१२ बैशाख २०८१, बुधबार
आज आमचुनाव : मतदान केन्द्रमा मतदाताको चहलपहल सुरु

  • टाइम्स संवाददाता

  • ४ मंसिर २०७९, आईतवार ०६:११

काठमाण्डाै: आउँदो पाँच वर्षका लागि सङ्घ र प्रदेशमा जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा सदस्य चयनको लागि मतदान हुन लागेको हो । आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

देशभरका मतदान केन्द्रमा बिहानैदेखि मतदाताको चहलपल सुरु भएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरि आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि उहाँको आग्रह छ ।

चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, बाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् ।

चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन  आयोगका  अनुसार  प्रतिनिधि   सभा  सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ  २  हजार  १९९  उम्मेदवार छन् । यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र  समानुपातिकतर्फ  ३  हजार  ७०८  जना  उम्मेदवार छन् ।

आयोगका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् । ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुगमन गर्ने गर्नेछन् ।

 

Nabintech