६ जेष्ठ २०८१, आईतवार
कुखुरा फार्ममा बाढी पस्दा करिब १३ लाख क्षति

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७९, शनिबार १३:४९

काभ्रे :  पनौती नगरपालिका–९ सुन्थान, महादेवस्थानमा रहेको कुखुरा फार्ममा बाढी पस्दा करिब १३ लाख बराबरको क्षति भएको छ। बिहीबार दिउँसो दाजुभाई एकीकृत बहुउद्देश्यीय फार्म नजिकै रहेको खोल्सामा आएको बाढी फार्ममा पसेको हो।

बाढीका कारण ३ सय कुखुरा मरेका छन्। यस्तै कुखुराका लागि ल्याइएको दाना र भुस पनि काम नलाग्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका २ जना सहित ३ जनाको संयुक्त लगानीमा फर्म संचालन गरिएको थियो।

उक्त फार्ममा १३ सय ६३ वटा लेयर्स जातका कुखुरा थिए। चिसोका कारण बाँकी कुखुरा पनि बाच्ने सम्भावना कम रहेको फार्म संचालक कृष्ण बहादुर बस्नेतले जानकारी दिए।

अण्डा बेच्ने उद्देश्यले लेयर्स कुखुरा पाल्दै आएको उक्त फार्ममा दैनिक ११ सय अण्डा उत्पादन हुन्थ्यो।

६ महिनापछि गत महिनाबाट मात्रै अण्डा उत्पादन सुरु भएको थियो। अब आम्दानी गर्ने बेलामा बाढीले सखाप पारेको उनीहरूको गुनासो छ। दोलखाको गौरी शंकर गाउँपालिका जुगुका तीन जना कृष्ण बहादुर बस्नेत, बालकुमार बस्नेत र किशोर बस्नेतले पनौतीमा वार्षिक ४० हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर व्यवसायिक कृषि सुरु गरेका थिए। एक वर्षअघि करिव ३५ लाख लागतमा उक्त फर्म खोलिएको थियो।

कृष्ण बहादुर र बालकुमार वैदेशिक रोजगारका क्रममा मलेसियामा पुगेका थिए।  नेपालमा नै केहि गर्ने योजनासहित फर्किएका उनीहरूलाई महामारी र प्राकृतिक प्रकोपले निरुत्साहित बनाएको छ। उक्त फार्ममा एक महिना अघि मात्रै अफ्रिकन स्वाइन फिबरका कारण २ दिनको अन्तरालमा ९ वटा बंगुर मरेका थिए।

 

Nabintech