८ जेष्ठ २०८१, मंगलवार
राजा घोषित भएपछि चार्ल्सले भने, ‘आमाको पथलाई अनुशरण गर्छु’

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७९, शनिबार १७:२३

एजेन्सी: राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ। बेलायतकाे सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नव नरेश घोषणा गरिएको हो।

त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो। घोषणा सभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए।

गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन्। शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्‍ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे।

राष्ट्रका नाममा सम्बोधन गर्दै चार्ल्सले भने, ‘मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु।’

Nabintech