• १९ आश्विन २०७९, बुधबार
‘डेंगुले प्रकोपकै रूप लिइसक्यो’

यो सिजनमा मात्र १२ हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने ११ जनाको मृत्यु भइसकेको छ


  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार ०८:३१

गर्मी बढेसँगै डेंगुको संक्रमणले महामारीको रूप लिएको छ। पछिल्ला वर्षमा तीव्र गतिमा फैलिरहेको डेंगुले यो वर्ष विकराल रूप लिएको छ। केही वर्षअघिसम्म केही जिल्ला न्यून मात्रामा देखिने डेंगुको संक्रमण यसपटक देशका सबै जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यो सिजनमा मात्र १२ हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने ११ जनाको मृत्यु भइसकेको छ। सरकारले डेंगु नियन्त्रणका लागि ठोस योजना अघि सारेको छैन। यसै सन्दर्भमा डेंगु नियन्त्रणका उपाय, भइरहेका प्रयास र भइसकेपछि अपनाउनुपर्ने सचेतनाका विषयमा  जगत भण्डारीले संक्रमणरोग विशेषज्ञ डा. अनुप बास्तोलासँग गरेको कुराकानीको सम्पादित अंश :

डेंगुको संक्रमणले महामारीको रूप लिइसकेको हो ?
२०१९ मा पोखरा र काठमाडौँलगायतका पहाडी क्षेत्रमा डेंगु बढेको थियो। अहिले त्यो संख्या ह्वात्तै बढेको छ। यसलाई प्रकोपकै रूपमा लिन सकिन्छ।

डेंगु कसरी लाग्छ ?
डेंगु एउटा भाइरल ज्वरो हो। डेंगु भाइरसको संक्रमणबाट सर्ने रोग हो। यसलाई सार्ने भनेको लामखुट्टेले हो। जुन लामखुट्टे बिहान र बेलुकी घाम झुल्किसकेपछि र घाम अस्ताउनुभन्दा अगाडि बढी सक्रिय हुन्छ। यसबाट १० हजार संक्रमित भएका छन् भने एक हजारमा लक्षण देखिन्छ। तीमध्ये ५०० मा भाइरल सामान्य ज्वरो आउँछ भने अर्को ५०० लाई ‘क्लासिकल’ डेंगु भनिने डेंगु ज्वरो आउँछ।

कसरी जोगिने त ? 
झुल टाँगेर सुत्नुपर्‍यो। घरमा झ्याल ढोकामा जाली हाल्नुपर्‍यो‚ लाम बाहुला भएको कपडा लगाउनुपर्‍यो। लामखुट्टे भगाउनु पर्‍यो। साँझबिहान घर बाहिर निस्कनु भएन। निस्कनै परे शरीर कपडाले ढाकिने गरी लगाउनुपर्‍यो।

त्यतिमात्र होइन लामखुट्टे नष्ट गर्नुपर्‍यो। अनावश्यक पानी जमेका ठाउँ व्यवस्थित गर्ने र फोहोर मैला भएको ठाउँलाई सफा राख्नुपर्छ।

यो कसरी फैलिरहेको छ ?
जलवायु परिवर्तन, शहरीकरणलगायतका कारण एडिक प्रजातिको लामखुट्टेको विकास राम्ररी हुन्छ। त्यसले रैथाने लामखुट्टेमा संक्रमण बनाउँछ र संक्रमण फैलाउँछन्। ठूलो शहरमा युरोपमा चिसो ठाउँमा पनि यसको संक्रमण हुने गरेको छ। यसको नियन्त्रणका लागि विभिन्न देशले आ-आफ्नै ढंगले काम गरिरहेका छन्।

सबैभन्दा ठूलो काम भनेको लामखुट्टे र यसका लार्भा नष्ट गर्ने अभियान नै चलाउनुपर्छ। लार्भा नष्ट गर्ने, लार्भा खाने माछा पाल्ने, विभिन्न किसिमका ब्याक्टेरिया प्रयोग गर्न सकिन्छ। लामखुट्टेको टोकाइबाट बच्नका लागि आमजनताबीच सूचना प्रवाह गर्ने र सचेतना फैलाउने हो भने यो नियन्त्रणमा आउन सक्छ।

सरकारी प्रयास कस्तो पाउनुभएको छ ? 
सरकारले समयमै स्थानीय तहका कतिपय वडामा लार्भा नष्ट गर्ने अभियान चलाएको पाइएको छ। सबै स्थानीय तहका वडा स्तरमा जुन स्तरमा अभियानलाई तीव्रता दिनुपर्थ्यो‚ त्यस्तो चाहिँ हुन सकिरहेको छैन। यद्यपि सरकारले सामाजिक सञ्चार र सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेको छ।

कोरोना र डेंगुको लक्षण एउटै हुन्छन्‚ कसरी पत्ता लगाउने ? 
डेंगुमा आँखाका गेडी दुख्ने, टाउको धेरै दुख्ने, मांसपेशी लुछ्ने, जोर्नी, पिँडुला र ढाड दुख्ने, वाकवाकी आउने, खाना नरुच्ने र ज्वरो आउने लक्षण देखिन्छ भने कोरोना संक्रमण हुँदा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने र शरीर दुख्ने हुन्छ। डेंगुको दुखाइ हड्डी भाँचिएको जस्तो हुन्छ। ५–७ दिनसम्म सहनै नसकिने खालको हुन्छ। कोरोनामा चाहिँ श्वासप्रश्वाससम्बन्धी लक्षण बढी देखिन्छ।

कसरी निको हुने त डेंगुबाट ?
यो भाइरल ज्वरो भएकाले एन्टिबायोटिक आवश्यक पर्दैन। ज्वरो घटाउने पारासिटामोल खान सकिन्छ। सकेसम्म ‘पेन किलर’ प्रयोग गर्नुहुँदैन। त्यसको ‘साइड इफेक्ट’ हुन्छ। ज्वरो आउँदा शरीरमा पानीको मात्रा कम हुने भएकाले झोलिलो खानेकुरा खानुपर्छ।

जटिल अवस्था भन्ने कसरी थाहा पाउने ?
५–६ दिनमा पनि ज्वरो घटेन, आन्द्रामा रक्तस्राव भयो, शरीरको श्वेत रक्तकोषिका घटे भने अस्पताल भर्ना हुनुपर्ने अवस्था आउँछ। एक हजारमा ५०–६० जनामा यस्तो अवस्था आउन सक्छ। एक सातामा आफैँ सुधार हुन्छ।

Nabintech