५ जेष्ठ २०८१, शनिबार
चुनौतीको चाङ र उत्साह

लगातारको वर्षाले मैदान निर्माण तथा मर्मतसम्भारको कार्यलाई अवरोध


  • टाइम्स संवाददाता

  • २८ आश्विन २०७९, शुक्रबार १०:२०

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने घोषणा तीन वर्षअघि नै भएको थियो । समयको गतिअनुसार तयारीको काम अघि बढेन, सुस्त नै रह्यो । एक साताअघिसम्म पनि पोखरामा अन्योलकै अवस्था थियो ।

धेरै खेल स्थल तयार भइसकेको थिएन । नयाँ पूर्वाधार निर्माण गरिएको होइन तर पुरानै संरचनाको मर्मतसम्भारको काम सकिएको थिएन । बडादसैंसँगै परेको लगातारको वर्षातले मैदान निर्माण तथा मर्मतसम्भारको कार्यलाई अवरोध पुर्‍याइरहेको थियो ।  वालिङस्थित फुटबल मैदानमा दूबो ओछ्याउँदा–ओछ्याउँदै पानी जमेको थियो । कुनै मैदानमा भल बगिरहेको थियो । कतै घाँस काट्ने सुरसार नै थिएन । वर्षातले टेनिस कोर्टको सुर्की बगाइदियो । निरन्तरको वर्षातले अन्तिम समयको तयारी कार्यलाई असर गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ अत्तालिसकेका थिए । एक साताअघि नै पोखरा आएर बसेका उनी दिनरात खेलस्थलको निरीक्षण र प्रगति विवरण बुझ्न व्यस्त रहे । असोजको झरी दुई दिनअघि रोकियो । आकाश खुल्यो । माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला मनमोहक देखिन थाले । अनि बृहत् राष्ट्रिय खेलकुदको काम अगाडि बढ्यो, जसको उद्घाटन समारोह शुक्रबार पोखरा रंगशालामा हुँदै छ ।

अधिकांश खेल पोखरा रंगशाला परिसरमा सञ्चालन हुँदै छ, जहाँ ३९ वर्षपछि राष्ट्रिय खेलकुद फर्किएको हो । यहाँ २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद आयोजना हुँदा रंगशाला निर्माण गरिएको थियो । तीन वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्दाको प्रतियोगिता स्थल पनि हो पोखरा रंगशाला, जसका लागि रंगशालामा स्तरोन्नति गरेर संरचना थपिएको थियो । त्यसअघि बहुद्देश्यीय कभर्डहल निर्माण गरिएको थियो । यिनै रंगशाला र कभर्डहल नै नवौं राष्ट्रिय खेलकुदको मुख्य प्रतियोगिता स्थल हुन् ।

‘नयाँ भौतिक संरचना निर्माण भएन तर पुरानै संरचनाको स्तरोन्नति र मर्मतसम्भार राष्ट्रिय खेलकुदको अवसरमा गरिएको छ,’ सदस्यसचिव घिसिङले भने, ‘१३ औं सागका लागि बनाइएका भौतिक पूर्वाधारमा अधिकांश खेल सञ्चालन गर्दै छौं । तर, फरक किसिमले प्रतियोगितालाई नयाँ रूपमा सञ्चालन गर्दै छौं । पहिलोपल्ट ट्रफी निर्माण गरेका छौं । यसैका लागि एप निर्माण गरेका छौं । खेलाडी र टिमको अनलाइन दर्ताको व्यवस्था ल्याएका छौं । खेलाडीमाथि वैज्ञानिक विधिअनुसार अनुसन्धान हुँदै छ । पहिलोपल्ट डोपिङ परीक्षण गर्दै छौं । देश संघीयतामा गइसकेपछि संघीय व्यवस्थाअनुसार पहिलोपल्ट नयाँ मोडालिटीमा राष्ट्रिय खेलकुद यसैपालि हुँदै छ, जसको सम्पूर्ण तयारी पूरा भएर प्रतिस्पर्धाको चरणमा पुगेको छ ।’

प्राविधिक उपसमितिका सचिव प्रचण्ड शर्मा भन्छन्, ‘समावेश खेल र सहभागी खेलाडी संख्याको हिसाबले सबभन्दा ठूलो राष्ट्रिय खेलकुद यही (नवौं संस्करण)  हो ।’ नयाँ खेलका रूपमा रग्वीले प्रवेश पाउँदा खेल संख्या ३६ पुगेको छ । क्यानोइङ र गण्डकीको परम्परागत खेल ठेलोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको छ । कात्तिक ३ गतेसम्म हुने प्रतियोगितामा कुल ३ सय ९३ स्वर्ण, उति नै रजत र ६ सय कांस्य पदकका लागि ६ हजार १ सय २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक, निर्णायक, व्यवस्थापकलगायत गरी झन्डै १० हजार मानिस प्रतियोगितामा सहभागी छन् । २०७६ सालमा मध्यपश्चिममा भएको आठौं संस्करणमा ३५ खेलका ३ सय ३३ स्पर्धामा ५ हजार २ सय ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

