• १८ आश्विन २०७९, मंगलवार
आत्महत्या रोकथाम दिवस : प्रभावितले दिएका पूर्व–सङ्केतको ख्याल नगरे क्षति

  • नारायण ढुङ्गाना

  • २५ भाद्र २०७९, शनिबार १६:२२

मानसिक समस्या एक प्रकारको गम्भीर प्रकृतिको सामाजिक समस्या हो भनेर स्वीकार नगरिँदा त्यसले आत्महत्यासम्मको जोखिम बढाइरहेको छ । विज्ञका अनुसार मानिसक समस्या बढ्नुमा प्रथमतः घर, परिवार तथा समाज नै कारक बनेको हुन्छ । तर यसबारे धेरैले बुझेका हुँदैनन् ।

मनोविद्हरू त्यही मनोसामाजिक समस्या बढ्दै गएर मानिस पछि आत्महत्यासम्म पुग्ने बताउँछन् । प्रभावित व्यक्तिले दिने गरेका सङ्केतलाई उनका परिवार, समाज तथा साथीभाइले बेलैमा ध्यान दिनसके धेरै घटना रोक्न सकिने उहाँहरूको भनाइ छ । आत्महत्या रोकथामका सन्दर्भमा गरेको अध्ययनले त्यस्ता व्यक्तिले कोही न कोहीलाई सङ्केत छाडेको हुन्छ । त्यसतर्फ ध्यान पुग्यो भने रोक्न सकिन्छ । तर हाम्रो समाजमा उसले त्यसै भनेको होला, जिस्क्याएको होला भनेर उसका कुरामा ख्याल नगर्ने अवस्था कायमै छ ।

“मानसिक समस्या भएका मान्छेले कोही न कोहीलाई पूर्वसङ्केत दिएको हुन्छ, तर त्यसरी समस्यामा परेका मान्छेको भनाइलाई ख्याल गरिँदैन, अनि गम्भीर दुर्घटना हुनपुग्छ, त्यसतर्फ चेतना जगाउनु जरुरी छ”, मनोविमर्शकर्ता सोनु शर्मा भन्नुहुन्छ ।

विश्वमा झैँ नेपालमा पनि बर्सेनि आत्महत्याका घटना बढ्दै गएका छन् । आत्महत्या रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)सँगको सहकार्यमा हरेक वर्ष सेप्टेम्बर १० का दिन (आज) विश्व आत्महत्या रोकथाम दिवस मनाइने गरिएको छ । सन् २००३ देखि यो दिवस मनाउन थालिएको हो ।

दिवसका सन्दर्भमा ‘द स्कुल अफ साइकोलोजी नेपाल’का अध्यक्ष तथा मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना मानसिक समस्यामा परेका व्यक्तिको विषयमा गम्भीरता देखाउन जरुरी छ भन्नुहुन्छ । उहाँ पछिल्लो समयमा आत्महत्या रोकथाममा बहस सुरु हुनुलाई सकारात्मकरूपमा लिनुहुन्छ । “विगतमा यसबारे चर्चा नै हुँदैनथ्यो, जति चर्चा बढी हुन्छ, विषय उठ्दै जान्छ र रोकथाममा सहयोग पुग्छ, अहिले त्यस्तै बहसको शृङ्खला बढेको छ, आशा गरौँ आगामी दिनमा आत्महत्याका घटना न्यूनीकरण हुँदै जानेछन्”, डा ठगुन्नाले भन्नुभयो ।

कानुनमा समेत केही सुधार गर्न जरुरी रहेको उहाँको भनाइ छ । नेपालको कानुनमा मानसिक समस्या भएकालाई कुनै पनि सरकारी पदमा योग्य नहुने भनेर उल्लेख छ । मानसिक समस्या भएका व्यक्ति परीक्षामा सहभागी हुनै नसक्ने तथ्य हुँदाहुँदै त्यो कुरा कानुनमा लेख्न आवश्यक नरहेको उहाँको तर्क छ ।

“त्यसरी कानुनमा नै उल्लेख गर्दा मानसिक रोग गम्भीर अपराध पो रहेछ भन्ने मानिसमा भ्रम सिर्जना हुनसक्ने र पछि त्यही कुराले आत्महत्या दुरुत्साहन गर्नसक्ने हुन्छ”, उहाँले भन्नुभयो । उहाँले यसको रोकथामको महत्वपूर्ण माध्यम (थ्रिसी) कनेक्ट, कम्युनिकेशन र केयर नै हो भन्नुभयो ।

भक्तपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक तुलसीराम घेमोसुले आफैँले थाहा पाएका केही घटनाबारे सुनाउनुभयो । उहाँका अनुसार बुवाआमा गुमाएका एक व्यक्ति दाजुभाउजुसँग बस्ने गरेका थिए । झण्डै ३०–४० वर्षका उनको बिहे भएको थिएन । विस्तारै डिप्रेसनमा गए । बिहे नभएकै कारण उनले गम्भीर निर्णय गर्न पुगे ।

चिकित्सा शिक्षा (एमबिबीएस) गर्न नसक्दा, विवाह गरेका केटाकेटीको आर्थिक अवस्था नमिल्दा पनि घटना घटेको सुनाउँदै उहाँले एकपटक असफल हुँदैमा केही हुन्न विकल्प धेरै छन् भनेर सम्झाउन सक्ने परिवार र समाजको खाँचो रहेको औँल्याउनुहुन्छ । हरेक व्यक्तिले आ–आफ्नो तहबाट आत्महत्या रोकथाममा भूमिका खेल्नसके पनि न्यूनीकरणमा सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

