६ बैशाख २०८१, बिहीबार
बाँकेमा नियन्त्रणबाहिर लागु औषध : सीमानाकादेखि गाउँघरसम्म कारोबार

  • टाइम्स संवाददाता

  • ४ आश्विन २०७९, मंगलवार ०६:३६

नेपालगञ्ज-  कोहलपुरस्थित चप्परगौडीको एक घरमा प्रहरीले गत शनिबार छापा हान्यो। लगूऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले त्यहाँबाट २६ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित तीन कारोबारीलाई पक्रियो। उनीहरूको साथबाट प्रहरीले एक थान लागूऔषध तौल गर्ने तराजु र ५ लाख ७३ हजार ८१० रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ पर्ने कोहलपुर–१२ चप्परगौडीका ३८ यशोदा कार्की, उनका श्रीमान् रुद्रबहादुर कार्की र सोही ठाउँका २४ वर्षीय मनोज गिरीले लामो समयदेखि लागूऔषध ब्राउन सुगर कारोबार गर्दै आएको भन्ने प्रहरीमा सूचना पुगेको थियो।

त्यसको अघिल्लो दिन ३१ भदौमा मात्रै लागूऔषधसहित बाँके खजुरा गाउँपालिका–४ का २९ वर्षीय आशीष चौधरीलाई प्रहरीले समायो। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषधसहित समातिए। प्रहरीले चौधरीका साथबाट कालो प्लास्टिकले पोका पारिएको ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। २२ भदौमा पनि इलाका प्रहरी कार्यालय कोहलपुरले दस बिघामा रहेको एक लागूऔषधको अखडामै हात हाल्यो। होटलको आवरणमा लागूऔषध ब्राउन सुगरको कारोबार गर्दै आएको भन्ने सूचनामा दैलेखी सुर्खेती आयुष गेस्टहाउसबाट प्रहरीले १३० मिलिग्राम लागूऔषध ब्राउनसुगर र होटल सञ्चालकलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–५ घर भई दस बिघामा होटलको आवरणमा लागूऔषध बिक्री वितरण गर्ने गणपति सुवेदी प्रहरीको कब्जामा परे।

भदौको दोस्रो साता मात्रै बाँकेको चिसापानीबाट जाजरकोटका २५ वर्षीय गोपाल रोकाय र लेखराज विष्टलाई साढे तीन किलो अफिमसहित प्रहरीले पक्राउ गरेको थियो भने नेपालगन्जबाट काठमाडौं लैजान लागिएको ठूलो मात्राको लागूऔषधसहित एक जनालाई ४ भदौमा प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज विमानस्थलबाट लागूऔषध ब्राउन सुगर खैरो हिरोइनसहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको छ। विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका–११ का २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।

भारतीय सीमा नजिकै नेपाली गाउँहरू जयसपुर, राधापुर, साइगाउँ, नरैनापुरलाई लागूऔषध भित्रिने मुख्य नाकाको रूपमा प्रहरीले संकेत गरेको छ। ती स्थान अवैध लागूऔषध खरिद, बिक्री र सेवन गर्न सहज स्थान मानिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो दुई महिनाको मात्र तथ्यांक हेर्दा दोस्रो नम्बरमा लागूऔषधका मुद्दा छन्। गत असार र साउनमा १३ वटा लागूऔषधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ। यसरी लागूऔषधका घटना बढ्दै जानु गम्भीर विषय रहेको प्रहरी बताउँछ। तर नियन्त्रणमा खास प्रगति हुन सकेको छैन। भारतसँगको खुला सीमा र फितलो सुरक्षा रणनीतिले बाँकेमा लागूऔषध दुर्व्यसनी तथा ओसारपसार दिनानुदिन बढिरहेको छ। यसले भारतसँग सीमा जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको प्रहरीको बुझाइ छ।

खुला सीमा, खुलै कारोबार

नेपाल–भारत सीमा क्षेत्रको जमुनाह नाका र त्यससँग जोडिएका सीमा क्षेत्रमा लागूऔषधको कारोबार अहिले खुलम खुल्ला चल्छ। बिनारोकटोक लागूऔषध ओसारपसारमा युवाहरू संलग्न छन्। विभिन्न चरणमा प्रहरीले लागूऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि अभियान सञ्चालन गरेको छ। तर त्यसले खासै काम गरेको देखिन्न। प्रहरी अध्ययनले अहिले लागूऔषधको कारोबार र सेवन सीमा क्षेत्र अनि नेपालगन्ज सहर मात्र होइन, ग्रामीण क्षेत्रमा समेत बढ्दो छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भारतबाट लुकाइछिपाई लागूऔषध ल्याउने क्रम नरोकिएको बताए। ‘खुला सीमाका कारण अवैध रूपमा बाँकेमा धेरै सामान आउँछ। लागूऔषध पनि आउने गरेको छ।’ एसपी अधिकारीले भने, ‘हामीले अवैध कारोबारमा संलग्नलाई पक्राउ गरेर मुद्दा चलाएका छौं।’

