८ बैशाख २०८१, शनिबार
ल्याप्चेको भरमा यसरी लुटियो करोडौंको जग्गा, गिरोहका ६ जना पुर्पक्षका लागि थुनामा

  • नवीन अभिलाषी

  • ७ आश्विन २०७९, शुक्रबार ०६:४२

नेपालगञ्ज-  सत्तरी वर्षका हरिहर खटिक प्रष्ट आँखा देख्दैनन्। पढेका छैनन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा खेतीपाती गरेर जीवन गुजारा गरेका खटिकलाई ऐनकानुन र मुद्दामामिलाबारे थाहा हुने कुरै भएन।

सगोल परिवारमा बस्दै आएका खटिकसँग संयुक्त रुपमा ६० कठ्ठा जग्गा थियो। त्यसमध्ये ३० कठ्ठा जग्गा भाउजू कमलन खटिकको हो। हरिहरको जग्गा नेपालगन्ज–कोहलपुर राजमार्गदेखि ६५० मिटरको दूरीमा छ। सो जग्गाको मूल्य अहिले करोडौं रुपैयाँ पर्छ।

हरिहरको परिवारमा पत्नी, दुई छोरा, बुहारी, ३ नातिनातिनी छन्। एउटी छोरी शारीरिक रुपले अपांग छिन्। दुस्ख र गरिबीबाट पिल्सिएको खटिक परिवारमा एउटा गिरोहको नजर पर्यो। पटक-पटक बिरामी पर्ने हरिहर र परिवारको खाँचो टार्न उनलाई ऋणको आवश्यकता पर्यो। करिब तीन वर्षअघि पटकपटक गरेर आफ्नै गाउँका दुर्गाहरण शुक्लसँग २ लाख रुपैयाँ ऋण लिएका थिए हरिहरले। गाउँकै चिनेका शुक्ल जिल्ला मालपोत कार्यालय परिसरमा लेखापढी व्यवसायीको रुपमा काम गर्ने मानिस पनि हुन्।

ऋण लिएपछि शुक्लकै सहयोगमा खटिकलाई मालपोत कार्यालयमा पुर्याएर तमसुक भन्दै विभिन्न कागजातमा ल्याप्चे लगाइएको थियो। गिरोहले खटिकलाई २ लाख रुपैयाँ ऋण दिएको तमसुक भन्दै सादा कागजमा र बैंक चेकमा पहिल्यै ल्याप्चे लगाएका थिए।

केही समयपछि बाबुबाट अंश पाउन हरिहरका जेठा छोरा इन्द्रदेव खटिकले मुद्दा हाले। २०७८ वैशाख ६ गते संयुक्त नामको जग्गा छुट्याए। सुनुवाइका क्रममा बाँके जिल्ला अदालतले जायजेथाको विवरण माग गर्यो। मालपोत कार्यालयले अदालतलाई पठाएको पत्रमा हरिहरका नाममा जग्गा नै नभएको उल्लेख गरेपछि खटिक परिवार छाँगाबाट खसेजस्तो भयो। करोडौंको जग्गा गुमाएका हरिहर खटिकले २०७८ पुस ११ गतेमात्र जग्गा गुमेको थाहा पाए।

सगोल परिवारमा बस्दै आएका खटिकसँग संयुक्त रुपमा ६० कठ्ठा जग्गा थियो। त्यसमध्ये ३० कठ्ठा जग्गा भाउजू कमलन खटिकको हो। हरिहरको जग्गा नेपालगन्ज–कोहलपुर राजमार्गदेखि ६५० मिटरको दूरीमा छ। सो जग्गाको मूल्य अहिले करोडौं रुपैयाँ पर्छ।
आखिर वर्षौंदेखि भोगचलन गरी आएको जग्गा कहाँ गयो रु खटिकको नाममा रहेको ३० कठ्ठा जग्गा गिरोहले हडपिसकेको रहेछ भन्ने कुरा खटिक परिवारले त्यसपछि मात्र थाहा पायो।

लुटिएको जग्गा फिर्ता पाउने आशामा निरन्तर प्रहरी प्रशासन धाएको खटिक परिवारले अहिले न्याय पाउनेमा आश्वस्त बनेको छ। दुई लाख रुपैयाँ ऋण दिएर जालसाजी गरी करोडौंको जग्गा हडपेको आरोपमा यसअघि नै पक्राउ परेका ६ जनालाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि थुनामा पठाएको छ। अदालतका श्रेस्तेदार तीर्थराज भट्टले दिएको जानकारी अनुसार मोहम्मद हनिफ हलवाई, सहाबुद्दिन बेहना, निजामुद्दिन बेहना, साबिर अलि बेहना, राजेश बर्मा र रिजवान अन्सारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।

