१४ बैशाख २०८१, शुक्रबार
दशैँ मनाउन १७ लाखले छाडे काठमाण्डौ उपत्यका

विगतका वर्षजस्तै यो वर्ष पनि तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या


  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७९, आईतवार २०:२५

काठमाण्डौ: काठमाण्डौ उपत्यकाबाट यस वर्ष गएको वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज आइतवार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दशैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।

विगत दुई वर्ष कोभिडका कारण दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाहिर जानेको सङ्ख्या कम हुने गरेकोमा यो वर्ष उल्लेख्यरूपमा बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लामा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक गाडी नै प्रयोग गरिरहेका राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजयादशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ ।’

विगतका वर्षजस्तै यो वर्ष पनि तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् । कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताउनुभयो । गाडीले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उहाँको भनाइ छ ।

काठमाण्डौबाट मात्रै होइन उपत्यकाबाहिरका क्षेत्रीय सहरहरूबाट र जिल्ला सदरमुकामहरूबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाण्डौबाहिरबाट उपत्यका भित्रिने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । आमनागरिकले उपत्यकाबाट सबै बस भरिएर गएको देखे पनि फर्किएर आउँदा खालीजस्तै हुने उहाँले बताउनुभयो ।

सबै क्षेत्रले यात्रुवाहक गाडीलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालवाहक गाडीलाई दिनुपर्ने महासङ्घले सरकारसमक्ष माग गर्दै आएको थियो । हिजो शनिवारदेखि नै अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक १८ र २० चक्के गाडी सञ्चालनमा रोक लगाइएको छ । विभागले यही असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढबाट काठमाण्डौसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

दशैँ, तिहार, छठसँगै चुनावमा जाने यात्रु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । यो वर्ष दशैँ चाँडो परेकाले देशभरका धेरै सडकमा खाल्डाखुल्डी र पहिरो हटिसकेको छैन । दशैँलाई लक्षित गरी भदौदेखि नै मर्मत सुरु गरिएको भए पनि वर्षा अझै पूर्णरूपमा हटिनसकेकाले सबैतिरको सडक मर्मत गर्न कठिन भएको सडक विभागले जनाएको छ ।

Nabintech