१२ बैशाख २०८१, बुधबार
ऐना झ्यालको पुतली पछ्याउँदै बाल्यकालसम्म

  • मुक्ति पौडेल

  • २५ भाद्र २०७९, शनिबार १७:२१

काठमाडाैं : तपाईंलाई स्कुलको पहिलो दिन याद छ ? पहिलो स्कुल ड्रेसको गन्ध ? पहिलो किताबको गन्ध ? पहिलो गृहकार्य याद छ ? गृहकार्य नगर्दाको पहिलो सजाय ? पहिलो स्वाबासी ? तपाईंले हेरेको पहिलो फिल्म कुन हो ? अनि एकदमै हेर्न मन लागेर हेर्न नपाएको ? त्यो बेला मनपर्ने हिरो को थियो ? हिरोइनको थिइन् ? फिल्म हेरेर म पनि हिरो, हिरोइन बन्न पाएँ भन्ने कहिल्यै लाग्यो कि लागेन?

तपाईंको बाल्यकालको पहिलो मिल्ने साथी को थियो ? पहिलो झगडा कोसँग भएको थियो ? उ बलियो थियो कि तपाईं ? अनि झगडाको कारण के थियो ? कलम छोडेर मसी भर्ने पेनले कहिलेदेखि लेख्न थाल्नुभयो ? त्यसपछि डट्पेनले ? घरको काम कहिलेदेखि सघाउन थाल्नुभयो ? घरको कामले गर्दा कहिल्यै स्कुल छुट्यो ? आफूले लेखेको पहिलो सायरी अथवा कविता याद छ ? अनि ऐना झ्यालको पुतली हेर्नुभयो ?

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ऐना झ्यालको पुतलीले दर्शकबाट यति सकारात्मक प्रतिक्रिया पाएको छ कि फिल्म नहेरेकाहरूलाई शंका नै लाग्छ। फिल्म समीक्षक, लेखक, साहित्यकार तथा फिल्मकर्मीहरूले समेत यो फिल्म नेपाली फिल्म उद्योगको इतिहासमै सबैभन्दा उत्कृष्ट मध्ये एक रहेको बताएका छन्। थोरै समयका लागि भए पनि सबै दर्शकलाई आफ्ना आफ्ना बाल्यकालमा फर्काउन र धमिलाे भएका याद फेरि ताजा बनाउन फिल्म सफल रहेको प्रतिक्रिया उनीहरूले दिएका छन्।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको फिल्ममा वि.सं. २०५२ सालको पूर्वी पहाडी गाउँ ज्यामिरेको कथा भनिएको छ। फिल्ममा ज्यामिरे गाउँ भनेर तोकिए पनि नेपालका अधिकांश पहाडी गाउँमा बसोबास गर्ने हजारौँ परिवारसँग यो कथा ठ्याक्कै मेल खान सक्छ। फिल्ममा रेडियो चल्तीमा रहेको, गाउँमा एक, दुई वटा टिभी भित्रिएको, पैसा उठाएर फिल्म हेर्ने चलन रहेको समय देखाइएको छ तर कुनै पनि समय, स्थानमा जन्मे हुर्केको भए पनि फिल्म हेरिसकेपछि बाल्यकाल पार गरेर आएका सबैलाई केहीबेरको लागि उतै फर्काइदिन्छ।

वसन्त, वसन्तकी दिदी, आमा र उनीहरूको गरिबी फिल्मका मुख्य पात्र हुन्। दिदी र आमाको छायाँमा हुर्किरहेको चञ्चले र निर्दोष वसन्त, परिवारको सम्पूर्ण जिम्मेवारी बोकिरहेकी आमा तथा जिम्मेवारी, सपना र बाध्यतामा जेलिएकी विद्याको कथा फिल्ममा देखाइएको छ। वसन्तको दृष्टिबिन्दुबाट फिल्म अगाडि बढेको छ। जसकारण वसन्तलाई फिल्मको आँखा भन्न सकिन्छ भने आमालाई मेरुदण्ड र विद्यालाई फिल्मको मुटु मान्न सकिन्छ। अन्य पात्र र परिवेशले फिल्मलाई पूर्ण आकार दिएको छ।

ऐना झ्यालको पुतली वसन्तको हुर्किँदै गरेको बाल मस्तिष्कमा केन्द्रित छ। दर्शकले हेर्दा हेर्दै डेढ घण्टामा वसन्तले एउटा महत्त्वपूर्ण चरण पार गर्छ। दिदीको बिस्तारा, थाल, स्कुल ड्रेसमा पनि डाढ गर्ने वसन्त आफैँले थाहा नपाएको दिदीका लागि आफूभित्र रहेको प्रेम बुझ्न थाल्छ। उसले कविता त बुझ्दैन तर दिदीका लागि कविता के हो ? बुझ्छ। दिदीका लागि उसको प्रेम देखिने गरी बाहिर निस्किने बाटो खोज्छ।

फिल्मको क्लाइमेक्ससम्म आइपुग्दा वसन्तले एउटा खोलो तरेर किनारमा पुगे जस्तो लाग्छ। त्यहाँबाट पर अरु ठूला खोला, उकाला, ओराला, सजिला, अप्ठ्यारा बाटो बाँकी नै हुन सक्छन्। तर, त्यहाँसम्म आइपुग्दाको वसन्त र दर्शकले सुरुमा देखेको वसन्तबीच एउटा खोला तरेको अनुभव फरक हुन्छ। जसले गर्दा दर्शकलाई आफूहरूले तर्दै आएका खोलाहरू, उकाली, ओरालीहरू, थकाइ मारेका किनाराहरू, भञ्ज्याङ चौतारीहरू सम्झनामा आउन सक्छन्।

वसन्त र विद्या ती सबैको प्रतिनिधि पात्र हुन जसले बाल्यकाल पार गरेर आए, जो त्यो कालमा छन् र जो त्यहाँ पुग्न बाँकी छ। जसले गर्दा फिल्म एउटा उमेर समूह, एउटा स्थान विशेषको मात्र नभएर जहाँ पनि जहिले पनि जसले पनि आफ्नो कथा मान्न सक्ने खालको बनेको छ।​

आइसफल प्रोडक्सन, लोकल सिनेमा र अर्को फिल्म्सको सहकार्यमा बनेको फिल्मले यसअघि बुसानलगायत विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा भाग लिइसकेको छ। सामान्य कथामा बनेको फिल्मको पटकथा, निर्देशन, अभिनय, छायांकन सबै पक्षको तारिफ भैरहेको छ। फिल्ममा सिरु बिस्ट आमाको भूमिकामा देखिएकी छन् भने वसन्तको भूमिकामा दिनेश खत्री र विद्याको भूमिकामा कन्चन चिमरिया देखिएकी छन्। फिल्मका सम्पूर्ण बाल कलाकारहरूको यो पहिलो फिल्म हो।

Nabintech