६ जेष्ठ २०८१, आईतवार
महाकवि देवकोटाको ११४औँ जन्मजयन्ती

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार ०९:००

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती। स्वदेश र विदेशमा कार्यक्रम गरी महाकवि देवकोटाको सम्झना गरिँदैछ।  उनी १९६६ कार्तिक कृष्ण औँसीका दिन तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी साइँला छोराका रूपमा जन्मेका थिए। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका उनका थुप्रै फुटकर कविता, गीत महाकाव्य, खण्डकाव्य प्रकाशित छन्। काव्यलेखन मुख्य विधा भए पनि उनले  निबन्ध, कथा, नाटक र उपन्याससमेत लेखे।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको झ्याउरे शैलीको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी ख्याति कमाएको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद र प्रकृतिप्रेम  झल्किन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

राहुल सांकृत्यायनले समेत देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको एउटै रूप भनी टिप्पणी गरेका थिए। नेपालका नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन र  प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

चरम आर्थिक अभाव र पारिवारिक वियोगबीच पनि देवकोटाले उच्चस्तरका साहित्य सिर्जना गरेका थिए। क्यान्सरका कारण निधन २०१६ साल भदौ १६ गते उनको भएको थियो।

 

Nabintech