६ जेष्ठ २०८१, आईतवार
म्याग्दीको घोडेपानीमा घोडादौड प्रतियोगिता हुने

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०७९, बुधबार ०७:१५

म्याग्दी : जिल्लाको पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडादौड प्रतियोगिता हुने भएको छ। घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय संघ संस्थाको  सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो।

अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।  घोडेपानी टोल सुधार समितिकाअध्यक्ष विरेन गर्बुजा पुनले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले घोडादौड प्रतियोगिता गर्न लागेको  जानकारी दिए।

पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृश्य अवलोकन गर्न आउने पर्यटकका लागि घोडादौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने विश्वास गरिएको छ।

घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडादौड प्रतियोगिता आयोजना हुदै आएको छ। यहाँ भने वैशाखमा यो प्रतियोगिता हुने गरेको थियो। दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा गर्न लागिएको टोल सुधार समितिका अध्यक्ष गर्बुजाले बताए।

घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्क सम्म सातकिलोमिटर ५०० मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ। कात्तिक ४ गते आयोजनागर्ने भनिएको प्रतियोगिता सडकमा राखिएको निर्माण सामग्री र उपकरण व्यवस्थापन तथा मर्मतका लागि समय लाग्ने देखिएपछि १३ दिन पछि सारिएको हो ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ।

Nabintech