७ आश्विन २०८१, सोमबार
सल्यानमा पहिरोले बगायो बस्ती

पहिरो पिडित परिवारलाई गाउँपालिकाको समन्वयमा स्थानीय मिलनबजार व्यवस्थापन समितिले खाना तथा विद्यालयमा बसाइको व्यवस्थापन गरिरहेको छ


  • टाइम्स संवाददाता

  • २१ आश्विन २०७९, शुक्रबार १६:२७

सल्यान :  कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ। पहिरोले बस्तीनै पहिरोले बगाए पछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन्।

अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन्। पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएको छ। गोठमा भएका ४ वटा बाख्रा मरेका छन्।

यस्तै, विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिदा दुई भैसी र ५  खसी बाख्रा मरेका छन्। प्रहरीका अनुसार वीर बहादुर रानाको पनि घर पहिरोमा बगेको छ। गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको प्रहरीले जानकारी दिएको छ।

पहिरोको उच्च जोखिममा रहेका सल्लाम गाउँका दुर्गा बलाल, चूर्ण बलाल, भक्त बहादुर राना, कविराम राना, डण्ड बहादुर घर्ती, चन्द्रकली विक, विजय घर्ती, नर बहादुर बाँठा, मनिसा बाँठा र हस्तमणी बाँठाको परिवारलाई विद्यालयमा स्थानान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए।

पहिरो पिडित परिवारलाई गाउँपालिकाको समन्वयमा स्थानीय मिलनबजार व्यवस्थापन समितिले खाना तथा विद्यालयमा बसाइको व्यवस्थापन गरिरहेको छ।

 

Nabintech