२ आश्विन २०८१, बुधबार
मंगलबार लाग्दै छ खण्डग्रास सूर्यग्रहण

के हो खण्डग्रास ग्रहण?


  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७९, शुक्रबार ०७:५०

काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ।  मंगलबार अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु (स्पर्श गर्ने) हुने नेपाल पञ्चांग निर्णायक विकास समितिबाट अनुमति पाई प्रकाशित पात्रोमा उल्लेख छ। साँझ ५ बजेर २४ मिनेटमा सकिने (मोक्ष हुने) छ।

खगोलविद् डा. जयन्त आचार्यका अनुसार ग्रहण ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ। ​खगोलविद् आचार्यका अनुसार सूर्य नांगो आँखाले हेर्न हुँदैन। विशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ। विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिने उनले बताए।

यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने छ। यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका,  मंगोलिया,  सिरिया, नर्वेलगायत देशबाट देख्न सकिने आचार्यले बताए।

फलादेशमा विश्वास गर्नेका लागि पात्रोमा शुभ र अशुभको फल बताइएको छ। पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, कुम्भ र मीन राशिलाई अशुभ हुने बताइएको छ।

के हो खण्डग्रास ग्रहण?

सूर्य र पृथ्वीको बीचमा पर्दा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ। सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास र आशिंक छेकेको अवस्था खण्डग्रास भनिन्छ।  खण्डग्रास ग्रहण समय–समयमा परिरहन्छ। खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्छ।

 

Nabintech