बाँकेमा मुख्य चुनौतीको रूपमा रहेको लागूऔषध नियन्त्रण गर्न प्रहरीले काम गरिरहेको बताउँछ तर नियन्त्रणका कुनै संकेत देखापरेका छैनन्। प्रहरीका अनुसार लागूऔषध दुर्व्यसनीमा फसेकाहरूको संलग्नता अन्य आपराधिक घटनामा रहने गरेको छ। ‘विशेषगरी चोरी, हत्या, तस्करमा लागूऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको छ,’ एसपी अधिकारीले भने।

भारतीय सीमा नजिकै नेपाली गाउँहरू जयसपुर, राधापुर, साइगाउँ, नरैनापुरलाई लागूऔषध भित्रिने मुख्य नाकाको रूपमा प्रहरीले संकेत गरेको छ। ती स्थान अवैध लागूऔषध खरिद, बिक्री र सेवन गर्न सहज स्थान मानिएका छन्। त्यसमा नेपालगन्जका केही टोल पनि पर्छन्। बाँके प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न लागूऔषध नै सबैभन्दा ठूलो चुनौती बनेको छ, बाँकेमा फस्टाइरहेको यसको सेवन र कारोबार प्रहरीको नियन्त्रणबाहिर पुगेको छ।

कोहलपुरमा बढ्दो कारोबार

नेपालगन्जदेखि १६ किलोमिटर उत्तरमा पर्छ, कोहलपुर। विकासलाई पछ्याइरहेको कोहलपुर सहर पछिल्लो समय लागूऔषध कारोबारीको सुरक्षित क्षेत्र बनेको छ। यहाँका गेस्टहाउसदेखि खुला चौर र जंगल क्षेत्र लागूऔषध सेवन र कारोबार गर्ने स्थल बन्न थालेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए। इलाका प्रहरी कार्यालय कोहलपुरले लागूऔषध नियन्त्रण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। इप्रका प्रमुख मल्ल कोहलपुरमा भइरहेको लागूऔषधसम्बन्धी कारोबार र त्यसबाट उत्पन्न हुने आपराधिक घटना नियन्त्रणमा लागिपरेको बताउँछन्। गत वर्ष चैत्र अन्तिम साता जिम्मेवारी सम्हालेका मल्लले लागूऔषधसम्बन्धी २३ वटा घटनाका अभियुक्त पक्राउ गरेका छन्।

भारतबाट आउने ब्राउनसुगर नेपालगन्जमा प्रहरीको नजरबाट बचेर कोहलपुरकै बाटो भई विभिन्न जिल्ला पुग्ने गरेको छ। ‘कारबाही मात्रै नभई लागूऔषध निरुत्साहित गर्न सचेतनामूलक कार्यक्रम प्रहरीबाट कोहलपुरमा सञ्चालन हुँदै आएका छन्’, मल्लले भने, ‘होटल, व्यक्तिका कोठा, सवारीसाधनमा यात्रा गर्नेबाट लागूऔषध बरामद हुने गरेको छ।’ गाँजा, चरेस, अफिम, डेनड्राइट, ब्राउन सुगर, नाइट्रोसन चक्की, कोरेस, ओपिडोललगायत सामान्यदेखि कडा खाले लागूऔषध युवाहरूले प्रयोग गर्ने गरेको बताउँछ, प्रहरी। कोहलपुरका विभिन्न स्थानबाट लागूऔषध सेवन तथा नियन्त्रणका लागि प्रहरीमा सूचना तथा अनुरोध आउने क्रम बढेको डिएसपी मल्लले बताए।

जोखिममा किशोर–किशोरी
प्रहरीको अध्ययन अनुसन्धानले लागूऔषधकै कारण किशोर–किशोरी सबैभन्दा बढी जोखिममा छन्। सीमा क्षेत्रदेखि सहरभन्दा टाढा गाउँका विद्यालयमा अध्ययन गर्ने किशोर– किशोरी लागूऔषधको कुलतमा पर्ने गरेका छन्। बाँके प्रहरीको तथ्यांकअनुसार लागूऔषध दुर्व्यसनी र ओसारपसारमा १३ देखि २५ वर्ष उमेरका समूहका युवायुवती बढी संलग्न हुने गरेका छन्। दुर्व्यसनीमा फसेका व्यक्तिको व्यवहार पूर्णरूपमा असामाजिक हुने गरेको प्रहरी बताउँछ। प्रहरीलगायत जिल्लाका विभिन्न सामाजिक संघ–संस्थाले विद्यालयमै पुगेर कुलतबारे जानकारी दिन अभियानै सञ्चालन गरिरहेका छन्।