उत्साहित पोखरा

पर्यटकीय सहर पोखरालाई कोभिड–१९ महामारीले लगभग सुनसान बनाएको थियो । महामारीले यहाँको व्यवसाय चौपट बनाइदियो । केही गति लिन थालेको पोखराको पर्यटन व्यवसायलाई यो राष्ट्रिय खेलकुदले थप गति दिने अपेक्षा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन् । ‘पोखराको माहोल ३९ वर्षपछि खेलमय भएको छ,’ महानगर प्रमुख आचार्यले भने, ‘सबै तह र सबै वडामा यसको प्रचारप्रसार गरेका छौं । केही वडामा कार्यक्रम गरेका छौं ।

पाहुनाको आतिथ्यतामा सहयोग गरेका छौं । करिब १० हजारको आगमनले पर्यटकीय सहरमा चलपहल बढेको छ, राम्रो गरेको छ । यसलाई कमाउने मौकाका रूपमा भन्दा सेवाका रूपमा हेर्नका लागि आग्रह गरेको छु । नयाँ पूर्वाधार निर्माण नभए पनि प्रतियोगिताको प्रवर्द्धन, खेलाडीलाई प्रोत्साहनलगायत कार्य गरिरहेका छौं । राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सञ्चालन गर्न पोखरा उत्साहित छ ।’

महिला फुटबल आयोजना गर्ने अवसर वालिङ नगरपालिकाले पाएको छ । नगर प्रमुख कृष्ण खाँणले भने, ‘हामीले चार दशकपछि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छौं । यसमा साह्रै खुसी छौं । वालिङ नगरवासी गौरवान्वित छ । खुसीको सीमा नै छैन ।’ उनले थपे, ‘कहिलेकाहीँ मात्रै यस्तो अवसर आउँछ । त्यसैले दोब्बर मिहिनेत गरेर रातारात मैदान तयार गरी आयोजनाको अवसर गुम्न दिएनौं ।’ मैदान निर्माण कार्य बुधबार मात्रै सकिएको थियो । महिला फुटबल प्रतियोगिता बिहीबार सुरु भयो ।

व्यवस्थापनमा चर्को चुनौती

औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि क्रिकेट, ह्यान्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिपर्धा यसअघि नै सुरु भइसकेको छ । पहिलो स्वर्णको फैसला भएको एक महिना बित्न लाग्यो । कीर्तिपुर मैदान ९काठमाडौं० मा भएको पुरुष क्रिकेटको फाइनलमा आर्मीलाई हराएर पुलिसले नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण हात पारेको थियो । नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाल टी–२० लिग आयोजना गर्ने भन्दै प्रतियोगिता अगाडि सार्न राखेपसँग आग्रह गरेपछि पुरुष क्रिकेट राजधानीमै सञ्चालन गरिएको थियो, जुन भदौरे झरीसँगै सम्पन्न भएको थियो ।

सुटिङ रेन्जको अभावमा सुटिङको प्रतिस्पर्धा सातदोबाटो (ललितपुर)  मा हँदै छ । बाँकी ३४ खेल गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन हुँदै छन् । यो अवसरबाट मनाङ, मुस्ताङ र लमजुङ छुटेका छन् । कास्की, नवलपुर, तनहँ, गोरखा, म्याग्दी, स्याङ्जा, पर्वत र बागलुङले प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएका छन् । अधिकांश खेल पोखरा रंगशाला परिसरमा हुनेछन् । पौडी सर्ट कोर्समा हुँदै छ भने भलिबललगायत केही इन्डोर (हलभित्र खेल्नुपर्ने) खेल खुला आकाशमै आयोजना गरिँदै छ । पोसाक वितरण, खेल सामग्रीको अभाव, खेल र होटल व्यवस्थापनको चर्को चुनौती राखेपले बेहोरिरहेको छ ।

काठमाडौंबाट २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको थियो । सुरुआतको ४१ वर्ष हुँदासम्म बल्ल नवौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । सुरुमा १४ अञ्चलका टिम सहभागी थिए । त्यसपछि २०५५ सालमा ५ विकास क्षेत्र र २ विभागीय टिम ९आर्मी र पुलिस० को टिम बन्यो । पाँचौं संस्करण (२०६५) मा माओवादीको पीएलए र एपीएफ थपिए, नौ टिम बन्यो । यसैमा राजनीति घुस्यो र पीएलए ल्याएको विरोधमा आर्मीले प्रतियोगिता नै छाड्यो ।

आर्मीले अर्को संस्करण (२०६८) पनि खेलेन, जहाँ विश्वविद्यालय नयाँ टिम बन्यो । सातौं (२०७३) मा आएर पीएलए र विश्वविद्यालय बाहिरिएसँगै आर्मी प्रतियोगितामा फर्कियो । पुनरागमनमा आर्मीले सर्वाधिक स्वर्ण जित्यो । आठौं (२०७६) मा आएर फेरि संरचना फेरियो । सात प्रदेश, तीन विभागीय टिम र नवप्रवेशी गैरनेपाली आवासीय संघ (एनआरएनए) गरी ११ टिमले खेल्यो ।

फेरि आर्मीले सबभन्दा बढी स्वर्ण कब्जा गर्‍यो । यसपालि आर्मी शीर्षस्थानमा ह्याट्रिक गर्ने योजनामा छ भने प्रदेशले विभागीय टिमको वर्चस्वलाई केही कमजोर पार्ने प्रयास गर्नेछन् ।

Source: https://ekantipur.com/

Nabintech