विकासको नाममा
परिवर्तनको बहानामा
समृद्धिको सपनामा
आशाको स्तम्भ हल्लाउँदै
पहिचान आयो; सम्मान आएन ।
उस्तै रह्यो देश; उस्तै रहे जनता
समृद्ध भयो पार्टी; सुखी भए नेता ।
अहा ! खुशी भए कार्यकर्ता ।
आशा थियो;
शरदको सूर्यझैं
वसन्तको बहारझैँ
नौलो सिर्जनाको
अनि नवीन सुवसनाको
अनन्त स्रोत लिएर
आशाको स्तम्भ ठड्याउदै
परिवर्तनको प्रहर आउनेमा,
समृद्धिको सुनौलो बिहान आउनेमा;
तर त्यो आउदै आएन ।
केवल
सिंह आयो; सान आएन
पहिचान आयो; सम्मान आएन ।
समृद्धिको संसार हेर्ने
सपनाको सुन्दर कोपिला किच्दै
आशा र भरोसाको
कोमल मुना हिङ्स्रक पदचापले किच्दै
जहरिलो हातले थिच्दै
हिङ्स्रक आतंककारी आत्मालाई
सम्मान गर्दै अनि …
उनीहरुको कुपित देहलाई
बिभूषित गर्दै
केवल
सिंह आयो; सान आएन
पहिचान आयो; सम्मान आएन ।