१३ बैशाख २०८१, बिहीबार
भाषणमा खरो, काममा दह्रो, पाएको जिम्मेवारी पूरा गर्ने सुरो ‘भीम ओली’

नेपालगन्ज, कोहलपुर, खजुराको गौघाट लगायत स्थानमा खेल संरचना निर्माण गर्न भीमको ठूलो हात छ


  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७९, शनिबार १०:१३

खजुरा,बाँके: भीम ओलीले भाषण गर्न थालेपछि सुनौँसुनौँ लाग्छ । उनको भाषणमा जति मिठास छ, उत्तिकै मार्मिक र कर्णप्रिय हुन्छ । उनी भाषणले विकासका अभियानमा लाग्न यूवामा उत्साह थप्छन्, जोशजाँगर भर्छन् ।

भाषण जति कडा गर्छन् उत्तिकै काममा खटिन्छन् उनी । पाएको जिम्मेवारी फत्ते गर्न रातदिन नभनि मैदानमा उत्रिन्छने बानी छ उनको । दिउँसो बाँकेमा विताएका उनी एकाविहानै बुटवल पुगिसकेका हुन्छन् । उनी भन्छन्, ‘जिम्मेवारी पाउनुमात्र ठूलो कुरा होइन, पाएको जिम्मेवारीलाई फत्ते गर्नसक्ने खुवी पनि हुनुपर्छ । आत्मबल र दृढ विश्वास पनि चाहिन्छ ।’
उनी भाषणभन्दा काममा विश्वास गर्छन् । भाषणलाई उनले उत्साह, उर्जा, हौसला थप्ने कलाको रुपमा लिन्छन् । भाषणले विकासमा टेवा पुर्याए पनि योजना पूरा गर्ने काम मेहनत र परिश्रमले मात्र सम्भव हुने उनको बुझाई छ । ‘म मेहनतमा विश्वास गर्छु । मेहनत विना विकासका योजना पूरा हुन असम्भव छ,’ ओलीले भने ।

उनी राजनीतिकर्मीसँगै खेलकर्मी हुन् । नेपालगन्ज, कोहलपुर, खजुराको गौघाट लगायत स्थानमा खेल संरचना निर्माण गर्न उनको ठूलो हात छ । उनी १८ साउन, ०७२ मा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भए । २२ साउन, ०७२ मा समितिको अध्यक्षको पदभार ग्रहण गरेदेखि यहाँको खेल संरचना निर्माण गर्न अहोरात्र खटिए ।

जिम्मेवारीलाई आर्थिक, प्रशासनिक, खेलकुद विकास ऐन सँग जोड्दै चार बर्षे कार्यकालमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका ओलीले खेल प्रतियोगिता, खेलकुद सम्मान, अन्तरक्रिया, गोष्ठी आयोजना गरि बाँकेमा खेलकुदको माहोल सिर्जना गर्न सफल भए । ‘साविक मध्यपश्चिमाञ्चलको खेलकुदको पूरानो साख जोगाउनु थियो मेरो कार्यकालमा सफल भयौँ,’ उनले भने ।

ओलम्पियन सुरेन्द्रबहादुर हमाल, हरिबहादुर रोकाय, पार्वती थापा र अनिता श्रेष्ठ रहेको यस क्षेत्रको खेललाई अझ उचाइँमा पु¥याउन उनले महत्वपूर्ण भूमिका निभाए । उनले पोखरामा गर्ने तयारी भएको आठौँ राष्ट्रिय प्रतियोगितालाई बाँकेमा ल्याउन सफल भए । ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ आयोजना गर्ने भन्ने विषयमा ठूलै रस्साकस्सी चल्यो । ०४० सालमा दोस्रो राष्ट्रिय प्रतियोगिता गरेको पश्चिमाञ्चल पोखरा र २०५५ सालमा चौथो राष्ट्रिय प्रतियोगिता गरेको मध्यपश्चिमाञ्चल मैदानमा उत्रीयौँ । अन्ततः मध्यपश्चिमाञ्चलले ०७५ सालमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भयो । पोखराले उचाल्दै गरेको झण्डा हामीले उचाल्यौँ,’ उनले भने ।
आठौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएदेखि उनी दिनरात मैदानमा खटिए । प्रतियोगिताका लागि खेल संरचना गर्नुपर्ने चुनौती उनमा थियो । उक्त चुनौतीलाई चिर्दै उनी संरचना निर्माणमा कसिए ।

