१३ बैशाख २०८१, बिहीबार
‘ऐना झ्यालको पुतली’काे बसन्त र सुजित बिडारी

  • मुक्ति पौडेल

  • ३० भाद्र २०७९, बिहीबार १०:२७

काठमाडाैं :​ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘ऐना झ्यालको पुतली’ स्क्रिनिङ भइसकेपछि आयोजक समितिका एक सदस्यले सुजित बिडारीलाई म्यासेज गर्दै भने, ‘फिल्म सकिएपछि एक जना महिलाले तिम्रो बारेमा सोध्दै थिइन्। भन्दै थिइन्, त्यो नेपालको मान्छेले मेरो कथा कसरी थाहा पायो? मेरै कथामा कसरी फिल्म बनायो?’

आफ्नै कथामा फिल्म बनाऊँ न त भनेर ‘ऐना झ्यालको पुतली’ बनाएका बिडारी पनि ‘हजारौँ किलोमिटर पर, अर्कै देशकी अर्कै भाषा बोल्ने महिलाले कसरी आफ्नो कथा भनिरहेकी छन्?’ भन्ने सोचमा परे। आफूले बनाएको फिल्म प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन हुनु, सिर्जनाको प्रशंसा हुनु खुशी हुने कारणहरू थिए। साथै फिल्ममा आफ्नो मात्रै नभएर धेरैको कथा समेटिएको रहेछ भन्ने कुराले पनि उनमा अचम्मको उर्जा थप्यो।

दुई वर्षअघि कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको र स्विट्जरल्याण्ड, बंगलादेश, अष्ट्रेलिया लगायत देशका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिई अवार्ड जित्न सफल फिल्मले गत शुक्रबारदेखि नियमित प्रदर्शन थालेको छ। चलचित्रकर्मी, सहित्यकार, समीक्षक, दर्शक सबैले ‘ऐना झ्यालको पुतली’लाई नेपाली फिल्म उद्योगकै लागि एउटा ठूलो उपलब्धि मानेका छन्। यतिवेला आफूले पाइरहेको माया अपेक्षा गरेको भन्दा कैयौँ गुणा बढी रहेको लेखक तथा निर्देशक बिडारी बताउँछन्। उनी भन्छन्, ‘धेरैले फिल्म मन पर्छ होला भन्ने त लागेको थियो तर फिल्मले यति धेरै मान्छेलाई जोड्ला, यति धेरै माया पाइएला भन्ने अपेक्षा गरेका थिएनौँ।’

चल्याे भने के? चलेन भने के?
त्यसो त सिर्जना दर्शक, श्रोता, पाठकसम्म पुर्‍याएपछि एउटा सर्जकको काम सकिनुपर्ने हो। तर, बिडारीको दौडधुप भने फिल्म प्रदर्शन भइसकेपछि पनि उस्तै छ। शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बिहीबार दिउँसोसम्म पनि प्रदर्शन तालिका सार्वजनिक भएको थिएन, पाएको ‘शो’ नमिल्दो समयमा थियाे, फिल्मका बारेमा धेरै दर्शकले थाहा पाउन बाँकी थियाे, छ। याे सबैका बिच ‘ऐना झ्यालको पुतली’लाई सबैले दिएको माया अनि यो फिल्म चल्नुपर्छ भनेर स्वत:स्फुर्त रूपमा सबै लागिपरेको देखेर आफूमा छुट्टै उर्जा आइरहेको, व्यक्त गर्नै नसकिने गरी खुशी लागेको बिडारी बताउँछन्।

‘फिल्म क्षेत्रमै लागेको लगभग १५ वर्ष भयो तर कुनै फिल्मका लागि मान्छेहरू यसरी एकजुट भएको, यो खालको आत्मीयता पाएको मैले थाहा पाएको थिइनँ। हेरे जति सबैले यो त मेरै कथा हो भन्नु भएको छ, फिल्म हेरेर आर्टमान्डुका साथीहरूले एक दिनमा भिडियो सहितको गीत तयार गरिदिनु भयो, फिल्मको लागि विभिन्न क्याम्पेन भइरहेको छ’, उनी भन्छन्, ‘हामीले प्रचार प्रसारमा धेरै खर्च गरेनाैँ। यो बिस्तारै फैलिँदै जान्छ, अडियन्स बढ्दै जान्छन् भन्ने लागेको थियो। त्यस्तै भइरहेको छ। अब फिल्मको लागि यसरी सबै लाग्दा पनि फिल्म चलेन भने त के गर्न सकिन्छ छ र। कहीँ नेर हामी नै चुक्यौँ कि भनेर आत्मसमीक्षा गर्न सकिन्छ।’

