१५ चैत्र २०८०, बिहीबार
दसैंको सातौं दिन : आज घरघरमा फूलपाती भित्र्याइँदै

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७९, आईतवार ०६:४५

काठमाडौं-  बडादसैंको सातौं दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ।

दुर्गा भवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ। यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।

हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

 

Nabintech