‘किशोर उमेरका विद्यार्थीलाई कुलतबाट जोगाउनु सबैभन्दा चुनौती छ, अहिले,’ लागूऔषध शिक्षा तथा सुधार केन्द्र नार्कोनन् नेपालका लुम्बिनी प्रदेश संयोजक तथा लागूऔषध नियन्त्रण अभियानकर्ता वसन्त पुनले भने, ‘दुर्व्यसनमा फसेका व्यक्तिहरू घरपरिवार र समाजबाट विस्तारै एक्लिँदै जान्छन्। उनीहरू कहाँ जान्छन्, के गर्छन् भन्ने कुरा परिवारलाई थाहा हुन्न।’ साथीभाइको संगत नै दुर्व्यसनमा फस्नुको प्रमुख कारण भएको पुनको बताउँछन्। उनले भने, ‘कसैले पनि म कुलतमा फस्छु भन्ने सोच्दैन। तर पारिवारिक वातावरण, साथीभाइको संगत, निरन्तरको असफलताको बेचैनबाट भाग्न मानिसहरू दुर्व्यसनमा फस्न पुग्छन्।’ दुर्व्यसनमा फस्नेहरू अभिभावकविहीन बालबालिकादेखि उच्च खरानासम्मका व्यक्तिसमेत छन्। पैसा नहुनेदेखि धेरै सम्पत्ति हुनेहरू लागूऔषध सेवनमा लाग्ने गरेको अभियानकर्मीहरू बताउँछन्।

ट्रान्जिट प्वाइन्ट बन्दै बाँके

बाँकेको कोहलपुर तथा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संगम स्थल हो। यो क्षेत्र व्यापारिक केन्द्र मात्र होइन, लागूऔषध तथा दुर्व्यसनीको पनि केन्द्र हो। रुकुम, रोल्पादेखि जाजरकोट, कालीकोटमा उत्पादन हुने गाँजाजन्य पदार्थ यही बाटो भएर भारत पस्छ भने भारतका विभिन्न स्थानबाट कडा खाले लागूऔषध नाका छलेर भारतकै कारोबारीले नेपालगन्ज र कोहलपुरसम्म ल्याउँछन्। लागूऔषध प्रयोगकर्ताका अनुसार भारत बाराबंकी जिल्लाको टिक्रा र गणेशपुरको लागूऔषध गुणस्तर हुने गर्छ। त्यहाँको लागूऔषध रुपैडिहा नाका हुँदै नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लासम्म पुग्ने गरेको प्रहरी बताउँछ।

नेपालको गाँजा, चरेस, अफिम भारतीय बजारमा राम्रो मानिन्छ। लागूऔषधका पुर्वप्रयोगकर्ताका अनुसार नेपालबाट भारत पुगेको लागूऔषध त्यहाँबाट प्रशोधित भएर फेरि नेपाल आउने गरेको छ। प्रहरीको प्रतिवेदनले समेत नेपालका पहाडी जिल्लामा अवैध रूपमा हुने गरेको अफिम तथा गाँजा खेतीको प्रमुख बजार भारत नै रहेको उल्लेख गरेको छ।

टोल–टोलमा पुनर्स्थापना केन्द्र

लागूऔषध दुर्व्यसनको अवस्था कस्तो छ भन्ने जानकारी लिन बाँकेमा सञ्चालन गरिएका पुनर्स्थापना केन्द्रको अवलोकन गरे पुग्छ। त्यहाँ लागूऔषध प्रयोगकर्ता दिनदिनै बढ्दै गइरहेका छन् भने जिल्लाका विभिन्न स्थानमा पुनर्स्थापना केन्द्र खुल्ने क्रम बढेको छ। बाँकेमा लागूऔषध पुनर्स्थापना केन्द्रको संख्या बढेर २० पुगेको छ। सहरसँगै गाउँमा समेत लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएपछि कोहलपुर, खजुरा, हवल्दारपुरलगायत ठाउँमा पनि पुनर्स्थापना केन्द्र सञ्चालनमा आएका छन्। अहिले पुनर्स्थापना केन्द्रमा ७९४ पुरुष र ९३ महिला गरी ८८७ जना लागूऔषध प्रयोगकर्ता भर्ना भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले ५०३ पुरुष र ७२ महिला गरी ५७५ जना निको भएर घर फर्किएको बताए। ३१२ लागूऔषध प्रयोगकर्ता अहिले पनि उपचाररत छन्।

Nabintech