६ बैशाख २०८१, बिहीबार
संविधान जारी भएको ७ वर्ष पूरा, विभिन्न कार्यक्रमसाथ दिवस मनाइँदै

  • टाइम्स संवाददाता

  • ३ आश्विन २०७९, सोमबार ०६:२८

काठमाडौं –  नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।

 

जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक छ ।  तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)  का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र संघीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक ८औं संविधान दिवस मनाउन लागिएको हो ।

संविधानसभाबाट ३, असोज २०७२ मा तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।  दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।

Nabintech