नेपालगन्ज रंगशालामा अन्तर्राष्ट्रिय स्तरका पौडीपोखरी निर्माण उनकै सक्रियतामा भएको हो । त्यसैगरि, भारोत्तोलन एकेडेमी, सुटिङ हल, नेपालगन्ज कवर्ड हल पुनर्निर्माण, नेपालगन्ज जुडो हल, शुक्र भलिबल स्टेडियम खजुरा, कोहलपुर क्रिकेट मैदान, गाभर साइक्लिङ ट्रयाक बैजनाथ, ह्यान्डबल, बास्केट बल कोर्ट र विभिन्न प्रयाक्टिस भेनुहरु निर्माण उनकै पालामा भएको छ ।

उनकै नेतृत्वमा दाङको लमही क्रिकेट मैदान, बेलझुण्डी रंगशालामा सेन्थेटिक ट्रयाक, घोराही बास्केटबल कोर्ट, तुल्सीपुर कराँते कवर्ड हल निर्माण गरि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न उनले गरिसकेका छन् ।
उनी गलत नीति र विचारको खुलेरै विरोेध गर्छन् । नीति र विचारमा टेकेर अगाडी बढ्छन् । हरेक पाइला सोँचेरमात्र चाल्छन् । पाएको जिम्मेवारी निभाउने क्रममा आउने कठिनाई चिर्दै अगाडी बढ्न बनाइएका योजनालाई लिपीबद्ध गर्छन् । त्यसैले उनले नीति र गलत नियतलाई चिर्दै ३३ बर्षसम्म दुई–दुई बर्षमा आयोजना हुन नसकेको राष्ट्रिय खेलकुदलाई सातौँ समापन पछिको दुई बर्षभित्रै २०७५–०७६ मा आठौँ राष्ट्रिय प्रतियोगिता गर्न सफल भए । उनले यसलाई नेपाली खेलकुदको इतिहासमा युग परिवर्तनको प्रारम्भ गर्न सफल भएका बताउँछन् । ‘लरतरो आँट, परिश्रम र विश्वासले न त बाँकेमा यतिधेरै खेल संरचना निर्माण हुने थियो, न त आठौँ राष्ट्रिय प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न सकिन्थ्यो,’ उनले भने, ‘संरचना निर्माण गर्ने र प्रतियोगिता सम्पन्न गर्ने चुनौती फलामको च्यूरा चपाउनुभन्दा कम थिएन ।’

उनले खेलकुदलाई विकाससँग जोड्ने योजना बनाएका छन् । अव मुलधारका राजनीतिमा आएका उनी नीति, निर्माण तहमा पुगेर खजुरा, जानकी र नेपालगन्जको विकासमा जुट्ने योजनाका साथ निर्वाचनमा होमिएका छन् । एमालेको तर्फबाट बाँके क्षेत्र नं. ३ प्रदेससभा (ख) को उम्मेदवार रहेका उनले आफ्नो क्षेत्रका नागरिकलाई सुखी, खुसी र समृद्ध बनाउने सपना बुनेका छन् । नीति निर्माण गर्ने थलोमा पुगेर नागरिकको भावना कदर गर्दै समृद्ध नागरिक बनाउने प्रतिवद्धता गरेका छन् । ‘म मेरो क्षेत्रका नागरिकका हरेक कदममा साथ, सहयोग र सहकार्य गर्न प्रतिवद्ध छु,’ उनले भनेका छन्, ‘चुनाव जितेर गएपछि मुख नदेखाउने नेतालाई सवक सिकाउन म चुनावी मैदानमा होमिएको छु ।’

गोचालि खबरबाट
Nabintech