गत साता भएको भएको थुनछेक बहसपछि न्यायाधीश धनसिंह महराको इजलासले ६ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाएको छ। यो ठगी प्रकरणमा एक जना किस्मत दर्जी भने अझै फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
हामीलाई के थाहा थियो यस्तो हुन्छ भनेर रु हामी त पढेको छैन, चिनेजानेको मान्छे थियो, जम्मा दुई लाख रुपैयाँ ऋण चलाएको हो, पूरै जग्गा लुटेछ, हरिहर खटिक भन्छन्, हामीलाई न्याय चाहिएको छ। जग्गा फिर्ता गरेर आफ्नो नाममा बनाउन खटिक परिवार निरन्तर दुई वर्षदेखि प्रहरी, प्रशासन र अदालत धाइरहेको छ।

२०७८ माघ १६ गते ठगी कसुर जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेको हो। खटिकको जाहेरी दर्तासँगै प्रहरीले थालेको अनुसन्धानमा जग्गा सम्बन्धी सबै प्रकृया पूरा गरेको भए पनि केही त्रुटि देखिएपछि प्रहरीले अनुसन्धानलाई व्यापक बनाएको थियो। बाँके प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान थालेपछि ठगीका विषयमा पटक–पटक पीडित पक्षलाई दबाब दिँदै मिलापत्रको प्रयास समेत गरिएको थियो।

प्रहरीले दिएको जानकारीअनुसार मालपोत कार्यालयको रेकर्डमा हरिहरको नाममा रहेको जग्गा पहिलो पटक २०७७ भदौ २४ मा अर्कैका नाममा नामसारी भएको पाइएको छ। जसमा ८० लाख रुपैयाँ बिगो राखेर जग्गा पास गरेको कागज भेटिन्छ। १० लाख रुपैयाँभन्दा बढीको जग्गा पास गर्दा रकम बैंक दाखिला गरेको हुनुपर्ने भए पनि उक्त जग्गा नामसारी गर्दा पैसा लेनदेन भएको नखुलेपछि प्रहरीले अनुसन्धानलाई गहिरो बनाएको थियो।

प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार खटिकको नामको जग्गा कित्ता नं. ४ को ३२२५, २० को २१८०, १११ को ४५७० वर्गमिटर जग्गा २०७७ असोज १२ मा जानकी गाउँपालिका–३ का सहाबुद्दिन बेहना, नेपालगन्ज–५ का रिजवान अली अन्सारी, वडा नम्बर १९ का साबिरअलि बेहना र वडा नम्बर २२ का राजेशकुमार कुर्मीले ९० लाख मूल्य राखेर मालपोत कार्यालयबाट राजीनामा पास गरेको कागज सहित मिसिल तयार पारेको छ।

हरिहरले ४९ लाख रुपैयाँ ऋण लिएको गिरोहले कागज बनाएको छ। २०७७ फागुन १० गतेको मितिमा कागज बनाएर हरिहरसँग कित्ता नं. १०४ को ३५१०, कि.नं. १६८ को ७७०, कि,नं, १७४ को ४५५ र कि.नं. ६६ को ४६० वर्गमिटर जग्गा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का रिजवान अली अन्सारीले दृष्टिबन्धकमा पास गराएको उल्लेख छ। दृष्टिबन्धक लिखतमा लेखापढी दुर्गाशरण शुक्लले कागज लेखेको र साक्षीमा हरिहरका छोरा इन्द्रदेव खटिक, जानकी गाउँपालिका–६ का किस्मतअलि शेष साक्षी बसेको उल्लेख छ।
यो गिरोहले नेपालगन्जकै एनएमबि बैंकमा हरिहरको नाममा खाता खोलेर रिजवान अलि अन्सारीको नामको चेकबाट २५ लाख दाखिला गरेको देखिएको छ। तर, उक्त रकम हरिहर खटिकको नामबाट निकालिएको बैंक स्टेटमेन्टबाट देखिएको प्रहरीले जनाएको छ।

जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले अभियुक्तहरूलाई नेपालगन्ज कारागार पठाएको छ। तर जिल्लाको पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदन भइसकेको छ। प्रतिवादीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएको श्रेस्तेदार भट्टले बताए। जिल्ला प्रहरी कार्यालयले उनीहरू विरुद्ध २ करोड १९ लाख रुपैयाँ बिगो र जनही ७/७ वर्षको कैद सजायको माग गर्दै ठगी मुद्दा दर्ता गरेको छ।

Nabintech