५ जेष्ठ २०८१, शनिबार
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा, आउँदो हप्तादेखि मनसुन बाहिरिने अनुमान

कर्णाली र सुदूरपश्चिममा पनि भोलिसम्म मौसम खुल्ने पूर्वानुमान महाशाखाले जनाएको छ


  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७९, आईतवार ०७:३४

काठमाण्डाै: कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा भएको छ । लुम्बिनीका केही पश्चिमी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई वटा प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

हिजो दिउँसोदेखि नै ठूलो पानी परेकाले खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधर लगायत साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

यस्तै बबई राप्ती नदीमा पनि पानीको सतह खतराको तह नजिक नै रहे पनि बहाव घट्दो क्रममा रहेको छ । तर बाँके र बर्दियाका नदी किनारमा  बस्नेहरु पनि चनाखो रहनुपर्ने शाखाले जनाएको छ । वर्षा गराउने प्रणाली पश्चिमतिर सर्दै गएकाले पूर्वी र मध्य क्षेत्रको मौसम सफा हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिममा पनि भोलिसम्म मौसम खुल्ने पूर्वानुमान महाशाखाले जनाएको छ । तर पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा भने आज पनि पानी पर्ने सम्भावना छ ।

नेपालमा मनसुन बाहिरिने औसत समय अक्टोबर २ तारिख अर्थात अघिल्लो हप्ता नै हो । तर यस वर्ष औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिने भएको छ । अबको एक हप्तापछि अर्थात आउँदो शनिवार अथवा आइतवारदेखि नेपालबाट मनसुन बाहिरिने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

गएको जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरु भएको थियो । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताउनुभयो । तर मनसुन रहे पनि पर्सि मङ्गलवारदेखि देशभरको मौसम सुधार हुने उहाँले बताउनुभयो ।

Nabintech