७ मंसिर २०८१, शुक्रबार
कात्तिक नाच आज सकिँदै : दशौँ दिन आज दधिलिला हुँदै

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार ०८:२३

काठमाण्डाै:  ललितपुरको पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदैछ । आज बेलुका ७ बजे कात्तिक डबलीमा दधि लिला हुँदैछ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको नाच अन्तर्गत नवौँ दिन वस्त्रहरण लीला तथा आठौँ दिन नृसिंह अवतार हिरण्यकश्यपु वधः प्रदर्शन गरिएको थियो।

३ सय ८२ वर्ष पुरानो कात्तिक नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालन गरेको उल्लेख छ । कृष्णलिला र विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु प्रस्तुत गरिन्छ ।

नेपालको इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा पनि यसलाई लिइन्छ । हरेक दिन फरक–फरक कथामा प्रदर्शन गरिने भए पनि सबै प्रहसन र नाच एकआपसमा जोडिएका कात्तिक नाच संरक्षण समितिका सदस्य सञ्जय शर्माराज उपाध्याय बताउनुहुन्छ ।

कात्तिक नाचमा कृष्णलीला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लीला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलीला लगायतका नाचहरु देखाउने गरिन्छ । यो नाचले समाजको विकृति र विसङ्गति उजागर गर्नुका साथै सांस्कृतिक तथा ऐतिहासिक महत्त्व पनि झल्काउने गरेको कात्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रताप धर शर्माको भनाइ छ ।

Nabintech