मनोविमर्शकर्ताको प्रशिक्षण लिनुभएकी जानकी गिरी प्रेममा धोका खाएर वा गरिबीमात्रै आत्महत्याको कारण नभएको बताउनुहुन्छ । स्टाफ नर्स गङ्गा केसी पूर्वजानकारी पाउँदापाउँदै पनि परिवारको उदासिनताले घटना घट्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “त्यो मान्छेले सङ्केत दिएको हुन्छ, तर उक्त सूचनाको ख्याल नगरिँदै आत्महत्याका घटना घटिरहेका हुन्छन् ।”

विश्वमा वार्षिक सात लाख बढीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । मृत्यु भएकामध्ये ५० वर्षभन्दा मुनिका मानिस ५८ प्रतिशत छन् । गृह मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ मा छ हजार सात सय ९२ जनाले आत्महत्या गरेका छन् । आव २०७७÷७८ मा सात हजार एक सय ४२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । विसं २०७२ देखि क्रमशः झण्डै पाँच सयको हाराहारीमा बढिरहेको आत्महत्याको तथ्याङ्क  ७०७८ मा आइपुग्दा केही कम देखिएको छ । कोभिड–१९ महामारीलगायतका कारणले उक्त वर्ष सो सङ्ख्या घटेको हुनसक्ने अनुमान गरिएको छ ।

मानसिक स्वास्थ्य समस्या बढाउने कारण

मनोविद्का अनुसार उदासिनता, रक्सी र अन्य लागुऔषधको दुरुपयोग, दीर्घरोग, मानसिक समस्या, समाजिक र व्यक्तिगत वा मनोसामाजिक समस्या (वैवाहिक जीवन आनन्दमय नहुनु, कसैसँग पनि राम्रो सम्बन्ध विकास नहुनु)लगायत कारणले मानिसमा मानसिक समस्या बढ्न सक्छ । यस्तै अचानक जागिर जानु, भावना पोख्ने ठाउँ वा व्यक्ति नहुनु, किशोर–किशोरी स्कुलमा फेल हुँदा, प्रेमी पे्रमीका बीचको बिछोड, आमा–बाबुबीचको सम्बन्ध राम्रो नभएको अवस्थामा हुने तनाव, निराशापन, असफलता, उत्सुकता, कतिपय व्यक्ति रिसको आवेगमा पनि मानसिक समस्यामा बढ्ने र त्यसले आत्महत्यासम्म पु¥याउन सक्ने अध्ययनले देखाएको छ ।

मनोसामजिक समस्या देखिएमा के गर्ने

कुनै पनि व्यक्तिमा मनोसामाजिक समस्या देखिएमा उनीहरुको कुरा ध्यान दिएर सुन्ने, उनीहरुले भनेका कुरालाई हैन होला भनेर अस्वीकार नगर्ने, तिमीलाई कसैले सुनेन भने तिम्रो कुरा सुन्न म तयार छु भनेर विश्वास दिलाउने गर्दा पनि समस्या घटाउन सकिने मनोविद्को भनाइ छ । यस्तै मानसिक स्वास्थ्य सचेतना बढाउने, लान्छना र विभेदका कारण मानिस खुलेर बोल्दैनन्, त्यसले समस्या नित्याउनसक्ने हुँदा सचेत गर्नुपर्छ ।

स्व–हेरचाहको विधि सिकाउने, दैनिकी व्यवस्थित गर्न लगाउने वा गर्ने, पर्याप्त सुत्ने र हाँस्ने, भित्रका कुरा अभिव्यक्त गर्न लगाउने, समाज, परिवार र साथीभाइबाट लान्छना लाग्ने गतिविधि गर्नुहुन्न, उनीहरूको कुरा सुन्न तयार हुनुपर्छ । तब उनीहरूमा मानसिक तनाव घट्छ ।

सहजकर्ता उत्पादन

बर्सेनि बढ्दो क्रममा रहेको आत्महत्याका घटना रोकथामका गर्ने उद्देश्यले द स्कुल अफ साइकोलोजी नेपाल र साइकोडेक्स फाउण्डेशनले सहजकर्ता उत्पादन गर्दै आएको छ । उक्त संस्थाले विभिन्न तालिममा दीक्षित व्यक्तिलाई काठमाडौँमा एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरेको छ ।

आत्महत्या रोकथामको मानसिक स्वास्थ्य सचेतनाका लागि आत्महत्या रोकथाम सहजकर्ता तालिमको ४७औँ समूहबाट तालिमप्राप्त २४ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । उक्त तालिमबाट अहिलेसम्म एक हजार एक सय तीन सहजकर्ता उत्पादन भएका छन् । यस्तै मनोसामाजिक मनोविमर्श तालिमको छ महिने कोर्षबाट दीक्षित भएका ११ विद्यार्थीलाई पनि आजै प्रमाणपत्र वितरण गरिएको छ । अहिलेसम्म उक्त तालिमबाट दुई सय बढी व्यक्ति दीक्षित भइसकेका छन् । यस्ता प्रशिक्षणलाई नियमितरूपमा अघि बढाउँदै आत्महत्या रोकथाममा अभियान चलाउँदै आएको उक्त संस्थाले जनाएको छ । दिवसका सन्दर्भमा महिनाभर नै विभिन्न कार्यक्रम गर्न थालिएका छन् ।

Nabintech