३१ भाद्र २०८१, सोमबार
टी–२० विश्वकप : पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित

  • टाइम्स संवाददाता

  • ११ कार्तिक २०७९, शुक्रबार ०६:१०

एजेन्सी: टी–२० विश्वकप क्रिकेटमा खेलमा पाकिस्तान जिम्बाब्वेसँग १ रनले स्तब्ध बन्यो। बिहीबार बेलुकी सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो।

टस  जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।

पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि सेन विलियम्सले ३१ रन बनाउँदा कप्तान क्रेइग एर्भिनले १९ रन बनाएका थिए। त्यस्तै वेस्ली म्याडेभरले १७ रन बनाउँदा रयान बुरले १० रन बनाएका थिए। त्यस्तै ब्राड एभन्सले पनि १९ रन बनाएका थिए। जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद वासिमले ४ विकेट लिँदा सादव खानले ३ विकेट हात पारेका थिए।

१ ३० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले सान मसुदले ४४ रन बनाउँदै टिमलाई जित उन्मुख बनाएपनि पछिल्लो क्रमले खराब प्रदर्शन गरेपछि पाकिस्तान दबाबमा परेको थियो। उसका लागि सदाव खानले १७ रन बनाउँदा मोहम्मद रिजवानले १४ रन बनाए। कप्तान बाबर अजाम ४ रनमा आउट भए।

त्यस्तै इफ्तिखर अह्मेदले ५ रन बनाउँदा सादव खानले १७ रन बनाए। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा जिम्बाब्वेका बलर ब्राड इभान्सले एक बल डट फाल्दै अन्तिम दुई बलमा दुई विकेट लिएपछि पाकिस्तान १ रनले पराजित भयो। अन्तिमा बलमा २ रनका लागि दौडिंदा पाकिस्तान १ रन मात्र जोड्न पुग्दा जिम्बाब्वेले रोमञ्चक जित निकाल्यो।

पाकिस्तान पराजित भएसँगे शीर्ष चारको सम्भावना कमजोर बनेको छ। जिम्बाब्वे भने पहिलो जितले उत्साहित बनेको छ। पाकिस्तान यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको थियो। जिम्बाब्वेले दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँडेको थियो।

यसअघि बिहीबार नै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०४ रनले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा भारतले नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो।

 

Nabintech