार बदल्ने, फेर्ने षडयन्त्र भए ।  जुन काम अदालतको हुँदै होइन । हाम्रा विरोधीहरू अदालतको प्रयोग गर्नुपर्ने ठाउँमा किन पुगे ? यसकारण कि अरु कुनै उपाय उनीहरूसँग रहेन । जनताले उनीहरूलाई पत्याएनन् । संसदबाट उनीहरू सक्ने अवस्थामा भएनन् । त्यसकारण पार्टी भित्रैबाट सधैँ विग्रह पैदा गर्ने अत्यन्तै दुःखलाग्दा क्रियाकलापहरू भए । तर, त्यसका पछाडिका कारणहरूमा म अहिले जान चाहन्नँ । पटक पटक पार्टी विभाजन गर्ने काम भए । त्यसमा हामीले सभामुखकै भूमिका देख्यौं, निर्वाचन आयोगको भूमिका देख्यौं, अदालतको भूमिका देख्यौं,  गएको निर्वाचनमा प्रहरी प्रशासन सञ्चालन गरेको गृह मन्त्रालयको नाङ्गो नाच देख्यौं । यी सबै कुराले हाम्रो सामथ्र्य प्रकट भएको छ । हाम्रो हैसियत प्रकट भएको छ । यसर्थ यसलाई उठ्न नदिनका लागि एउटा साझा प्रयास चलिराखेका छन् । यसलाई हामीले एकमुष्ठ पराजित गर्नुपर्ने छ । यो साधारण लडाइँ होइन, यो सामान्य लडाइँ होइन । यति बेला नारी शक्ति सचेत ढङ्गले प्रकट हुनैपर्ने छ । यहाँहरूको संगठन मार्फत, अखिल नेपाल महिला संघ मार्फत यो शक्तिलाई सचेत, संगठित र सक्रिय बनाउनुपर्छ । सही मार्गमा संगठित ढङ्गले सक्रिय बनाउने काम यस संगठनको काँधमा रहेको छ । महिला जगत्लाई सचेत बनाउने, संगठित बनाउने र उद्देश्यमा सक्रिय बनाउने । हामीले हाम्रो गन्तव्य तोकेका छौं, समाजवादको ध्येय भनेको त्यही हो–‘समृद्ध नेपाल, सुखी नेपाली’ । त्यस ध्येयमा पुग्नका लागि हामी अगाडि बढ्ने छौं । यस काममा यहाँहरूलाई सफलता मिलोस् । बैठक सफलतापूर्वक सम्पन्न होस् । तपाईंहरूको उद्देश्य सफलतासम्म पुर्याओस्, तपाईंहरूका कार्ययोजनाहरू तय गरोस् भन्ने शुभकामना पनि भन्छु । मलाई यहाँहरूले यस कार्यक्रममा बोलाउनु भयो र केही विचारहरू राख्ने मौका दिनुभयो । त्यसका लागि यहाँहरूलाई म धन्यवाद भन्न चाहन्छु । धन्यवाद !
(नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले २०७९ भदौ २२ गते अखिल नेपाल महिला संघको बैठकलाई गर्नुभएको भर्चुअल सम्बोधनको पूर्णपाठ)

Nabintech