१४ बैशाख २०८१, शुक्रबार
कठै मेरो देश !

प्रभुको तजबिजमा चुच्चे नक्सालाई बिस्तारै फेरि बुच्चे नक्साले विस्थापन गरिंदैछ


  • पूर्णचन्द्र भुसाल

  • २८ भाद्र २०७९, मंगलवार ०९:०३

धान फुल खेल्ने बेला भइसक्यो, अझैसम्म युरिया मलको व्यवस्था छैन । भारत लगायतका देशमा पेट्रोलियम पदार्थको मूल्य पुरानै लयमा फर्कियो, तर हाम्रो देशमा एक पटक उकालो लागेपछि ओरालो झर्दैन । ग्यास, तेल लगायत सम्पूर्ण उपभोग्य वस्तुको मूल्यले आकाश माथ गरेको छ । लत्ताकपडा किनिसाधे छैन । दुक्ख बिमार हुँदा उपचार गर्न हस्पिटल छिर्नु सर्वसाधारणको लागि आकाशको फल आँखा तरी मर भने झैँ भएको छ ।

प्रभुको तजबिजमा चुच्चे नक्सालाई बिस्तारै फेरि बुच्चे नक्साले विस्थापन गरिंदैछ । तुइनबाट खसालेर आफ्नै नागरिक जयसिंह धामीको हत्या विदेशी सुरक्षाकर्मीद्वारा हुँदा जाबो एउटा कूटनीतिक नोट सम्म प्रेषण गर्न नसकेर यो सरकार थुरथुर काम्छ । विदेशी हेलिले नेपाली आकाशमा फन्को लगाउँदा यो सरकार आँखा र कान दुवै थुनेर कुना पस्छ ।

हुँदा हुँदा एउटा सार्वभौम देशका सत्तासीन पार्टीका शक्तिशाली भनाउँदा नेताहरू अर्को देशको राजधानीमा त्यो पनि उनैको रोहबरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पद विनियोजन गर्न दौडधुप गर्छन् ।

सत्ताका हर्ताकर्ताहरूकै आड र इसारामा सनातन हिन्दु धर्म माथि चौतर्फी प्रहार गरिएको छ । आफ्नो धर्मछाड़ा पश्चिमाका दलालद्वारा हाम्रा चाडपर्व, रीतिरिवाज, चालचलन र परम्परा विरुद्ध खुलेआम विष बमन हुँदा पनि पराईका घट्टमा लट्ठ छ सरकार ।

न्यायिक अङ्गहरूलाई सत्ताको मतियार बनाइएको छ । न्यायाधिसहरु बाहिरियाहरूका तजबिजमा न्यायालय भित्रै जिन्दाबाद र मुर्दावादको नारा घन्काउन पलेँटी कस्छन् । प्रहरी र प्रशासनलाई पङ्गु र पिछलग्गु बनाइएको छ । कमिसन र घुस खोरी दिन दुगुना र रात चौगुनाका दरले मौलाएको छ । नियामक निकायहरू हात्तीको देखाउने दाँत जस्ता भएका छन् ।

कोरोना महामारी अझैसम्म नियन्त्रणमा आएको छैन । डेंगीको प्रकोपले जनजीवन हायलकायल छ । हत्या र बलात्कार जस्ता सामाजिक दुष्कर्महरू मौलाएका छन् ।

दीर्घकालीन योजना अन्तर्गतका विकासशील बजेटहरू टोकरीमा फालेर भूरसी कर्ममा बजेटको दोहन गरिएको छ । बजेट निर्माणका बखत छली व्यापारीका एजेन्टलाई करको दर हेरफेर गर्न मन्त्रालयमा निम्ता गरिन्छ । सरकारकै अगुवाइमा सिसिटिभी फुटेज चकनाचुर पारिन्छ र बदमासहरूलाई जोगाइन्छ । जनतालाई हेरेको हेर्यै पारिन्छ ।

यही बिचमा इन्डो-प्यासिफिकको अभिन्न अङ्ग एमसीसी जस्तो राष्ट्रघाती सम्झौता अर्थ न बर्थको व्याख्यात्मक टिप्पणी नामक भ्रमको धुलो जनताको आँखामा छर्केर संसद्को बहुमतले पास गर्‍यो । एसपिपी जस्तो एमसिसिको पूरक सम्झौता ड्राफ्ट कुटिल तरिकाले कुनै पनि बेला सांसदद्वारा पास गर्ने गरी खल्तीभित्र थन्क्याइएको छ ।

हुँदा हुँदा सरकारद्वारा विदेशी नागरिकलाई ‘एक हातले सिन्दूर र अर्को हातले नागरिकता वा एक हातले कन्या र अर्को हातले नेपालको नागरिकता’ दिने “नेपालको नागरिकता संशोधन विधेयक २०७९” दुई दुईपटक संसदका दुवै सदनले सगर्व पास गरेर राष्ट्रपति कहाँ लालमोहर लगाउन फेरि सिफारिश गरिएको छ ।

सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसको भातृ सङ्गठन नेविसंघद्वारा विगत १० महिना देखि त्रिभुवन विश्व विद्यालयमा ताला ठोकेर पठनपाठन ठप्प पारिएको छ ।

हिजोआज त खुलेआम लाजै नमानी नेविसंघले राष्ट्रघाती नागरिकता विधेयकको पक्षमा नारा जुलुस, ढुंगामुढा, लाठीचार्ज र राष्ट्र प्रमुखको पुत्ला दहन गरेर आतङ्क मच्चाउन थालेको छ । सुरक्षाकर्मीहरू माथिको आदेशको अभावमा सरकार संरक्षित डाम्नाहरूको ढुंगामुढाको प्रहार थाप्न बाध्य हुन्छन् ।

भोलिको राजनीतिको मियो बन्न हानथाप गर्ने दलका यस्ता हलीहरूसँग जनताले यो भन्दा परिष्कृत आशा गर्नुको के नै अर्थ रह्यो र ! जस्तो आँफु उस्तै च्यापु भने झैँ कहीँ नभएको जात्रा हाँडी गाउँमा भयो ।

Nabintech