काठमाडाैं : दशैँ तिहार विदा नेपाली फिल्मका लागि लाभदायक हुने गरेको छ। त्यसैले पनि निर्माता दशैँ तिहारकै छेउछाउमा आफ्नो फिल्म प्रदर्शन गर्न चाहन्छन्। तर, कहिले निर्माणको समय तलमाथि हुँदा त कहिले अगाडि नै अन्य फिल्मले आफ्नो स्थान सुरक्षित गर्दा धेरै निर्माताले आफ्नो फिल्म अन्य मितिमा प्रदर्शन गर्नुपर्छ।
दशैँपछि विद्यायलय तथा कार्यालयहरूमा तिहारको विदा सुरु भइसकेको छ। यही विदालाई लक्ष्य गरी केही फिल्म प्रदर्शन भइसकेका छन् भने केही फिल्म प्रदर्शनको तयारीमा छन्। गत शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। रिमेश अधिकारीको लेखन तथा निर्देशनमा बनेको ऐतिहासिक कथामा बनेको नालापानी र दिपेन्द्र के खनालको निर्देशनमा बनेको कमेडी ड्रामा के घर के डेरा यतिवेला प्रदर्शनरत छन्।

‘नालापानी’ २०८ वर्षअघि नेपाली सेनाले अंग्रेजविरुद्ध नालापानीमा लडेको युद्धमा आधारित फिल्म हो। ९ वर्षअघि निर्माणको तयारी गरिएको ‘नालापानी’ नेपाली फिल्म इतिहासमा सबैभन्दा ठूलो बजेटमा बनेका फिल्ममा पर्छ। फिल्मको बजेट १४ करोड रूपैयाँ नाघेको बताइएको छ। फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजा चन्द र गीता अधिकारी लगायत कलाकारको अभिनय छ।
त्यस्तै ‘के घर के डेरा’ काठमाडौंमा डेरामा बस्नेहरूको कथामा आधारित रहेको छ। फिल्ममा दया हाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
यीबाहेक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको महापुरुष पनि यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा बुढेसकालको एक्लोपन र प्रेम सम्बन्धलाई मुख्य विषयवस्तु बनाइएको छ। फिल्ममा हरिवंश आचार्य केन्द्रीय भूमिकामा देखिएका छन्। त्यस्तै गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइली लगायत कलाकारको मुख्य भूमिका छ।

यी बाहेक गत शुक्रबारदेखि नै प्रदर्शनमा आएको हलिउड फिल्म ब्ल्याक एडम र २५ अक्टोबरदेखि प्रदर्शनमा आउन लागेको बलिउड फिल्म थ्यांक गड तथा दशैँकै छेको पारेर प्रदर्शनमा आएको नेपाली फिल्म ‘दुई नम्बरी’ पनि तिहारका लागि हलमा रहनेछन्।