फिल्मले व्यवसायिक रुपमा ठूलो रकम खडा नगरे पनि एउटा फिल्म लेखक निर्देशकको रूपमा आफू सफल भइसकेको उनी बताउँछन्। ‘मैले जसको फिल्म हेरेर सिकेँ उहाँहरूले यो फिल्मलाई कसैले नराम्रो भन्छ भने म फिल्म नै बनाउन छोडिदिन्छु भन्नुभएको छ, जसले मलाई फिल्म पढाउनुभयो उहाँहरूले नै अहिलेसम्म हेरेको मध्ये सबैभन्दा उत्कृष्ट नेपाली फिल्म भन्नुभएको छ। फोन, म्यासेजमा धन्यवाद भन्नेहरू कति हुनुहुन्छ।

प्रिमियरमा दिदीले आमाले पनि हेर्नुभयो। परिवार पनि खुशी छ।’ उनी भन्छन्, ‘यो एकदम अकल्पनीय कुरा भइरहेको छ। सबैको प्रतिक्रियाले मेरो लागि ठूलो अर्थ राख्छ। एक हिसाबले सफल त म भइसकेँ तर यसले व्यावसायिक रूपमा पनि राम्रो गर्यो भने व्यक्तिगत रूपमा त राम्रो हुने भयो त्यो भन्दा पनि यसरी हाम्रा आफ्ना कथा भन्न खोज्नेहरूलाई प्रोत्साहन हुन्थ्यो, उद्योगलाई पनि राहत हुन्थ्यो, नेपाली फिल्मले अर्को खुड्किलो चढ्थ्यो भन्ने लाग्छ।’

दिमागमा चलेको चित्र र पर्दामा उत्रिएको चित्र
‘दिमागमा बलेको एउटा झिल्को फिल्मको रूपमा यसरी आउँदासम्म धेरै चरण पार गरेको हुन्छ। सबैभन्दा पहिले त दिमागमै चित्र चल्छ। त्यसपछि कागजमा अक्षर बनेर आउँछ। क्यामेराले खिचिन्छ। सम्पादनमा जान्छ। यसरी आउँदा सुरुमा दिमागमा जस्तो चित्र चलेको थियो फिल्मको रूपमा आउँदा ठ्याक्कै त्यस्तै छैन। जुन सम्भव पनि छैन जस्तो लाग्छ।’ उनी भन्छन्, ‘विभिन्न चरण पार गर्ने क्रममा घर्षण हुन्छ, केही इनर्जी घट्छ, केही थपिन्छ। यसमा पनि त्यस्तै भयो। तर, म मैले भन्न खोजेको कुरा के हो? भन्नेमा स्पष्ट थिएँ। सुरुदेखि नै मेरो ‘फोकस’ त्यसैमा थियो। फिल्मको रूपमा आउँदा पनि मैले भन्न खोजेको कुरा आएकाे छ, यसमा सन्तुष्ट छु।’

फिल्मका सबै जसो कलाकार नयाँ रहेकाले सुरुमा केही अप्ठ्यारो भए पनि बिस्तारै भिज्दै गएपछि कलाकारहरूले नै आफूलाई ‘सरप्राइज’ गरेको बिडारी बताउँछन्। उनी भन्छन्, ‘ननएक्टरहरूसँग काम गर्दा क्यारेक्टरमा थप इनपुट आउँछ भन्नेमा खासै आशावादी भइँदैन तर छायांकनको क्रममा केटाकेटीले मलाई सरप्राइज गरेका छन्। ‘क्लाइमेक्स’मा दिनेश बाबुले जसरी टाउको निहुराएर हेरेको छ; त्यसो गर भनेर सिकाइएको थिएन। त्यति कुराले गर्दा पनि ‘सिन’ अझै प्रभावशाली भएको छ। आमाको गानो तान्ने सिनमा कञ्चनको रुवाइले सेटमा सबै स्तब्ध भएका थिए। हामीले खिच्न खोजेका केही सिन विभिन्न कारण खिच्न पाएनौँ तर जति खिच्यौँ त्यो सबै फिल्ममा छ।’

