काठमाण्डौ: गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
यी क्षेत्रमा अझै थप वर्षाको जोखिम रहेकाले बाढी पहिरोको सम्भावना रहेको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ । चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ ।