१४ बैशाख २०८१, शुक्रबार
बाघको आक्रमणबाट बर्दियामा एकजनाको गयो ज्यान

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७९, सोमबार १५:४५

नेपालगञ्ज : बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले जनाए ।

आइतवार रातीसम्म घर नफर्केपछि उनका आफन्तले वन, प्रहरीलगायत ठाउँमा जानकारी गराएपछि खोजी कार्य भएको थियो । रात परेकाले घना जंगलमा खोजी हुन नसकेपछि सोमबार शरीरका केही अवयव, छाता, चप्पल फेला परेको हो ।

बर्दियासँगै जोडिएको खाता जैविक मार्गमा रहेको उक्त सामुदायिक वन घना भएकाले खोजी कार्यमा समस्या भएको खाता रेन्ज पोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले चरिचरण र अन्य प्रयोजनका लागि एक्लै वनमा नजानका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण वन्यजन्तुले आक्रमण गर्ने गरेको वनका कर्मचारी बताउँछन् ।

Nabintech