बसन्त र बिडारी
बच्चा वेलामा बिडारीले कहिल्यै खेलौनाका लागि जिद्दी गरेनन्, न यस्तो खान्छु भनेर झगडा गरे, न त यही कपडा चाहियो भनेर रिस देखाए। किनकी घरमा अभाव थियो अनि सानै उमेरमा उनले अभाव बुझेका थिए। अहिले सम्झिँदा उनलाई आफू बच्चैमा बूढो भएको हो कि जस्तो लाग्छ।

‘फिल्मको दिदी पात्र मेरो आमा र दिदीको ‘क्यारेक्टर मिक्स’ भएर आएको हो। अनि बसन्त मेरै बाल्यकाल हो। सबै ‘इभेन्ट’ उस्तै नभए पनि ‘इमोसन’ उस्तै थियो।’ उनी सम्झिन्छन्, ‘बुवा मानसिक रूपमा अस्वस्थ हुनुहुन्थ्यो। जुन कुरा त्यतिवेला थाहा पनि थिएन। बुवादेखि डर लाग्थ्यो, बसन्त जस्तै आमा र दिदीहरूसँग हुर्किएँ। सिर्जनामा पनि त्यस्तै कुराहरूको प्रभाव देखिँदो रहेछ।’

बिडारीलाई बच्चा वेलामा फिल्म हेर्न रमाइलो त लाग्थ्यो तर पछि गएर फिल्म नै बनाउँछु भनेर सोचेका थिएनन्। बरु फिल्ममा हिरो हिरोइन देख्दा कलिलो मन अलिकति उतैतिर ढल्किन्थ्यो।

आफूसँगै फिल्म
ठूलो भइसकेपछि एउटा समय जीवन चलाउन ठेकेदार पनि बनेर हिँडे। तर, त्यो काम आफ्नो लागि होइन भनेर बुझ्न पनि उनलाई धेरै समय भने लागेन। उनी भन्छन्, ‘आफू सालिक देख्दा पनि कस्तो चिसो भयो होला भन्ने मान्छे त्यो ठिहिर्‍याउने जाडोमा काम गरिरहेका कामदार देखेर नराम्रो लाग्थ्यो। फिल्मबारे सोचिनसकेको भए पनि विज्ञापनमा भने रुचि थियो। त्यही वेला विज्ञापन निर्माणका लागि तालिम खुलेको समाचार आयो। त्यो काम छोड्ने सही समय त्यही लाग्यो।’

त्यसपछि समयले उनलाई ओस्कार फिल्म कलेज पुर्‍यायो। बिडारीलाई केही समयअघि आफू भावनात्मक रूपमा कमजोर रहेछु लागेको थियो तर फिल्म कलेज पुगेपछि उनलाई आफू भावनात्मक रूपमा फराकिलो रहेछु भन्ने लाग्यो। आफ्नो लागि सही ठाउँ यो रहेछ भन्ने लाग्यो। त्यो ठाउँ उनलाई नै पर्खेर बसेको रहेछ जस्तो लाग्यो। फिल्मले नै उनकाे जीवन हेर्ने दृष्टिकाेणमा परिवर्तन ल्याइदियाे। सधैँभरि फिल्म क्षेत्रमै नरहे पनि आफूमा आएकाे परिवर्तनका कारण फिल्म सधैँ आफूसँगै हुने उनी बताउँछन्।

