काठमाडौं :नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको पूजा विसर्जन गरी विजयादशमीको दिन मान्यजनको हातबाट लगाइने प्रसादको ठूलो महत्त्व छ। उत्तिकै महत्त्व छ, उनीहरूले दिने आशीर्वाद वा आशिर्वचनको।
आशीर्वाद अर्थात् आफूभन्दा सानाको कल्याणको कामना वा शुभेच्छा प्रकट गर्ने मन्त्र वा वचन। वैदिक सनातन धर्मावलम्बी संस्कार, श्राद्ध, पूजाआजा आदि गर्दा संस्कृत मन्त्रहरूको प्रयोग गर्छन्। यस्ता अनुष्ठानमा शान्तिकामना र आशीर्वाद वचन पनि संस्कृत भाषामै पढिन्छ।
विजयादशमीमा प्रचलित एक मन्त्र छ,
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
(‘शौर्यं शान्तनवे’ ठाउँमा कतैकतै ‘दानं सूर्यसूते’ पनि पाइन्छ।)
अर्थात्, तिमीलाई ऋषि द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु प्राप्त होस्। दशरथको जस्तो श्री होस्। शत्रुनाश गर्ने भगवान् रामको जस्तो शक्ति प्राप्त होस्।
नहुष राजाको जस्तो ऐश्वर्य पाऊ। वायुको जस्तो गति होस्।
दुर्योधनको जस्तो सम्मान प्राप्त होस्। शान्तनुपुत्र भीष्मको जस्तो शूरता होस् वा सूर्यपुत्र कर्णको जस्तो दानशीलता होस्।, बलरामको जस्तो बल होस्।
कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता प्राप्त होस्। विदुर जस्तो ज्ञानी होऊ। भगवान् विष्णुको जस्तो कीर्ति संसारभर फैलियोस्। यो पुरुषलाई टीका लगाइदिँदा पढिने मन्त्र हो।
यो मन्त्रमा पौराणिक पात्रहरूका राम्रा्राम्रा एक्एक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ, आशिष दिइएको छ।
स्त्रीका लागि यी मन्त्र प्रयोग हुन्छन्—
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्रयम्बके गौरि नारायणि नमोऽस्तुते।।
शरणागतदीनार्तपरित्राणपरायणे।
सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तुते।।
यी तीन देवीको उपासना गर्ने मन्त्र हुन्। मन्त्रमा आएका देवीहरूले रक्षा गरुन् भन्ने अर्थमा यी मन्त्रको प्रयोग हुन्छ। यसैगरी प्रियजनलाई आशिष दिन यी मन्त्रको पनि प्रयोग हुन्छ,
मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः ।
शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव।।
अव्याधिना शरीरेण मनसा च निराधिना।
पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम्।।
अर्थात् हरेक कार्यमा सफलता प्राप्त होस्। तिम्रो मनोकांक्षा सिद्ध होस्, तिम्रा कुभलो गर्नेको बुद्धि नाश होस्। मित्रहरू बढ्दै जाउन्। शारीरिक र मानसिक निरोगी भएर सय वर्षसम्म बाँच।
भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसिदतु।
तुष्यन्तु त्वां सदा देवाः संपदः सन्तु सुस्थिराः।।
देवीदेवताले सधैँ कल्याण गरुन् भन्ने अर्थ यो मन्त्रले बोकेको छ। शिव, महालक्ष्मीलगायत देवीदेवताको कृपादृष्टि तिमीमा परिरहोस् भन्ने कामना गरिएको छ। विजयादशमीमा पनि सम्भव भएसम्म संस्कृत भाषामै आशीर्वाद दिइन्छ। संस्कृतमा पहुँच नहुनेहरूले आफ्नै मातृभाषामा आशीर्वाद दिने गर्छन्।