भावनाका कुरा
फिल्म क्षेत्रमा प्रवेश गरेकाे झण्डै डेढ दशकपछि बिडारीले ‘ऐना झ्यालको पुतली’ लिएर आएका छन्। फिल्म कलाको एउटा शक्तिशाली माध्यम हो भनेर उनले पढेका थिए, पढाएका पनि थिए। उदाहरणको रूपमा अहिले आफ्नै फिल्म आएको छ। जसको चर्चा लामो समयसम्म हुनेछ।

‘ऐना झ्यालको पुतली’ हेर्ने जति सबैलाई आफ्नै कथा लाग्नुको कारण पात्रको जीवनमा घटेका घटना भन्दा पनि तिनले उनीहरूभित्र जागृत भएको भाव हो जस्तो बिडारीलाई लाग्छ। उनी भन्छन्, ‘जीवनमा अहिलेसम्म कति घटना घटे तर हामीलाई सबै याद हुँदैन। जसले भित्र राम्रैसँग हल्लाएको हुन्छ खुशी होस्, दुःख होस्, डर, उमंग, आवेग या क्रोध होस्, यस्ता भावना जागृत गरेका घटना हामीलाई याद हुन्छ। हामीले विदेशका फिल्म ‘कनेक्ट’ भएर हेर्न सक्नु तथा विदेशका मान्छेले हाम्रो फिल्ममा आफ्नो कथा भेट्नु भनेको त्यो भाव भेट्नु हो जस्तो लाग्छ।’

बाँकी जिम्मेवारी
एउटा निर्देशकको रूपमा फिल्म प्रदर्शनमा आएसँगै बिडारीको जिम्मेवारी सकिएको छ। तर, फिल्मका कलाकार र बिडारीको सम्बन्ध एउटा कलाकार र निर्देशकको जस्तो मात्र छैन। एउटा परिवार जस्तो बनेर काम गरेका कलाकारहरूका लागि बिडारी एउटा अभिभावक पनि हुन्। र उनको अभिभावकीय जिम्मेवारी भने अझै बाँकी नै छ।

कलाकारको रूपमा एउटा राम्रो फिल्मको अंश बन्नु सबै कलाकारको लागि सुखद कुरा हो। तर, यही कुराले उनीहरूको भविष्यमाथि प्रभाव पार्ने हो कि भन्ने कुराले बिडारीलाई सताउने गर्छ।

‘फिल्म सुरु नहुँदा उनीहरूको एक खालको जिन्दगी चलिरहेको थियो। आफ्नो आफ्नो गोल लिएर अगाडि बढिरहेका थिए। ‘अडिसन’ भयो, वर्कसप भयो। हेर्दाहेर्दै सबै ‘ब्रोड’ हुँदै गए। कविता लेख्न थाले, पेन्टिङ गर्न थाले, पहिले बोल्न लाज मान्थे, अहिले मिडियामा आफ्नो कुरा राख्न सक्ने भए यो सबै देख्दा खुशी लाग्छ।’  उनी भन्छन्, ‘अहिले उनीहरूलाई सबैले चिन्छन्। सेलिब्रेटीहरू भेटिरहेका छन्, फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आइराखेको छ, हरेक दिन विभिन्न टेलिभिजनमा अन्तरवार्ता भइरहेको छ। यो कुराले रुमल्लिने हुन् कि भन्ने चिन्ता चाहिँ लाग्छ। पछि गएर फिल्म क्षेत्रमै आए पनि अहिले चार दिनको रमझमले निर्णय लिन हतार नगरुन् भन्ने लाग्छ। त्यही अनुसार सम्झाइराखेको पनि हुन्छु।’

फिल्म सकिए पनि उनीहरूसँग ‘कन्ट्यक्ट’मा रहिरहने र यो रमझमलाई बाहिरबाट हेर्न सक्ने, आफ्नो निर्णय आफैँ लिनसक्ने नभएसम्म अभिभावकको भूमिकामा आफू रहने बिडारी बताउँछन्।

फिल्ममा कन्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ लगायतका बाल कलाकार मुख्य भूमिकामा देखिएका छन्, जो यो फिल्मको लागि अडिसन मार्फत छानिएका थिए। फिल्म यतिवेला काठमाडौं लगायत देशका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ।

 

Nabintech